प्राविधिक पृष्ठभूमिका सांसदलाई विज्ञतामार्फत विकासमा योगदान दिन प्रधानमन्त्री शाहको आग्रह

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाहले प्राविधिक पृष्ठभूमिका सांसदहरूलाई आफ्नो ज्ञान, सीप र अनुभवको अधिकतम उपयोग गर्दै मुलुकको विकासमा योगदान दिन आग्रह गर्नुभएको छ। बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा संघीय संसद् प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने प्राविधिक पृष्ठभूमिका सांसदहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाहले राजनीतिक विषयभन्दा दीर्घकालीन नीति, नयाँ विचार र विकासका मुद्दामा केन्द्रित हुन आग्रह गर्नुभएको हो।

“तपाईंहरू आफैँ प्राविधिक विषयमा जानकार हुनुहुन्छ, मुलुकको नीति निर्माण गर्ने ठाउँमा हुनुहुन्छ, देश विकासका लागि आफ्नो ज्ञान, सीप र अनुभवको अधिकतम उपयोग गर्नुहोस्,” प्रधानमन्त्री शाहले भन्नुभयो। उहाँले सांसदहरूलाई पार्टी राजनीतिसँगै आफ्नो प्राविधिक दक्षता र व्यावसायिक पहिचानलाई समेत प्राथमिकता दिन सुझाव दिनुभयो। निर्वाचन तथा राजनीतिक गतिविधिका समयमा पार्टी राजनीतिमा सक्रिय हुनु स्वाभाविक भए पनि अन्य समयमा देश विकाससँग सम्बन्धित प्राविधिक विषयमा केन्द्रित हुन उहाँले आग्रह गर्नुभयो।

प्रधानमन्त्री शाहले प्राविधिक पृष्ठभूमिका सांसदहरूलाई ‘असाधारण’ व्यक्तिका रूपमा उल्लेख गर्दै उनीहरूले नयाँ उपाय र विचार ल्याएर त्यसको कार्यान्वयनमा ध्यान दिनुपर्ने बताउनुभयो। उहाँले सांसदहरूले आफ्नो विज्ञता र नवीन सोचलाई विकास निर्माण तथा नीति निर्माणमा प्रभावकारी रूपमा प्रयोग गर्न सके पाँच वर्षमै मुलुकमा उल्लेखनीय परिवर्तन ल्याउन सकिने धारणा राख्नुभयो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्