काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) सडक मार्ग हुँदै पोखरातर्फ प्रस्थान गरेका छन्। प्रधानमन्त्री शाह पोखरा हुँदै मुस्ताङसम्म पुग्ने कार्यक्रम रहेको बताइएको छ।प्रधानमन्त्री शाह सवार गाडी शुक्रबार बिहान धादिङस्थित पृथ्वी राजमार्गको खण्डमा केहीबेर रोकिएको थियो। त्यसपछि प्रधानमन्त्रीसहितको टोली पुनः पोखरातर्फ प्रस्थान गरेको धादिङका सुरक्षा स्रोतले जनाएको छ।
प्रधानमन्त्रीको यात्राको गन्तव्य तथा भ्रमणको विस्तृत कार्यक्रमबारे भने जिल्ला प्रहरी कार्यालय धादिङले आफूलाई औपचारिक जानकारी नभएको जनाएको छ। धादिङ प्रहरीका एक अधिकृतका अनुसार प्रधानमन्त्रीसहितको टोली पृथ्वी राजमार्गअन्तर्गत धादिङ खण्डमा केही समय रोकिएको भए पनि यात्राको उद्देश्य र थप गन्तव्यबारे जानकारी नरहेको बताए।
प्रधानमन्त्री शाह पोखरा हुँदै मुस्ताङ पुग्ने कार्यक्रम रहे पनि भ्रमणका क्रममा कुन-कुन स्थानमा पुग्ने तथा त्यहाँ हुने भेटघाट र कार्यक्रमबारे विस्तृत विवरण सार्वजनिक गरिएको छैन। प्रधानमन्त्रीको सडक यात्राका कारण पृथ्वी राजमार्गमा सुरक्षा व्यवस्थासमेत मिलाइएको छ। सुरक्षा निकायले प्रधानमन्त्रीको टोलीको आवागमनलाई ध्यानमा राख्दै राजमार्गको अवस्थाबारे निगरानी गरिरहेको जनाएको छ।



