रास्वपा केन्द्रीय समिति बैठक आज, स्थानीय निर्वाचनको उम्मेदवार छनोटदेखि मनोनयनसम्म छलफल

File Photo

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज बस्दैछ। वनस्थलीस्थित केन्द्रीय कार्यालय ‘घण्टी घर’मा बिहान ११ बजेका लागि बैठक बोलाइएको छ। बैठकमा पार्टीका दस्तावेज, संगठन व्यवस्थापन तथा मनोनयन, योजना, कार्यक्रम र अभियानलगायत विषयमा छलफल हुने पार्टीका महामन्त्री विपिनकुमार आचार्यले जानकारी दिएका छन्। बैठकमा स्थानीय निर्वाचनका लागि ‘उम्मेदवार छनोट रूपरेखा-२०८३’ अनुमोदन गर्ने तथा ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माणका विषयमा छलफल हुने कार्यसूची छ।

त्यसैगरी संगठन व्यवस्थापन तथा मनोनयनअन्तर्गत केन्द्रीय समिति सदस्य, पदाधिकारी, सचिवालय सदस्य तथा विभागीय प्रमुख मनोनयन गर्ने विषयमा छलफल हुनेछ। स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समितिका सदस्य मनोनयनको विषयसमेत बैठकको कार्यसूचीमा राखिएको छ। यस्तै, योजना, कार्यक्रम तथा अभियानअन्तर्गत केन्द्रीय समिति तथा प्रतिनिधिसभा सदस्यको नेतृत्वमा स्थानीय तहमा ‘उम्मेदवार छनोट रूपरेखा’ सम्बन्धी अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने विषयमा छलफल हुनेछ।

बैठकमा रास्वपाले पार्टीको मुखपत्रका रूपमा ‘स्वतन्त्र’ मासिक डिजिटल पत्रिका प्रकाशन गर्ने विषयमा समेत निर्णय तथा छलफल गर्ने तयारी गरेको छ।

स्थानीय निर्वाचनलाई लक्षित गर्दै संगठन विस्तार, उम्मेदवार छनोट र प्रशिक्षणलगायतका विषय बैठकका प्रमुख एजेन्डाका रूपमा रहने देखिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्