काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुशासन कायम गर्ने तथा भ्रष्टाचार नियन्त्रण गर्ने कार्यमा सरकारको तर्फबाट कुनै पनि किसिमको राजनीतिक हस्तक्षेप नहुने प्रतिबद्धता व्यक्त गरेका छन्। राज्य व्यवस्था तथा सुशासन समितिको हिजो बसेको बैठकमा लामिछानेले सरकारले कुनै व्यक्ति वा निकायप्रति आग्रह–पूर्वाग्रह नराखी प्रचलित कानुनअनुसार काम गर्ने बताएका हुन्।
उनले कानुनले दिएको अधिकारको सदुपयोग गर्दै सुशासन प्रवर्द्धन गर्न सरकार दृढ रहेको बताए। बैठकमा लामिछानेले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वर्तमान नेतृत्व अघिल्ला सरकारहरूको पालामा नियुक्त भएको स्मरणसमेत गराए। कानुनबमोजिम अधिकार प्रयोग गरी सुशासन कायम गर्ने कार्यमा सरकारबाट कुनै किसिमको राजनीतिक हस्तक्षेप नहुने उनको भनाइ थियो।
लामिछानेले राज्यका जिम्मेवार निकायलाई कानुनसम्मत ढंगले स्वतन्त्र रूपमा कार्यसम्पादन गर्न दिनुपर्नेमा जोड दिए। त्यस्ता संवैधानिक तथा कानुनी निकायको स्वायत्ततामा राजनीतिक तहबाट कुनै हस्तक्षेप नहुने विश्वाससमेत उनले व्यक्त गरे। उनले सुशासन र भ्रष्टाचार नियन्त्रणका लागि राज्यका सम्बन्धित निकायले आफ्नो अधिकार क्षेत्रभित्र रहेर प्रभावकारी रूपमा काम गर्नुपर्नेमा जोड दिए।



