काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेका धवलशमशेर राणा र व्यवसायी दुर्गा प्रसाईंले साउनभित्रै नयाँ राजनीतिक दल निर्वाचन आयोगमा दर्ता गर्ने तयारी गरेका छन्। विभिन्न चरणको आन्तरिक छलफलपछि पार्टी दर्ताको प्रक्रिया अन्तिम चरणमा पुगेको उनीहरू निकट स्रोतले जनाएको छ। अभियानमा संलग्न सगुन लावतीका अनुसार साउन २६ गते नयाँ दल दर्ता गर्ने तयारी गरिएको छ।
पार्टी दर्ताअघि नाम, चुनाव चिह्न, झण्डा तथा अन्य संगठनात्मक विषय टुंग्याउन गठित कार्यदलले अन्तिम निर्णय गर्ने तयारी गरेको बताइएको छ। नेताहरूका अनुसार नयाँ दल परम्परागत राजनीतिक शैलीभन्दा फरक ‘कन्जरभेटिभ’ मोडलमा अघि बढ्नेछ। पार्टीले संवैधानिक राजसंस्था र हिन्दुराष्ट्रको एजेन्डालाई प्राथमिकताका साथ अघि बढाउने तथा युवा पुस्तालाई आकर्षित गर्ने रणनीति लिएको जनाएको छ।



