सुस्तामा अस्थायी बाँध भत्काउन खोज्दा भारतीय एसएसबी र स्थानीयबीच विवाद

तस्बिर: विकास अधिकारी गोरखापत्र

काठमाडौं – पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका-५ स्थित नारायणी नदीपारिको सुस्तामा भारतीय सीमा सुरक्षा बल (एसएसबी) र स्थानीयवासीबीच विवाद भएको छ। बाढी नियन्त्रणका लागि स्थानीयले निर्माण गरेको अस्थायी बाँध भारतीय पक्षले भत्काउन खोजेपछि तनाव उत्पन्न भएको हो। सुस्ता बचाऊ अभियानका प्रवक्ता रवीन्द्र जयसवालका अनुसार नारायणी नदीको बाढी गाउँतर्फ पस्न थालेपछि स्थानीयले तटबन्ध नभएको क्षेत्रमा करिब १०० मिटर लामो माटोको अस्थायी बाँध निर्माण गरेका थिए। भारतीय सुरक्षाकर्मीले उक्त बाँध विवादित क्षेत्रमा बनेको भन्दै नेपाली भूमिमा प्रवेश गरी भत्काउन थालेपछि स्थानीयले प्रतिकार गरेका हुन्।

स्थानीयहरू लाठीभाटा लिएर विरोधमा उत्रिएपछि केहीबेर तनावको अवस्था सिर्जना भए पनि अहिले स्थिति सामान्य रहेको जनाइएको छ। यसअघि पनि सोही क्षेत्रमा तटबन्ध निर्माणको विषयमा नेपाल र भारतबीच विवाद भएको थियो। संघीय सरकारले १३२ मिटर लामो तटबन्ध निर्माणका लागि करिब १ करोड ४० लाख रुपैयाँको ठेक्का सम्झौता गरे पनि भारतीय सुरक्षा निकायको अवरोधपछि काम अघि बढ्न सकेको थिएन।

पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले सीमा क्षेत्रनजिक स्थानीयले माटो भरेर अस्थायी बाँध बनाउन थालेपछि भारतीय सुरक्षा निकाय बुझ्न आउँदा सामान्य विवाद भएको बताए। उनका अनुसार दुवै पक्षबीचको समस्या समाधानका लागि भोलि स्थानीय र सुरक्षा निकायबीच छलफल गरिनेछ। नारायणी नदीपारिको ऐतिहासिक सुस्ता क्षेत्रमा सीमा स्तम्भ नहुँदा नेपाल–भारतबीच बेलाबेलामा सीमा विवाद हुने गरेको छ। विगतमा सिमलको रुखलाई सीमा मान्ने सहमति भए पनि पछिल्लो समय भारतीय पक्षले त्यसभन्दा भित्र रहेको कदमको रुखलाई सीमा मान्दै आएको स्थानीयहरूको भनाइ छ। यही क्षेत्रबाट प्रत्येक वर्ष बाढी गाउँमा पस्ने जोखिम रहने भएकाले स्थानीयले अस्थायी बाँध निर्माण गर्दै आएका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्