काठमाडौं – नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद चर्किँदै जाँदा पार्टीलाई विभाजनबाट जोगाउन विभिन्न तहबाट एकताका लागि दबाब बढ्न थालेको छ। संस्थापन र इतर समूह आ-आफ्नो रणनीतिमा अघि बढिरहेका बेला युवा नेता, जनप्रतिनिधि तथा नेताहरूले छुट्टाछुट्टै राष्ट्रिय भेला घोषणा गरेका छन्। विशेष महाधिवेशनको विपक्षमा रहेका निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला पक्षले साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा ‘राष्ट्रिय भेला’ आयोजना गर्ने निर्णय गरेका छन्। पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा ५५१ सदस्यीय आयोजक समिति गठन गरिएको छ। कोइरालाले पार्टीलाई सबल, एकताबद्ध र नीतिगत रूपमा स्पष्ट बनाउन भेला आयोजना गर्न लागिएको बताएका छन्।
यता, पार्टीभित्र बढ्दो ध्रुवीकरण अन्त्य गर्न भन्दै निवर्तमान केन्द्रीय सदस्य नैनसिंह महर, राष्ट्रियसभा सदस्य रञ्जित कर्ण, पुष्पराज शाहीलगायतको समूहले साउन २० गते ‘एकता भेला’ गर्ने घोषणा गरेको छ। उनीहरूले संस्थापन र इतर दुवै पक्षलाई एउटै मञ्चमा ल्याएर संवादको वातावरण बनाउन पहल गर्ने बताएका छन्। स्थानीय तहमा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरूले पनि पार्टी नेतृत्वमाथि दबाब बढाएका छन्। भीमप्रसाद ढुंगाना, चिरिबाबु महर्जन, उपेन्द्र कार्कीलगायतको नेतृत्वमा ‘संयुक्त राष्ट्रिय दबाब अभियान’ सञ्चालन गर्दै उनीहरूले पार्टी विभाजनको बाटोमा गए सामूहिक रूपमा पदबाट राजीनामा दिने चेतावनी दिएका छन्। यसका लागि साउन २७ गते राष्ट्रिय भेला बोलाइएको छ।
यसैबीच उपचारका लागि हङकङमा रहेका निवर्तमान सभापति शेरबहादुर देउवा र पूर्णबहादुर खड्काले विशेष महाधिवेशनसम्बन्धी सर्वोच्च अदालतको फैसलामाथि पुनरावलोकनको माग गर्दै रिट दायर गरेका छन्। असोज १६ देखि १९ गतेसम्म १५औँ महाधिवेशन गर्ने तयारीमा रहेको कांग्रेसमा क्रियाशील सदस्यता वितरण, विशेष महाधिवेशनको वैधानिकता र विधानको व्याख्यालाई लिएर विवाद चुलिएको छ। यही पृष्ठभूमिमा साउन २४ गते बस्ने केन्द्रीय समिति बैठकलाई निर्णायक मानिएको छ। बैठकले बढ्दो दबाबलाई कसरी सम्बोधन गर्छ र पार्टीलाई एकताबद्ध बनाउन कस्तो निर्णय लिन्छ भन्नेमा कांग्रेस वृत्तको चासो केन्द्रित भएको छ।



