काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरीमा हालै भएको हिंसात्मक घटना र त्यसपछिको शान्ति–सुरक्षाको अवस्थाबारे नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुखसँग विस्तृत ब्रिफिङ लिएका छन्। गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा प्रधानमन्त्री शाहले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्की तथा सशस्त्र प्रहरी बल, नेपालका प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलसँग छुट्टाछुट्टै भेट गरी सुनसरीको पछिल्लो सुरक्षा अवस्था, चुनौती र सम्भावित जोखिमबारे जानकारी लिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
ब्रिफिङका क्रममा प्रधानमन्त्री शाहले सुनसरीको अवस्था तत्काल नियन्त्रणमा लिन, नागरिकको जिउधनको सुरक्षा सुनिश्चित गर्न तथा सामाजिक सद्भाव बिथोल्ने गतिविधिमा संलग्न तत्त्वहरूमाथि कडा निगरानी राख्न सुरक्षा निकायलाई निर्देशन दिएका छन्।
प्रधानमन्त्री शाहले शान्ति–सुरक्षा कायम राख्ने विषयमा कुनै पनि सम्झौता नगर्न आग्रह गर्दै गृह मन्त्रालयअन्तर्गतका नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई उच्च सतर्कताका साथ प्रभावकारी रूपमा परिचालन गर्न निर्देशन दिएका छन्।



