काठमाडौँ, असार ३ गते । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २५ अर्ब ८८ करोड ३० लाख ५५ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। महानगरको नगरसभाको १९औँ अधिवेशनमा कार्यवाहक मेयर सुनिता डङ्गोल ले बजेट प्रस्तुत गर्दै पूर्वाधार विकास, फोहोरमैला व्यवस्थापन, शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण तथा सुशासनलाई प्राथमिकतामा राखिएको बताउनुभयो।
महानगरले नीति तथा कार्यक्रम कार्यान्वयनका लागि सञ्चित कोषमा २५ अर्ब १३ करोड ३० लाख ५५ हजार रुपैयाँ विनियोजन गरेको छ भने ७५ करोड रुपैयाँ अन्य बाह्य व्ययभारका लागि छुट्याइएको छ। कुल स्रोत व्यवस्थापनमध्ये २० अर्ब १८ करोड ६३ लाख रुपैयाँ आन्तरिक आय तथा बैंक मौज्दातबाट र ४ अर्ब ९३ करोड ६७ लाख रुपैयाँ सङ्घीय तथा प्रदेश सरकारबाट प्राप्त हुने अनुदान तथा राजस्व बाँडफाँटबाट जुटाइने अनुमान गरिएको छ।
बजेटमध्ये पूर्वाधार विकास क्षेत्रमा सबैभन्दा धेरै १५ अर्ब ३१ करोड रुपैयाँ अर्थात् ६१ प्रतिशत विनियोजन गरिएको छ। सामाजिक विकासका लागि २ अर्ब ४२ करोड, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा २ अर्ब १३ करोड, प्रशासनिक तथा कार्यालय सञ्चालनमा ४ अर्ब ७१ करोड तथा आर्थिक विकास क्षेत्रमा ५४ करोड रुपैयाँ छुट्याइएको छ।
महानगरले फोहोरमैला व्यवस्थापन, विद्यालय शिक्षा प्रणाली सुधार, सार्वजनिक स्वास्थ्य सेवा विस्तार, सम्पदा संरक्षण, प्रदूषण न्यूनीकरण र सार्वजनिक यातायात व्यवस्थापनलाई प्राथमिकता दिएको जनाएको छ। ‘एक वडा, एक नमूना उद्यमशीलता कार्यक्रम’ मार्फत स्थानीय रोजगारी र आय वृद्धि गर्ने योजना अघि सारिएको छ।
युवा स्वरोजगार तथा रोजगार कार्यक्रमका लागि १० करोड रुपैयाँ विनियोजन गरिएको छ भने पोषण भत्ता कार्यक्रमका लागि १६ करोड रुपैयाँ छुट्याइएको छ। अपाङ्गता भएका व्यक्ति, अशक्त तथा ज्येष्ठ नागरिकलाई घरमै नागरिकता र राष्ट्रिय परिचयपत्र सेवा उपलब्ध गराउने व्यवस्था मिलाइने महानगरले जनाएको छ।
सामूहिक आवास निर्माण कार्यक्रमका लागि पहिलो वर्ष ५ करोड रुपैयाँ र महानगर अस्पताल निर्माणका लागि ४ करोड रुपैयाँ विनियोजन गरिएको छ। त्यस्तै स्वास्थ्यजन्य फोहोर व्यवस्थापन केन्द्र स्थापना गर्न २ करोड, सुनिता काठमाडौँ महानगर विश्वविद्यालय स्थापनाको प्रारम्भिक कार्यका लागि ५० लाख रुपैयाँ छुट्याइएको छ।
महानगरले आगामी वर्ष अन्तर्राष्ट्रिय फिल्म महोत्सव आयोजना गर्ने, काठमाडौँलाई सांस्कृतिक शहर घोषणा गर्ने तयारी अघि बढाउने, रात्रिकालीन सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तथा ‘प्लास्टिक झोलामुक्त काठमाडौँ’ अभियान सञ्चालन गर्ने जनाएको छ।
क्षेत्रगत रूपमा वातावरण व्यवस्थापनमा १ अर्ब २२ करोड, शिक्षा क्षेत्रमा १ अर्ब ७१ करोड, सम्पदा संरक्षणमा २ अर्ब ५३ करोड, स्वास्थ्य सेवामा ७० करोड, पूर्वाधार विकासमा ५ अर्ब ४१ करोड तथा विपद् व्यवस्थापनमा ३६ करोड रुपैयाँ विनियोजन गरिएको छ।
कार्यवाहक मेयर डङ्गोलले महानगरलाई व्यवस्थित, स्वच्छ, हरित, सुरक्षित र नागरिकमैत्री बनाउने लक्ष्यका साथ बजेट निर्माण गरिएको बताउनुभयो।





