काठमाडौँ- सरकारले यही असारको तेस्रो सातादेखि सुकुमवासीलाई लालपुर्जा वितरण गर्ने तयारी गरेको छ। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल ले प्रतिनिधिसभामा उक्त जानकारी दिनुभएको हो।
आगामी आर्थिक वर्ष २०८३/८४ को विनियोजन विधेयकमाथिको छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै मन्त्री रावलले सुकुमवासीहरूको समस्या समाधानका लागि आवश्यक प्रक्रिया अघि बढिसकेको बताउनुभयो।
प्रतिनिधिसभा बैठकमा श्रम संस्कृति पार्टी का अध्यक्ष तथा सांसद हर्क साम्पाङ ले सुकुमवासीलाई लालपुर्जा वितरणको अवस्थाबारे प्रश्न उठाउनुभएको थियो। उहाँले काठमाडौंका सुकुमवासीलाई विस्थापित गरी होल्डिङ सेन्टरमा राखिएको तथा त्यहाँको व्यवस्थापनसमेत सन्तोषजनक नरहेको भन्दै उचित व्यवस्थापनको माग गर्नुभएको थियो। जवाफमा मन्त्री रावलले सरकारले लालपुर्जा वितरणको प्रक्रिया अघि बढाइसकेको बताउँदै असारको तेस्रो सातादेखि वितरण कार्य सुरु हुने स्पष्ट पार्नुभयो। उहाँले भन्नुभयो, “लालपुर्जाको हकमा हामीले काम सुरु गरिसकेका छौं। अब असारको तेस्रो हप्तादेखि हामीले लालपुर्जा वितरण गर्ने काम सुरुवात गर्नेछौं।”
विगतमा सरकारले भूमि आयोगमार्फत सुकुमवासी व्यवस्थापनको काम गर्दै आएको भए पनि वर्तमान सरकारले भूमि सम्बन्धी समिति गठन गरी भूमिहीन, सुकुमवासी तथा अव्यवस्थित बसोबासीहरूको समस्या समाधान गर्ने प्रक्रिया अगाडि बढाएको जनाएको छ। सरकारको यो निर्णयसँगै लामो समयदेखि लालपुर्जाको प्रतीक्षामा रहेका भूमिहीन तथा सुकुमवासी नागरिकले जग्गाधनी प्रमाणपत्र प्राप्त गर्ने अपेक्षा गरिएको छ।





