शीर्षक: इङ्ल्यान्डमाथि वेस्ट इन्डिजको ३० रनको जित, सुपर एटतर्फ बलियो कदम
आईसीसी टी–२० विश्वकप क्रिकेटमा वेस्ट इन्डिजले इङ्ल्यान्डलाई ३० रनले पराजित गर्दै लगातार दोस्रो जित दर्ता गरेको छ। जितसँगै वेस्ट इन्डिजले सुपर एटमा पुग्ने सम्भावना बलियो बनाएको छ।
१ सय ९७ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्ड ६ बल अगावै १ सय ६६ रनमा अलआउट भयो। इङ्ल्यान्डका साम करन ४३ रनमा अविजित रहे भने जाकोब बेथेलले २३ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ३३ रन बनाए। वेस्ट इन्डिजका मोतीले ३ विकेट लिए। रोस्टन चेसले २ विकेट झारे भने रोमारियो सेफर्ड र अकिल होसेनले समान १–१ विकेट लिए।
मुम्बईको वानखेड़े स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा १ सय ९६ रन बनाएको थियो। दोस्रो ओभरमै २ विकेट गुमाएर दबाबमा परेको वेस्ट इन्डिजका लागि रुदरफर्डले उत्कृष्ट प्रदर्शन गर्दै सर्वाधिक ७६ रनमा अविजित रहे। इङ्ल्यान्डका जेमी ओभरटन र आदिल राशिदले समान २–२ विकेट लिए भने जोफ्रा आर्चर र साम करनले १–१ विकेट हात पारे।
इङ्ल्यान्ड र वेस्ट इन्डिज दुवै दुई–दुई पटकका टी–२० विश्वकप विजेता टोली हुन्। वेस्ट इन्डिजले सन् २०१२ र २०१६ मा उपाधि जितेको थियो भने इङ्ल्यान्डले २०१० र २०२२ मा ट्रफी उचालेको थियो।
यसैबीच, हिजो भएका अन्य खेलमा अस्ट्रेलियाले आयरल्यान्डलाई ६७ रनले पराजित गर्दा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई दोस्रो सुपर ओभरमा हराएको छ। दक्षिण अफ्रिकाले दिएको २४ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले २ विकेट गुमाएर १९ रन मात्र बनाउन सक्यो। पहिलो सुपर ओभरमा अफगानिस्तानले दिएको १८ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १ विकेट गुमाएर १७ रन बनाएपछि खेल दोस्रो सुपर ओभरमा पुगेको थियो।







