न्युजिल्याण्ड बन्यो पहिलो पटक च्याम्पियन

काठमाडौं – न्युजिल्याण्डले पहिलो पटक आईसीसी महिला टी-२० विश्वकप क्रिकेटको उपाधि जितेको छ ।

दुबईमा आइतबार भएको फाइनलमा दक्षिण अफ्रिकालाई ३२ रनले पराजित गर्दै न्युजिल्याण्ड विश्व विजेता बनेको हो । न्युजिल्याण्डले दिएको १५९ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ९ विकेट गुमाएर १२६ रन मात्र बनाउन सक्यो ।

दक्षिण अफ्रिकाका लागि कप्तान लाउरा वलभार्टले २७ बलमा ४ चौका मदतमा सर्वाधिक ३३ रन बनाइन् । ताज्मिन ब्रिट्सले १७, कोल ट्राएओनले १४ र अनेरिई डेर्कसेनले १० रन बनाए भने बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

दक्षिण अफ्रिकालाई जितबाट रोक्न न्युजिल्याण्डका लागि रोसमेरी मेइर र अमेलिया केरले ३-३ विकेट लिए । यस्तै ए
इडेन कार्सन, फ्रान जोनास र ब्रकी हालिडेल समान १ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले २० ओभरमा ५ विकेट गुमाएर १५८ रन बनाएको थियो । न्युजिल्याण्डका लागि अमेलिया केरले सर्वाधिक ४३ रन बनाइन् । उनले ३८ बल खेल्दै ३ चौका प्रहार गरिन् । यस्तै ब्रुकी हालिडेले २८ बलमा ३ चौका प्रहार गर्दै ३८ रन जोडिन् । ओपनर सुजी बेट्सले ३१ बलमा ३२ रन बनाइन् । म्याडी ग्रीन १२ रनमा अविजित रहिन् ।

दक्षिण अफ्रिकाका लागि नोनकुलुलेको एलाबाले २ तथा आयोबोङ्गा खाका, कोल ट्राएओन र नादिन डे क्रेलर्कले समान १ विकेट लिए ।

न्युजिल्याण्डले तेस्रो पटक फाइनल खेल्दा पहिलो पटक महिला टी-२० विश्वकपको उपाधि जितेको हो । सन् २००९ मा सुरु भएको महिला टी-२० विश्वकपको सुरुवाती दुई संस्करणको फाइनल खेलेको न्युजिल्याण्ड उपविजेता बनेको थियो ।

सन् २००९ को पहिलो संस्करणमा इंग्ल्याण्डसँग पराजित भएको न्युजिल्याण्ड २०१० को दोस्रो संस्करणमा अष्ट्रेलियासँग पराजित भएको थियो । तर यस पटक भने न्युजिल्याण्ड्ले उत्कृष्ट प्रदर्शन गर्दै च्याम्पियन बन्यो ।

न्युजिल्याण्डले सेमिफाइनलमा पूर्व विजेता वेष्ट इन्डिज तथा दक्षिण अफ्रिकाले साविक विजेतासहित सर्वाधिक ६ पटकको च्याम्पियन दक्षिण अफ्रिकालाई हराएर लगातार दोस्रो पटक फाइनल यात्रा तय गरेको थियो । तर यस पटक पनि टोली उपविजेतामै समेटियो । सन् २०२४ मा दक्षिण अफ्रिकाको पुरुष र महिला दुवै टोली टी२० विश्वकपको फाइनल पुगेपनि उपाधि जित्न सकेन ।

गतवर्ष घरेलु मैदानमै भएको महिला टी-२० विश्वकपको फाइनलमा दक्षिण अफ्रिका अष्ट्रेलियासँग पराजित भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्