बैतडी – भारतीय सीमाका क्वारेन्टाइनमा बसेका नेपालीहरु स्वदेश फर्किएपछि क्वारेन्टाइनमा नबसी घर गएका पाइएको छ । भारतीय क्वारेन्टाइनमा बसेकालाई दुई हप्ता क्वारेन्टाइनमा बस्ने शर्तसहित गत बिहीबार स्वदेश ल्याइए पनि कतिपय नागरिक क्वारेन्टाइनमा नबसी घर गएकाले प्रहरीले उनीहरुको खोजी गर्न थालेको हो ।
जिल्लाको दशरथचन्द नगरपालिकाका २१ मध्ये १९ जना क्वारेन्टाइनमा नबसी बाटोबाटै घर गएपछि प्रहरीले खोजी गर्दै क्वारेन्टाइनमा ल्याएको छ । क्वारेन्टाइनमा नबसी घर गएकालाई घरबाटै खोजेर क्वारेन्टाइनमा ल्याएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले बताए ।
सीमाबाट फर्केका जनप्रतिनिधि, स्वास्थ्यकर्मी नै क्वारेन्टाइनमा बस्न नमानेको उनले बताए । सुदूरपश्चिम प्रदेश सरकारले भारतबाट फर्केका हरेक नागरिकलाई दुई हप्ता क्वारेन्टाइनमा राख्ने निर्दे्शिका जारी गरेको छ तर त्यसको विपरीत भारतबाट फर्केका घरमा गएपछि प्रहरीले घरबाटै खोजेर क्वारेन्टाइनमा राखेको हो ।
जिल्लाका अरु ठाउँका नागरिक क्वारेन्टाइनमा नबसेको जानकारी आएको छैन । त्यस्तो जानकारी आएमा प्रहरीले खोजी गरेर क्वारेन्टाइनमा ल्याउने प्रहरी नायब उपरीक्षक पाण्डेयले बताए ।
गएको बिहीबार झुलाघाट नाकाबाट एक हजार २९९ नागरिक स्वदेश फर्किएका थिए । त्यस्तै धारचुला नाकाबाट पनि धेरै नागरिक स्वदेश फर्किएका थिए । दुवै नाकाबाट बैतडीको पुर्चौंडीका मात्रै ८४८ स्वदेश फर्किएका छन् ।
यसैबीच कोरोनाको जोखिम बढेको भन्दै बैतडीको भारतसँग सीमा जोडिएका घाटहरू बन्द भएको एक महिना बढी भइसकेको छ ।
बैसठ्ठी किलोमिटर सीमा क्षेत्रमा सुरक्षार्थ सशस्त्र प्रहरीसमेत खटाइएको छ तर पनि विभिन्न ठाउँबाट ट्युबबाट महाकाली तरेर आउने क्रम अझै रोकिएको छैन । शनिबार मात्रै महाकाली नदी तरेर शिवनाथ गाउँपालिकाका १० भन्दा बढी नागरिक भित्रिएका छन् ।
उनीहरुलाई क्वारेन्टाइनमा राखिएको जनाइएको छ । महाकाली नदीमा ट्युबमार्फत आउने मानिस लुकेर आउँदै सिधै घरमा गएर बसेका हुनसक्ने भएकाले प्रहरीले भारतबाट आएकाहरु खोजी गर्ने कार्य भने तीव्र पारेको छ । -रासस