काठमाडौँ – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आगामी बजेटमा सांसद विकास कोष खारेज गर्न माग गरेको छ ।
बुधबार राति सकिएको कांग्रेस केन्द्रीय समिति बैठकले स्थानीय, प्रदेश र केन्द्र सरकारले विकास, निर्माणका कामहरू गर्ने भएकोले अब सांसदका नाममा बजेट दिइरहनु नपर्ने निष्कर्ष निकालेको हो ।
‘कोरोनाको जोखिम सामना गर्न आवश्यक ठूलो रकमका लागि सांसद विकास कोषका रूपमा विनियोजन गरिँदै आएको नीति खारेज गरेर कोरोना विरुद्धको सचेतना, सामग्री, राहत र उपचारमा रकम पर्याप्त प्रबन्ध गर्न बैठकले सरकारसँग माग गरेको छ,’ कांग्रेसले गरेको निर्णयमा भनिएको छ ।
कांग्रेस संसदबाहिर र भित्र पनि अब सांसद विकास कोष नीति खारेजीको मागलाई प्राथमिकताका साथ उठान गर्ने भएको छ ।