बिल दिनुपर्ने व्यवस्था कागजमै सीमित, अनुगमनमा छैन कसैको नि ध्यान !

कुनै पनि वस्तु तथा सेवा खरिद गरेपश्चात् अनिवार्य बिल लिनुपर्ने तथा दिनुपर्ने कानूनी व्यवस्था छ । व्यापारीहरुले पनि आफुले सामान खरिद गर्दा र बेच्दा अनिवार्य बिल लिनु तथा दिनुपर्छ । व्यापारी तथा व्यवसायीहरुले सामान किनेको मूल्यको २० प्रतिशत मात्र नाफा खान पाउने कानूनी प्रावधान छ ।

उदाहरणका लागि व्यापारीले कुनै सामान सय रुपैयाँमा किनेमा उसले नाफा खाएर एक सय २० रुपैयाँमा मात्र बेच्न पाउँछ । त्योभन्दा बढी मूल्य लिएमा कालोबजार लाग्नेछ । अहिले बजारमा व्यापारीहरु सय रुपैयाँमा खरिद गरेको सामान सीधासाधी देखेमा हजार रुपैयाँसम्म लिन्छन् । सामान खरिद गरेबापत बिल पनि दिदैंनन् ।

साना–ठुला सबै व्यापारी ग्राहकसँग सामानको पैसा लिन्छन् तर बिल चाँहि दिदैंनन् । कसैले बिल मागिहाले नक्कली बिल दिन्छन् । किनकि बिल दिएमा त राज्यलाई कर पनि त तिर्नुपर्छ । व्यापारीहरु आफुखुशी सामानको मूल्य तोकेर बेचिरहेका छन् । सर्वसाधारणलाई महंगोमा सामान बेच्छन् । तर, बिल दिदैंनन् । अनि राज्यलाई पनि राजस्व छल्छन् ।

यता, यातायात व्यवसायीहरु पनि यात्रुसँग पैसा उठाउँछन् तर टिकट दिदैंनन् । घरधनीहरु डेराबहालसँग चर्को भाडा उठाउँछन्, बिल चाँहि दिदैंनन् । यहाँ व्यापारीदेखि यातायात व्यवसायी, घरधनी सबैले राज्यको नीतिनियम तथा कानूनमाथि धितो लगाइदिएका छन् । बजारमा घरधनीहरु आफुखुशी मूल्यमा घर भाडामा लगाइरहेका छन् ।

सरकारले गाडी भाडा निर्धारण गरिदिएको छ । तर, यातायात व्यवसायीहरु यात्रुसँग मनलाग्दी भाडा असुल्छन् । व्यापारीहरु पनि आम सर्वसाधारण ठगिरहेका छन् । अहिले पनि निजी कम्पनी, संघसंस्था, होटल, रेस्टुरेन्ट वा घरायसी काम गर्नेहरुलाई हातमै तलब थमाइन्छ । बैंकमार्फत दिइदैंन । यसले उनीहरुमाथि श्रम शोषण भइरहेको छ ।

उनीहरुले न सरकारले तोकेबमोजिम पारिश्रमिक पाएका छन् न राज्यले राजस्व । बजारमा दर्ता बिना व्यापार व्यवसाय सञ्चालन भइरहेको भेटिन्छ । र, यो क्रम जारी छ । एकले दर्ता बिना व्यवसाय गरी कमाएको देखेर अरुले पनि त्यँही बाटो रोज्ने गरेका छन् । उपभोक्तालाई मूल्यमा सामान बेच्ने अनि राज्यलाई राजस्व छल्ने कार्य जारी नै छ ।

तर, यसप्रति कसको ध्यान जाने ? सम्बन्धित निकाय अनुगमन गर्दैन । अनि उपभोक्तालाई ठग्ने र राज्यलाई कर छल्ने व्यापारी तथा व्यवसायीहरुलाई कसले कारबाही गर्ने ? अहिले बजारमा कुहिएका, सडेका, बिग्रिएका, गुणस्तरहीन सामानहरु छ्यापछ्याप्ती भेटिन्छन् । व्यापारीहरु त्यस्ता सामान समेत बेचिरहेका छन् । बजार अनुगमनको जिम्मेवारी पाएका सरकारी कर्मचारीहरु दिनभर अफिसमा घाम तापेर वा गफ गरेर बस्छन् । अनि चाडबाड आउनेबित्तिकै व्यापारी कहाँ पुग्छन् ।

यता, राजनीतिक दलका नेताहरु पनि पार्टी चलाउन, चुनाव खर्च टार्न व्यापारी कहाँ नै पुग्छन् । उपभोक्ताको हक अधिकार संरक्षण गर्ने भन्दै विभिन्न संघसंस्था खोलेका उपभोक्तावादी नेताहरु पनि घर खर्च चलाउन व्यापारी कहाँ नै पुग्ने गरेका छन् । मुलुकका ठुल्ठुल्ला व्यापारीहरुले सरकारी–सार्वजनिक जग्गा दर्ता गरेर अंकुत सम्पत्ति जोडेका छन् ।

आफुलाई व्यापारी, उद्योगी भन्ने अनि सरकारी–सार्वजनिक जग्गा दर्ता गरी राज्यको सम्पत्तिको दोहन गर्ने काम ठुलादेखि साना व्यापारीसम्मले गरिरहेका छन् । राज्यलाई राजस्व छल्ने अनि जनता ठग्ने व्यापारी तर सरकार चाँहि यीनीहरुकै माग पूरा गर्ने । हामी सर्वसाधारण व्यापारीहरुले जति मूल्य भन्यो, त्यतिमै सामान किन्न बाध्य छौं ।

सामान किनेबापत न बिल पाउँछौ न सामान नै गुणस्तरीय हुन्छ । यद्यपि, राज्य चाँहि आम सर्वसाधारणको हितमा नभई यस्ता ठग व्यापारीहरुको निम्ति काम गर्छ । व्यापारीलाई सहज हुने कानून बनाउँछ । देशमा तीन तहको सरकार छ । तर, बजारमा अनुगमन छैन । सबै आफ्नो कार्यक्षेत्रभित्र नपर्ने भन्दै पन्छिन् । के व्यापारीको अगाडि सरकार निरीह बनेकै हो त ?

अहिले राज्यको ढुकुटीमा राजस्व जम्मा हुन छोडेको छ । सरकारी खर्च दिनहुँ बढिरहेको छ । यातायात ऐन, २०४९ र नियमावली, २०५४ मा यातायात व्यवसायीले सरकारले निर्धारण गरेकोभन्दा बढी भाडा यात्रुसँग लिन नपाउने र भाडा लिएपश्चात् अनिवार्य टिकट दिनुपर्ने व्यवस्था छ । अहिले लामो रुटमा चल्ने गाडीले सरकारले निर्धारण गरेको भाडा पाँच सय भएमा सुपर डिलक्स भन्दै ४० प्रतिशत बढी भाडा लिएर हजार रपैयाँ असुल्छन् ।

लोकल गाडीको एक किलोमिटरबाट पाँच किलोमिटरसम्म १९ रुपैयाँ भाडा छ । यातायात व्यवसायीहरु यात्रुसँग आधा किलोमिटर चढेको पनि २५ रुपैयाँ लिन्छन् । लामो होस् या छोटो रुटमा चल्ने सवारीसाधनले विद्यार्थी, ज्येष्ठ नागरिक, अपांगहरुले भाडा छुट दिदैंनन् । तर, राज्यबाट भने भाडा छुट दिएको भन्दै कर छुट सुविधा लिन्छन् ।

ट्याक्सीमा चढ्नेबित्तिकै सुरुमा ५० रुपैयाँ र प्रत्येक किलोमिटर ५० रुपैयाँ तोकिएको छ । तर, ट्याक्सी व्यवसायीहरु यात्रुसँग एक किलोमिटरकै पाँच सय रुपैयाँ भाडा असुल्छन् । घरधनीहरु ठाउँअनुसार एउटा कोठाको पाँच हजारदेखि २० हजाार लिन्छन् । एउटा सटरको २५ हजारदेखि १८ लाखसम्म लिन्छन् । एक फ्ल्याटको ३० हजारदेखि तीन लाखसम्म असुल्छन् । खाली सटर २० लाखदेखि ६० लाखमा किनबेच हुने गरेको छ ।

घरधनीहरुले एउटै घरमा करोडदेखि अर्बौ लगानी गरेका हुन्छन् । घर भाडामा लगाएर मासिक लाखौं आम्दानी गर्छन् । तर, लगानी र आम्दानी दुवैको राजस्व राज्यलाई तिर्दैनन् । घरको न छ–छ महिनामा प्राधिकरण चेकजाँच गरिन्छ न घरेलु तथा कम्पनीमा दर्ता गरी पञ्जीकरण नै गरिन्छ । अब सरकारले घर पनि घरेलु तथा कम्पनीमा दर्ता गरी अनिवार्य पञ्जीकरण गर्नुपर्ने कानून बनाउनुपर्छ ।

घरको वर्षमा दुई पटक प्राधिकरण चेकजाँच गर्नुपर्ने अनिवार्य व्यवस्था ल्याउनुपर्छ । र, अटेरी गर्ने घरधनीहरुलाई घर सम्पन्नताको प्रमाणपत्र दिनुहुन्न । राज्यबाट उपलब्ध सेवासुविधाबाट वञ्चित गराउनुपर्छ । निजी प्लेट तथा भाडाको गाडीमा तीन लाखदेखि २५ करोडसम्म लगानी गरिएको हुन्छ । एउटै गाडीले दिनमा पाँच हजारदेखि ५० हजारसम्म कमाउँछन् ।

तर, लगानी र आम्दानी दुवैको राजस्व राज्यले पाउँदैन । भाडाको गाडीमा सरकारले लिनुपर्ने राजस्व तीन दशकदेखि बढेको छैन । यता, निजी प्लेटको सवारीसाधनले राज्यलाई सुको कर तिर्दैनन् । आम्दानी चाँहि दिनहुँ पाँचदेखि तीस हजारसम्म गर्छन् । त्यसैले, अब निजी प्लेटको सवारीसाधन पनि घरेलु तथा कम्पनीमा दर्ता गराई अनिवार्य पञ्जीकरणको व्यवस्था मिलाउनुपर्छ ।

भाडाको गाडीजसरी यस्ता सवारीसाधनबाट पनि अब राज्यले राजस्व उठाउनुपर्छ । सरकार राजस्व उठाउन चासो देखाउँदैन । अनि व्यापारी, व्यवसायी, घरधनीहरु राज्यलाई कर तिर्दैनन् । यता, पेन्सन, भत्ता थाप्नेहरु पनि राज्यलाई राजस्व तिर्दैनन् । अझ अवकाश प्राप्त सरकारी कर्मचारीको त महिना सुरु हुनेबित्तिकै खातामा पेन्सन आइपुग्छ । सरकारले महिनाअगावै पेन्सन हालिदिँदा राज्यलाई ठुलो घाटा हुँदै आएको छ ।

सरकारले पेन्सन मात्र मासिक खर्बौ वितरण गर्ने गरेको छ । अनि त्यो रकम बैंकमा राखेर महिनाको अन्त्यमा मात्र कर्मचारीको खातामा पैन्सन हालिदिए राज्यको ढुकुटीमा मासिक करोडौं ब्याज जम्मा हुनेछ । सरकार राजस्व उठाउनतर्फ ध्यान दिदैंन, विदेशी ऋण लिनतर्फ मात्र सरकारको ध्यान केन्द्रित छ । अहिले नै विदेशी ऋण २७ खर्ब पुगिसक्यो ।

प्रत्येक नेपालीको टाउकोमा लाखौं विदेशी ऋण छ । यता, राष्ट्र बैंक उद्योग, कलकारखाना खोल्न कर्जा दिदैंन । घरजग्गा, गाडी र सेयरमा मात्र कर्जा लगानी गर्न भन्छ । एक कित्ता सेयर ३५ सयसम्ममा खरिदबिक्री भइरहेको छ । जग्गा आनाकै लाखदेखि करोडमा बेचबिखन भइरहेको छ । गाडी पनि लाखदेखि करोडमा बिक्री भइरहेको छ ।

यसले सीमित व्यक्तिहरुलाई फाइदा भएपनि समग्र मुलुक र जनतालाई ठुलो नोक्सान भएको छ । एउटा उद्योग खोलिएमा त्यो उद्योगबाट सयौंले रोजगारी पाउँछ । सयौंको घरपरिवार चल्छ । कामको खोजीमा विदेश जानुपर्दैन अनि राज्यले पनि राजस्व पाउँछ । तर, घरजग्गा, गाडी र सेयरको किनबेचले त सीमित व्यक्तिहरुलाई मात्र फाइदा पुग्छ ।

यसबाट न राज्यले राजस्व नै पाउँछ । त्यसैले, अब राष्ट्र बैंकले आफ्नो नीति परिवर्तन गर्नुपर्छ । घरजग्गा, गाडी र सेयरमा होइन, उद्योगधन्दा खोल्नमा प्रोत्साहन गर्नुपर्छ । सरकारमा बसेकाहरु कर उठाउन चासो नदेखाउने, सीमित व्यक्ति, व्यापारी, व्यवसायीको हितमा काम–निर्णय गर्ने अनि सर्वसाधारण ठगिने, राज्य राजस्वविहीन हुने ? यो कतिञ्जेल ?
रुषा थापा
भक्तपुर

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्