बैंकलाई ‘सेफलाइन’ बनाउने र सर्वसाधारण डुबाउने खेलमा राष्ट्र बैंक, लोभ्याउने पोलिसी यस्ता हुन्छन्

FILE PHOTO

काठमाडाैं – पछिल्लो समय ठगीको नयाँनयाँ स्वरुप देखिन थालेको छ । टाठाबाठाहरुले ठग्नका लागि विभिन्न पोलेसी ल्याइरहेको पाइन्छ । तिनीहरुको कमाउने पोलेसीमा सीधासाधी परिरहेका छन् । सीधासाधीले भुँइको टिप्न खोज्दा खल्तीको पनि गुमाइरहेको अवस्था छ । हिजो करोडौं सर्वसाधारणलाई बैंक तथा वित्तिय संस्थाले ठगेको छ ।
ऋणीको करोडौंको सम्पत्ति बैंक तथा वित्तिय संस्थाले कौडीको भाउमा पचाइदिएका छन् । जसका कारण धेरै सडकछाप भएका छन् । बैंककै कारण आत्महत्या गरेका घटनाहरु पनि छन् । बैंक तथा वित्तिय संस्थाले करोडौंलाई रुवाएको छ । बैंक तथा वित्तिय संस्थाको असली अनुहार देखेपछि आम सर्वसाधारण कर्जा लिनै जान छोडे ।

३० लाख दिएर करोडको सम्पत्ति खाइदिन्छ भन्ने थाहा पाएका सर्वसाधारण कर्जा लिन नगएका हुन् । सर्वसाधारणमा बैंक तथा वित्तिय संस्थाको ठगी कार्यप्रति चेतना आयो । पछिल्लो समय बैंकमा कर्जा लिन जाने कोही पनि थिएनन् । कर्जा लिन आउन नभएपछि बैंकले ठग्न पाएन् ।
यता, बचतकर्तालाई पनि ब्याज दिन नसक्ने अवस्थामा पुग्यो । त्यसपछि नेपाल राष्ट्र बैंकले पोलेसी ल्यायो । धितोको मूल्याङ्कनका आधारमा ७० प्रतिशत धितो दिने भनिएको छ । सर्वसाधारणले ३० प्रतिशत लगानी गर्दा हुन्छ । बैंकले यो लोभ देखाएपछि सीधासाधी त पुनः लोभिएर कर्जा लिन जान्छ ।

बैंकले पहिले कसरी ठगिरहेको थियो ? यो त सबैलाई थाहा नै पाइसके । सेवाशुल्क, ब्याज, हर्जाना जरिवाना भन्दै पैसा असुलिन्छ । तीन किस्ता नतिर्नेबित्तिकै बैंकले धितो नै पचाइदिन्छ । सेवाशुल्क एक प्रतिशत भनिएको छ, लिइन्छ तीन प्रतिशत । ब्याज १२ प्रतिशत भनिएपनि ७५ प्रतिशतसम्म पुर्याइन्छ ।
यो खेल अहिलेदेखि होइन्, पहिलेदेखि चल्दै आएको छ । डेढ करोडको धितो छ भने भ्यालुएशन गर्दा एक करोडको गर्छन्, बैंक तथा वित्तिय संस्था । त्यसमा पनि थोरै कर्जा दिन्छन् र किस्ता तिर्न नसक्नेबित्तिकै सम्पत्ति झ्वाम्म बनाउँछन् । अब अहिले त ७० प्रतिशत कर्जा दिने सरकारको पोलेसी छ ।

बाघले आहारा नपाएपछि आफ्नो स्याहारसुसार गर्नेलाई पनि खाइदिन्छ नि । बैंक तथा वित्तिय संस्थाको हकमा पनि त्यही हो । यिनीहरुले कसैलाई दया लागेर कर्जा दिने होइनन् । आफू कमाउनका लागि अरुलाई सडकछाप बनाउने धन्दा हो । बैंक तथा वित्तिय संस्थाले व्यापार मात्र गर्न खोज्छन् ।
व्यापार गर्नेले कहिले अरुको बारेमा सोच्छ ? यसबारे सर्वसाधारणले अब राम्रोसँग बुझ्न जरुरी छ । आम सर्वसाधारणबाट बैंक तथा वित्तिय संस्था नङ्गिसकेको छ । किन कि हिजो बैंकले गरेको व्यवहार त सर्वसाधारणले देखिसकेका छन् । बैंकले कसैलाई यत्तिकै कर्जा दिने होइन् ।
थोरै रकमका लागि करोडको सम्पत्ति धितो राखिन्छ । बैंकको योजना जसरी पनि धितो पचाउने नै हुन्छ । जुन कुरा सर्वसाधारणले बुझिसकेका छन् । बैंक तथा वित्तिय संस्थाले मान्छेलाई मर्नुपर्नेसम्मको अवस्था बनाउँछ । आफ्नो परिवार नै सखाप पारेको कैयन घटना पनि छन् ।

बैंकले दिएको तनाव सहन नसकेर पहिले परिवारको हत्या, त्यसपछि आफूले आत्महत्या गरेको घटना समाजमा घटिसकेको छ । तर, सरकारलाई त जनताको ज्यान सस्तो छ । बैंकले जे गरेपनि खुल्ला छोडिन्छ । सरकारले नै जनतालाई जति सक्छौं लुट भनेर बैंक लाई इजाजत दिएको छ ।
अनि सर्वसाधारण मर्नुपर्नेसम्मको अवस्थामा पुग्नु स्वाभाविकै हो । राष्ट्र बैंकका गर्भनर नै जनता डुबाउन लागेका छन् । हाल राष्ट्र बैंकले गरेको सो निर्णयमा धेरै चलखेल भएको छ । पर्दाभित्र बसेर सेयर व्यवसायी, घरजग्गा व्यवसायी र अटो व्यवसायीहरुले राष्ट्र बैंकलाई दबाब दिएका हुन् ।

सोहीअनुरुप यो पोलेसी ल्याइएको हो । दलालीहरुले आफ्नो फाइदाका लागि केसम्म गरेनन् ? आनाको पाँच हजार नपर्ने जग्गालाई खण्डीकरण गरेर, टुक्राटुक्रा पारेर, प्लानिङ्ग गरेर आनाको ६०–७० लाखसम्म बेच्यो । बैंक तथा वित्तिय संस्थालाई घुस खुवाउने, कर्जा मिलाउने अनि सोझासाझीलाई चंगुलमा पार्ने काम बैंक तथा वित्तिय संस्थाले गरिरहेका थिए ।

बैंकले एक सय रुपैयाँ कित्तामा निकालेको सेयर दलालीले चार हजार रुपैयाँसम्म पुर्यायो । छिमेकी मुलुकमा एक लाख नपर्ने सवारी साधन यहाँ ल्याएर लाखौंमा बेचियो । यसमा कर्जा दिने फेरि बैंक नै हो । बैंक कर्जा दिने, व्यवसायी नामका दलालहरुले सीधासाधीलाई ‘मुर्गा’ बनाए ।
रातारात नाफा कमाउन पाउने भएपछि बैंक तथा वित्तिय संस्थाले धमाधम यी तीन क्षेत्रमा लगानी गरे । सेवाशुल्क, घुस, चर्को ब्याज खान पाउने भएपछि बैंकले आँखा चिम्लेर कर्जा लगानी गरेको छ । जब जनतामा चेतना आयो, त्यसपछि यिनीहरुको ठगीधन्दा बन्द भयो । सञ्चार माध्यमहरुले पनि सत्यतथ्य बाहिर ल्याइदिए ।

त्यसपछि सर्वसाधारणले यहाँ लगानी गरेनन् । सचेत भए । सर्वसाधारण सचेत हुनेबित्तिकै दलालहरु ‘पानीबिनाको माछा’ जस्तै भए । ठग्न नपाएपछि उनीहरु रन्थनिए । यता, बैंक तथा वित्तिय संस्थाको लगानी पनि जोखिममा परेको अवस्था छ । किन कि घरजग्गा, सेयर र गाडीको कारोबार सुस्ताएको छ ।
घरजग्गा, गाडी र सेयर किन्ने छैनन् । जसका कारण बैंकलाई धितो लिलाम गर्न पनि सकस परेको छ । बैंकले सावाब्याज जोड्दा धितोको तेब्बर पुगिसक्यो तर लिलाम गर्न सकेको छैन् । त्यसैले पनि अहिलेको पोलेसी ल्याएको छ । बैंकले ७० प्रतिशत कर्जा दिने भएपछि त किन्ने मान्छे आउँछन् भन्ने बैंकले सोचेको छ ।

एउटा उखान छ,‘चोक्टा खान गएकी बुढी झोलमा डुबेर मरि’ । अहिले राष्ट्र बैंकले ल्याएको पोलेसी पनि त्यही हो । बैंकलाई सेफलाइन बनाउने, सर्वसाधारण डुबाउने । कर्जा पाउने भनेपछि सर्वसाधारणले आफूसँग भएको रकम लगेर लगानी गर्छन् । अनि त्यो तिर्न नसकेपछि फेरि बैंकले खाइदिन्छ ।
ठग्न पायौं भनेर आँखा चिम्लेर ठग्दाको नतिजा बैंक तथा वित्तिय संस्थाले खेपिरहेका छन् । राज्यको ऐनकानुन नमान्ने, सर्वसाधारणलाई सेवा पनि नदिने । सरकारले पनि बैंक तथा वित्तिय संस्थालाई छाडा छोडिदियो । सर्वसाधारण लुट्ने अनि हामीले वर्षेनि यति नाफा कमायौ भनेर सार्वजनिक गर्ने ।

सीधासाधीलाई धुरुधुरु रुवाएर, सडकको बास पुर्याएर कमाएको नाफाप्रति गर्व गर्ने बैंक तथा वित्तिय संस्थाको जालमा अब सर्वसाधारणलाई फस्नुहुँदैन् । नत्र बैंकले अन्यको पनि त्यस्तै हालत बनाउँछ । बैंक तथा वित्तिय संस्थाको ठगीधन्दा छताछुल्ल भइसकेको छ । सदनदेखि सडकसम्म तिनको ठगीधन्दाविरुद्ध आवाज उठिसकेको छ ।

राजनीतिक दलहरु पनि बैंकको असलियत खोलिरहेका छन् । सडकमा बैंकविरुद्ध पटकपटक नाराबाजी भइसकेको छ । सर्वसाधारणले पनि बैंक तथा वित्तिय संस्था ‘चोर’ हो भन्न थालिसकेका छन् । बचतकर्ता र ऋण दुवैले यिनीहरुको ठगीधन्दाबारे राम्रोसँग थाहा पाइसकेका छन् ।
त्यसैले अबपनि दिँउसै अन्धकार पारेर ठग्छु भनेर नसोच्दा पनि होला । यता, विभिन्न उद्योगीहरु पनि बैंकविरुद्ध छन् । बैंकले यति नराम्ररी जालमा फसाए कि उम्किन गाह्रो छ । सर्वसाधारणले अरुको हालत देखेर पनि आफू जोगिनुपर्छ । यो नयाँनयाँ पोलेसीको पछाडि लाग्दा आफ्नो हालत पनि त्यस्तै हुन सक्छ भनेर सोच्नुपर्छ ।

हामीले भारी बोक्ने मान्छे देखेका छौं । उनीहरुको लुगा मैलो तर मन सफा हुन्छ । बैंकका कर्मचारीहरु सुकिलामुकिला हुन् तर मन कालो हुन्छ । यो हो भिन्नता । गरिब भएपनि इमान छोड्नुहुँदैन् । जति आउँछ, त्यतिमै रमाउँछन् । बैंकका कर्मचारी पढेका हुन्छन्, सफा हुन्छन्, मिठो बोल्छन् । मिठो बोलेकै भरमा सीधासाधीको श्री सम्पत्ति सकाइदिन्छन् ।
सबैभन्दा ठूलो जनता हुन् । जनताको आँखा खुलेपछि जुनसुकै पोलेसी ल्याएपनि ठग्न सकिँदैन् ।
अनुसा थापा
भक्तपुर

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्