काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको संक्रमण फैलिन रोक्ने उद्देश्यले अमेरिका प्रवेशमा ६० दिनसम्म प्रतिबन्ध लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । यससँगै अमेरिकामा स्थायी बसोबासको नयाँ अनुमति (ग्रिनकार्ड) दिने काम र विदेशीलाई अमेरिका प्रवेश बन्द भएको छ ।
ट्रम्पले गत मंगलबार नै यदि आवश्यक परेमा यस्तो प्रतिबन्ध थप ३० दिनका लागि या त्योभन्दा पनि लामो समयसम्मका लागि बढाउन सकिने बताएका थिए ।
अमेरिकीहरुको रोजगारी रक्षा गर्नुपर्ने पहिलो प्राथमिकता भएकाले आप्रवासीहरुलाई रोक लगाउन आवश्यक रहेको ट्रम्पको भनाइ छ ।
‘पहिले अमेरिकी जनतालाई प्राथमिकता दिनुपर्छ,’ ट्रम्पले भनेका छन्, ‘कोरोना भाइरस संक्रमणको प्रभावका कारण अहिलेसम्म लाखौं अमेरिकीको रोजगारी गुमेको छ । त्यसैले ती अमेरिकीहरुको रोजगार सुनिश्चित गर्ने सरकारको कर्तव्य हो ।’
अमेरिकी राष्ट्रपति ट्रम्प सुरुदेखि नै आप्रवासीहरुप्रति कठोर बन्दै आएका छन् । आप्रवासीप्रतिको ट्रम्पको व्यवहारलाई उनका आलोचकहरुले चुनावी मुद्दासमेत बनाउँदै आएका छन् ।