बिशाल बस्नेत
महोत्तरी, १३ फागुन । संघीय सरकारको बजेट १४ करोड ५९ लाख लागतमा दुई गाउँ जोडने सय मिटर पुल जंगाहा खोलामा निर्माण हुने भएपछि बर्दिवास–४ नयाँटोलकी तारा मोक्तान दंग छिन् ।
‘खोलावाट छोराछोरीलाई विद्यालय आवतजावत गराउनुपर्ने समस्या एकातिर थियो भने बजार आवतजावत गर्न पनि ठूलो समस्या थियो,’ मोक्तानले खुसी हुँदै भनिन्, ‘अब ती सास्तीका दिन सकिने भए ।’
आफ्नो बारी र खेतमा उत्पादन भएका कृषि उपजहरुलाई बजारसम्म पु¥याउन गरेको संघर्ष सम्झिँदा मोक्तानलाई अहिल पनि कहाली लाग्छ ।
‘बाध्यता थियो । कुनै विकल्प पनि थिएन,’ दुःख सम्झदै उनले भनिन्, ‘बर्षायाममा खोलाबाट तर्दा कयौंपटक तरकारी बगाएको छ, आवतजावतमा समस्या बनेको छ । अब त यस्ता समस्या भोग्नुपर्दैन कि भन्ने लागेको छ ।’
शनिवार पूर्व शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले उक्त पुलको शिलान्यास गरेपछि विगतमा भोगेका सास्तीवाट मुक्ति पाउने मोक्तान जस्तै धेरैले विश्वास लिएका छन् ।
जंगाहा खोलाको बाढी बढेपछी छोराछोरीलाई विद्यालय लैजान परेको समस्या सम्झँदा मोक्तान जस्तै प्रदीप रसाइलीलाई नेताहरुदेखि नै रिस उठने गर्थ्यो ।
‘तर ढिलै भए पनि नेता पोखरेलसहितका जनप्रतिनिधि र नेताहरुले हाम्रो समस्या बुझेका छन्,’ रसाईलीले भने, ‘अब कमसेकम कृषि कर्म चलायमान हुन्छ भने छोराछोरी विद्यालय पठाउन ढुक्क हुने वातावरण सिर्जना हुने भयो ।’
बजार आउँदा जंगलको बाटो हिडनुपर्ने र वन्यजन्तुको समेत खतरा रहेको अवस्थामा पुल निर्माण प्रक्रियाअगाडि बढेपछि लक्ष्मण श्रेष्ठको पनि खुसी थामिनसक्नुको छ ।
पुल निर्माण भएपछि बजारको सहज पहुँच हुँदा आर्थिक समृद्धिमा समेत टेवा पुग्न सक्ने श्रेष्ठको विश्वास छ ।
‘मलाई लाग्छ अब खेतीपाती गर्ने बढनेछन् भने बजारको लागि समेत समस्या हुदैन,’ उनले भने, ‘पुलले स्थानीय क्षेत्र समृद्धिको लहर ल्याउनेमा आशावादी भएका छाँै ।’
यहाँका स्थानीयहरुको उत्पादन गरेका कृषि उपजहरुको बजार ढल्केबर, बर्दिवास र लालबन्दी हो । जंगलको बाटोवाट यात्रा गर्नुपर्ने हँुदा असुरक्षाको चुनौती बढिरहेको बेला यो पुलले बजारसम्म सुरक्षित यात्राको सुनिश्चित गर्ने पनि स्थानीयको विश्वास छ ।
यो पुलवाट ३० हजार मानिस लाभान्वित हुने स्थानिय बताउँछन् । नगरको वडा नं.१, ४, ५, १०, ११ वडाका बासिन्दाको सरल आवतजावतमा योगदान पु¥याउने र किसानलाई विशेष फाइदा पुग्ने प्रदेशसभा सदस्य सारदादेवी थापाले बताइन् ।
त्यस्तै माओवादी केन्द्रका केन्द्रीय सदस्य प्रकाशहरि पोखरेलले महोत्तरीमा भंगाहा नगरपालिकाको सितापुर बजार जोड्ने पुल र यहाँ सुरु भएको पुलसँगै रातो किताबमा परे पनि स्थानीयको संवेदनशीलतालाई हेरेर जंगाहा खोलाको पुल प्राथमिकतामा राखेको बताए ।
यो अवधिमा काम छिटो र गुणस्तरीय ढंगले सम्पन्न गर्न स्थानीयको नै सहयोगको जरुरी भएको बताउँदै विवादरहीत ढंगले काम गर्नुपर्ने धारणा राखे ।
मेरना कन्स्ट्रक्सनले ठेक्का पाएको पुल निर्माण एक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ । सकेसम्म चाडो र गुणस्तरीय काम गर्न झकझक्याएर निर्धारित समयमा नै पुल निर्माण सकाउने उपभोक्ता समितिका अध्यक्ष मोहनबहादुर कार्कीले बताए ।
माओवादी केन्द्रका उपमहासचिव तथा सो क्षेत्रका पूर्वजनप्रतिनिधि गिरिराजमणि पोखरेलले विगतमा अधुरा भएका कामहरुलाई निरन्तरता दिइरहेको र निरन्तरता जारी रहने बताए ।