काठमाडौं, ५ माघ । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि प्रदेशका निर्वाचन अधिकृतहरुको कार्यालयमा मतपत्र पुर्याइएको छ । यही ११ माघमा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सातै प्रदेशका निर्वाचन अधिकृतहरुको कार्यालयमा मतपत्र पुर्याउने कार्य सकिएको निर्वाचन आयोगका सहायक प्रवक्ता श्रीधर पन्थीले जानकारी दिए ।
‘निर्वाचन आयोगले स्वीकृत गरेको मतपत्रको डिजाइन तथा मापदण्ड बमोजिमका सबै मतपत्रहरु छपाई गरी सातै प्रदेशका निर्वाचन अधिकृतहरुको कार्यालयमा मिति २०८० माघ ५ गते पु¥याउने कार्य सम्पन्न भएको छ,’ सहायक प्रवक्ता पन्थीले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश सभाका सदस्य र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख रहेको निर्वाचक मण्डलद्वारा मतदान हुने कानूनी व्यवस्था अनुसार प्रदेश सभाका सदस्यका लागि सेतो रङको कागजमा हरियो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्र र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखका लागि सेतो रङको कागजमा रातो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्रहरु छपाई भएका छन् ।
प्रदेशगत रुपमा रहेका निर्वाचक मण्डलका सदस्यको संख्या तथा निर्वाचन हुने पद संख्यालाई आधार मानी आयोगले तोकेको संख्यागत मापदण्डका आधारमा कोशी प्रदेशमा निर्वाचन हुने दुई पदका लागि चार प्रकारका ९२० मतपत्र, मधेश प्रदेशमा निर्वाचन हुने दुई पदका लागि चार प्रकारका ९४० मतपत्र, बागमती प्रदेशमा निर्वाचन हुने चार पदका लागि आठ प्रकारका १७६० मतपत्र र गण्डकी प्रदेशमा निर्वाचन हुने तीन पदका लागि ६ प्रकारका ९०० मतपत्रहरु रहेका आयोगले जनाएको छ ।
लुम्विनी प्रदेशमा निर्वाचन हुने दुई पदका लागि चार प्रकारका ७४० मतपत्र, कर्णाली प्रदेशमा निर्वाचन हुने तीन पदका लागि छ प्रकारका ७५० मतपत्र र सुदुरपश्चिम प्रदेशमा निर्वाचन हुने तीन पदका लागि छ प्रकारका ९०० मतपत्रहरु रहेका छन् ।
आगामी २० फागुनदेखि रिक्त हुने १९ राष्ट्रिय सभा सदस्य पदको लागि ११ माघ सम्वन्धित प्रदेशका तोकिएका मतदानस्थल तथा मतदान केन्द्रहरुमा विहान ९ बजे देखि अपरान्ह ३ बजेसम्म हुने मतदान प्रयोजनका लागि ३८ प्रकारका कूल ६९१० मतपत्रहरु छपाई गरी पठाइएको आयोगले जनाएको छ । ११ माघमा हुने निर्वाचित निर्वाचित हुने राष्ट्रिय सभा सदस्यहरुको पदावधि आगामी २१ फाागुनदेखि ६ वर्षसम्म कायम रहनेछ ।