फतुवा विजयपुरको ३०५ कर्मचारीले तलब पाएनन, मंगलबारबाट सम्पुर्ण बिधालय बन्द गरिने

सञ्जय मिश्रा

रौतहट २३ पुस। रौतहटको फतुवा बिजयपुर नगरपालिकामा तलबको माग गर्दै आन्दोलनमा उत्रेका शिक्षक कर्मचारीले आउँदो मंगलवार देखि नगरको सम्पुर्ण बिद्यालय बन्द गर्ने चेतावनी दिएको छ।

 

पछिल्लो ६ दिन देखि धर्नामा बस्दा पनि कुनै जनप्रतिनिधिले वास्ता नगरेको भन्दै आन्दोलनरत शिक्षकहरुले आईतवार नगरक्षेत्र अन्तर्गतको सम्पूर्ण सामुदायिक बिद्यालय बन्द गर्ने चेतावनी सहित कार्वाहक मेयर अम्बेया खातुनलाई ज्ञापनपत्र बुझाएको हो।

 

‘तलबको माग गर्दै हामी ६ दिनदेखि धर्ना अर्थात रीले अनसनमा बसेका छौं, तर कुनै जनप्रतिनिधि हाम्रो समस्या समाधान गर्न गम्भीर देखिएका छैनन्, सोमवारसम्म माग सम्बोधन नभएमा सम्पूर्ण बिद्यालय बन्द गरेर उत्रन बाध्य हामी हुनेछौं,’ बाचन गर्दै शिक्षक राधेश्याम यादवले मेयर खातुन र प्रमुख प्रशासकीय अधिकृत उपसचिव सुरेन्द्र प्रधानलाई ज्ञापनपत्र बुझाएका थिए।

 

फतुवा बिजयपुरमा कांग्रेस पार्टीको बहुमत हुँदा हुँदै हालसम्म बजेट पारित हुन नसकेको कारण सम्पूर्ण आर्थिक कारोवार ठप्प प्रायः भएको छ। यस आर्थिक बर्षको साउन अर्थात ७ महिना देखि तलब नपाएका फतुवा विजयपुर नगरपालिकामा कार्यरत शिक्षक कर्मचारी तलबको माग गर्दै बुधवार देखि धर्नामा बसेका छन।

 

यसरी तलबको माग गर्दै उक्त नगरमा शिक्षक कर्मचारी आन्दोलनमा उत्रनु, धर्ना बस्नु नौलो कुरा होइन। फतुवा बिजयपुरका तत्कालीन मेयर गोपाल राय यादवको पहिलो कार्यकालमा पनि तलबको माग गर्दै शिक्षक कर्मचारी पटकपटक आन्दोलित हुँदै आएका छन। तर सो ताका तत्कालीन मेयर यादव सँगै कांग्रेसका ठूला बनाउने नेताहरु नगरपालिकामा बहुमत छैन र अन्य दलका उपमेयर तथा वडा अध्यक्षहरुको असहयोगको कारण यस्तो भयो भन्दै सहजै पन्छिने गरेका थिए।

 

तर यसपटकको अवस्था भने फरक रहेको छ। ११ वडा रहेको फतुवा बिजयपुर नगरपालिकामा कांग्रेसको मेयर, उपमेयर,७ वडा अध्यक्ष निर्वाचित भएको छ। ३ वडा अध्यक्ष एमाले र एउटा वडा अध्यक्ष जसपाको निर्वाचित भएको छ। नगर कार्यपालिका बोर्डमा २१ जना मध्ये १६ जना कांग्रेसको रहेको छ। यति प्रचण्ड बहुमत हुँदा पनि पार्टी भित्रै भागबण्डा नमिलेको कारण एक अर्कालाई असहयोग गरी असफल बनाउने खेल भईरहेकाले असार १० गतेभित्र हुनुपर्ने नगरसभा हालसम्म भएको छैन।

 

तथापि गत साउन देखि तलब पाउन नसकेका शिक्षक कर्मचारी नगरपालिकाको अगाडी धर्ना सुरु गरेका हुन। नगरक्षेत्र अन्तर्गतका प्रत्येक माबि बाट ३ जना, निमाबी बाट २ जना प्राबि बाट १ जनागरी आजदेखि पालोपालो गरी धर्ना सुरुभएको हो। समस्या समाधान नभएसम्म पहिलो चरणको आन्दोलन स्वरूप दैनिक बिहान ११ बजेदेखि ४ बजेसम्म धर्ना जारिरहने माबी दुधिअवाका शिक्षक रञ्जन खरेलले बताए।

 

बुधवार पहिलो दिनको धर्नामा कार्यवाहक मेयर अम्बेया खातुन, अन्य दलका ४ र काँग्रेसका १ जनागरी ५ जना वडा अध्यक्ष समेतले ऐक्यबद्धता जनाएका थिए। त्यस्तै गत शुक्रवार नेपाल शिक्षक संघ रौतहटका अध्यक्ष रामकृपाल यादव, प्रदेश प्रतिनिधि राममंगल यादव सहितको पदाधिकारी धर्नास्थल पुगेर शिक्षक कर्मचारीको आन्दोलन प्रति एक्यवद्धता जनाएका थिए।

 

फतुवा बिजयपुर नगरपालिकामा जनप्रतिनिधि बीचको बिवाद चरम उ्कर्षमा पुगेको छ। तत्कालीन मेयर गोपाल राय यादव बिशेष अदालत बाट दण्डित भएर निलम्बित भए संगै कार्यवाहक मेयर खातुन र अन्य जनप्रतिनिधि बीच बिवाद उत्पन्न भएको हो।जन प्रतिनिधि बीचको विवादको परिणाम समयमा नगरसभा हुन नसकेकाले त्यहाँका शिक्षक कर्मचारीले तलब पाउन सकेका छैनन।

 

मन्त्रालयको निर्देशनमा फतुवामा केहीसमय अघि प्रशासकिय अधिकृतको रूपमा आएका उपसचिव सुरेन्द्र प्रधान र मेयर खातुनको प्रयासमा अघिल्लो महिनामा सामाजिक सुरक्षा भत्ता वितरण गरिएको थियो। मेयर खातुनको निर्देशनमा नगरसभाको लागि पटकपटक बैठक बोलाउँदा कांग्रेसका वडा अध्यक्षहरु संगै कार्यपालिका बोर्डका सदस्य जनप्रतिनिधिहरु बिभिन्न आरोप लगाउँदै बैठकमा उपस्थित भएका छैनन्।

 

असार १० गते भित्र हुनुपर्ने नगर परिषद  गराउन सूचना समेत गरिसकेको अवस्थामा कांग्रेस जनप्रतिनिधि बीच आपसी तालमेल नमिलेको कारण अन्तिममा स्थगित गरिएको थियो। हालसम्म पनि हुन नसक्दा नगरपालिकाको सम्पूर्ण आर्थिक गतिविधि सुन्य भएको छ।

 

नगरभित्रका शिक्षक लगायत ३५० को हाराहारीमा कर्मचारीले तलब पाउन सकेका छैनन् । कार्यपालिका बोर्ड बैठक बसेर नगरसभाको दिन तोक्न तीनपटक लिखित सूचना पठाउँदा मेयर बाहेक काँग्रेस समर्थित जनप्रतिनिधि वडा अध्यक्षहरु पत्र नै नबुझ्ने गरेकाले अवस्था अन्यौल बनेको उपसचिव प्रधानले गुनासो गरेका छन।

 

कांग्रेस पार्टीका एकजना वडा अध्यक्ष राकेश यादवले कार्यवाहक मेयर कांग्रेस पार्टीकै भएर एकोहोरो गर्न खोजेकाले पहिले पार्टीभित्र आएर आत्म आलोचना गरेपछि मात्र बैठकमा सहभागि हुने बताउँदै आएका छन।वडा अध्यक्षहरुको बखेडा तथा अवरोधको कारण नगरपालिकाको कामकाज प्रभावित बनाईरहेको कार्यवाहक मेयर अम्बेया खातुनले बताएकी छन्।

 

लालबकैया नदीको टेन्डरको मुद्दामा अख्तिारद्वारा दोषी ठहर भएर तत्कालीन मेयर गोपाल राय यादव लाई तीन वर्ष कैद र १५ लाख जरिबानाको फैसला बिशेष अदालत बाट भएपछि उनको पद गएको थियो। उनी निलम्बित भएपछि उपमेयर खातुन कार्यवाहकको जिम्मेवारी पाएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्