काठमाडौं – ललितपुर सिटी एफसीले जारी नेपाल सुपर लिग (एनएसएल) को उपाधि जितेको छ । शनिबार दशरथ रंगशालामा सम्पन्न फाइनल खेलमा ललितपुर सिटीले धनगढी एफसीलाई ३-२ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।
१-० ले पछि परेको खेलमा कमब्याक गर्दै ललितपुर सिटीले खेल जितेको थियो । ललितपुरको जितमा इमोह इजेकीएलले २ गोल गरेका थिए भने दिनेश हेम्जनले एक गोल गरेका थिए । ललितपुरका लागि पहिलो गोल इमोहले खेलको ४५औं मिनेटमा गरेका थिए । त्यसपछि खेलको ५१औं मिनेटमा दिनेशले गोल गर्दै ललितपुरको अग्रता दोब्बर पारेका थिए । त्यसपछि खेलको ५८औं मिनेटमा इमोहले आफ्नो दोस्रो गोल गर्दै ललितपुरलाई ३-१ को अग्रता दिलाएका थिए ।
ललितपुरका इमोहले यस सिजनमा ६ गोल गर्दै सबधिक गोल गर्ने खेलाडी बनेका छन् । यस अघि खेलको ३८औँ मिनेटमा धनगढीका अफीज ओलावालेले गोल गर्दै शुरुवाती अग्रता दिएका थिए भने खेलको ९८औं मिनेटमा अहमद हिजाजीले दोस्रो गोल गर्दै धनगढीलाई खेलमा फर्काउने प्रयास गरेका थिए । यस खेलमा खेलको ८०औं मिनेटमा धनगढीका रिचार्ड ओसेलले दोहोरो पहेलो कार्ड पाएपछि रातो कार्ड पाएका थिए ।
त्यस्तै लिग चरणमा ८ खेलमा २ जित, ४ बराबरी र २ हार बेहोरेको ललितपुर सिटीले इलिमिनेटरमा काठमाडौँ रेजर्सलाई र दोस्रो क्वालिफायरमा पोखरा थण्डर्सलाई पराजित गर्दै फाइनलमा पुगेको थियो । त्यस्तै लिग चरणमा ८ खेलमा ३ जित, ४ बराबरी र एक खेलमा हार बेहोरेर १३ अंकसहित दोस्रो स्थानमा रहदै प्लेअफमा पुगेको धनगढीले पहिलो क्वालिफायरमा पोखरा थण्डर्सलाई पराजित गर्दै फाइनलमा पुगेको थियो ।
पहिलो पटक फाइनलमा पुगेको ललितपुर सिटी एफसीले उपाधि चुमेको छ । यसअघि पहिलो सिजनमा ललितपुर दोस्रो क्वालिफायरमा काठमाडौँ रेजर्ससँग ३-० ले पराजित हुदै बाहिरिएको थियो । २०२१ मा सम्पन्न पहिलो सिजनमा धनगढी काठमाडौँ रेजर्ससँग १-० गोल अन्तरले पराजित भएर उपविजेतामा चित्त बुझाएको धनगढी यस पटक पनि उपविजेतामा सिमित भएको छ ।
एनएसएलको पहिलो सिजनको उपाधि जितेको काठमाडौँ रेजर्स भने यस सिजनमा इलिमिनेटरमा ललितपुरसँग पराजित बह्येर बाहिरिएको थियो ।