पाेखरा, ५ मंशिर। कास्कीको पोखरामा बिहीबारदेखि लेखनाथ महोत्सव सुरु भएको छ ।
महोत्सवको उदघाटन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले एक समारोहवीच गरेका छन् । महोत्सव १६ गतेसम्म चल्ने छ ।
लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा महोत्सव भएको हो । संघका अध्यक्ष बिनोद श्रेष्ठले पोखरा–२७ स्थित डाँडाकोनाकमा हुने १९ औं संस्करणको लेखनाथ महोत्सव मार्फत स्थानीय उत्पादन, पर्यटन र उद्योग तथा व्यवसायको प्रवर्द्धन गरिने जानकारी गराए ।
महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका लघु, घरेलु, साना–ठूला औद्योगिक तथा व्यापारिक प्रतिष्ठानहरुका वस्तु तथा सेवा, हस्तकला, यातायातका साधनहरु, कृषि तथा पशुजन्य वस्तुहरु बिक्री तथा प्रदर्शनीमा राखिएको जनाइएको छ ।
महोत्सवलाई पोखरा इको रेड ब्रिक्स प्रा.लि.ले मुख्य प्रायोजन गरेको छ । सह–प्रायोजकमा पशुपति बिस्कुट र हेटौंडा डेरी, फुड फेस्टिभल प्रायोजकमा न्यूट्रीप्लस शुद्ध तोरीको तेल र प्रवर्द्धकमा पोखरा महानगरपालिका र नेपाल पर्यटन वोर्ड रहेको छन ।
विद्यालय स्तरीय शैक्षिक एवं विज्ञान सामग्री, सूचना र सञ्चार प्रविधिमा भएका नयाँ आयामहरुको जगेर्ना, नयाँ प्रतिभाको खोजी अभियान, सांस्कृतिक जगेर्ना कार्यक्रम लगायतका थुप्रै कार्यक्रमहरु दर्शकको रोजाईमा पर्ने आयोजकको विश्वास छ ।