काठमाडौं – अघिसम्म सिन्धुलीका हरि माझीलाई दिन बितेको पत्तो हुँदैनथ्यो । दिनभर भारी बोक्यो, साँझ खाना खायो थुपुक्क सुत्यो । एकै निद्रामा बिहान झिसमिस भइहाल्थ्यो । जुरुक्क उठेपछि भारी बोक्ने काम शुरु हुन्थ्यो । यसरी बित्थे माझीका दिनहरु । दैनिक गुजाराका लागि भारी बोकेर उपत्यकामा भौँतारिएको धेरै वर्ष भइसक्यो तर उहाँलाई अहिलेको जस्तो सकस पहिले कहिल्यै परेको थिएन । “दिनदिनैको बन्दले केही गर्न पाएको छैन । आज २० दिन भयो दुई चार पैसा कमाइ पनि छैन । विकल्प नै केही नभएपछि के गर्नु भोकभोकै बस्नुपरिरहेको छ”, भक्तपुर थिमिस्थित शङ्खधर चोकमा भेटिनुभएका माझीले मलिन स्वरमा दुःख पाेखे ।
माझी थोत्रो ज्याकेट र पाइन्ट, धेरै दिन नुहाउन नपाएर जिङ्रिङ परेको कपाल, मुखमा कालो मास्क र फाट्न लागेको चप्पलमा देखिए । उनका अरु मजदूर साथीहरु पनि सडकपेटीमा सुस्ताउँदै थिए । माझीले हामीलाई व्यथा पोख्न भ्याए । समस्या सबैको उही न हो, बीचबीचमा उनीहरु पनि थप्दै थिए । कसरी दिन काट्ने होला भन्ने नै थियो सबैको साझा चिन्ता । सकड खाली नै थियो । एकै छिनमा मानवसेवा आश्रमको गाडी हुँइकिएर आयो । माझीलगायत उनका मजदूरहरु साथीहरु र सडक पेटीमा बसिरहेका अरुको अनुहार उज्यालो भयो । सबै खुशी देखिए । लकडाउनको शुरुआतमा भोगभोकै परेका मजदूरहरुलाई केही दिनदेखि त्यही गाडीले खाना ल्याएर खुवाउने रहेछ । यसो हेर्दैगर्दा उनीहरु बसेकै सडकपेटीमा खाना आइपुग्थ्यो । आश्रमले यसरी नियमित खाना खुवाउन थालेदेखि उनीहरुको मुहारमा चमक देखिन थालेको रहेछ जुन आज पनि झल्कियो ।
“केही दिन भयो यसैगरी खाना बाँड्न ल्याउनुहुन्छ, खायो बस्यो, बेलुका पाटीमा गयो सुत्यो, यसरी चल्दैछन् हिजोआजका दिन”, माझीले सुनाए । शुरुका दिनहरुमा भोकभोकै पर्यौँ उनले भने। कतिदिन त एक छाक खान पायौँ अनि धेरै दिन भोकै रहेको पीडा भुल्न नसकेको भन्दै अब त्यस्ता दिन नआएहुन्थ्यो भन्दै हुनुहुन्छ । पछिल्ला केही दिन खान त पाएका छन् तर उनीहरुको मनले मानेको छैन । उनीहरु काम गर्न चाहन्छन् । तर पाएका छैनन् । सरकारसँग रासन माग्न पनि गएकै हो, तर मजदुरले पाएनन् । “सिफारिस लिएर गएको हो खोइ साहुहरुलाई दियो, हामीलाई दिएन” खाना खुवाउने आश्रमलाई धन्यवाद दिँदै माझीले थप्नुभयो, “हजुर रोग लागेर त केही हुँदैनथ्यो भोक सहन सकिँदैन जस्तो लाग्नथाल्यो ।” उहाँले रोग लागेर पनि सबै जना मर्दैनन् भनेर आफूले सुनेको बताउनुहुन्छ ।
नजिकै रहेका अन्य सहकर्मीहरु भाइकाजी खत्री, रामबहादुर वाइवा, बाबुराम गुरुङ, प्रेम धिमाल, पूर्ण लामा सडकपेटीमै बसेर धमाधम खाना खाँदै हुनुहुन्छ । खाना खानुअघि आश्रमले नै स्यानिटाइजरको व्यवस्था गरेको थियो । सामाजिक दूरी कायम गरेर खाना खुवाइएको थियो । बेखर्ची भएर सडकमै बस्न बाध्य उहाँहरु धेरैजसोको काम भारी बोक्ने नै हो । नुवाकोटका पूर्ण लामाको कथा केही फरक छ । उहाँ जात्रा हेर्न चैत ९ गते उपत्यका भित्रिनुभएको रहेछ । तर बन्दाबन्दीले निस्कनै पाउनुभएन । चैत १० मा भेटघाट सकेर ११ गते फर्कने सोच थियो उहाँको । तर १० गते साँझ सरकारले कोभिड–१९ को सङ्क्रमण रोक्न मुलुकमा अत्यावश्यक कामबाहेक बाहिर निस्किन नपाउने बन्दाबन्दी ‘लकडाउन’ को आदेश जारी गर्यो । राति मात्रै थाहा पाएका लामा उपत्यकामा अलपत्र पर्नुभयो । साथमा रहेको पैसा पनि केही दिनमा सकियो, खाना खान भौतारिनुप¥यो । अहिले कहिले पेटभर त कहिले आधी पेटमा दैनिकी चल्दैछ ।
विगत पाँच दिनदेखि भने पेटभर खान पाएको उहाँले सुनाउनुभयो । काठमाडौँको कोटेश्वरमा एक सानो खाजा पसलमा कुक काम गर्ने रामेछापका वीरबहादुर खड्का पनि आफू कहिल्यै अभावमा परेको मान्छे नभए पनि यतिखेरको जस्तो समस्या कहिल्यै सामना गर्नु नपरेको बताउनुहुन्छ । लकडाउनलाई अघिपछिको बन्दजस्तै होला भन्ने ठानेका उहाँ मुलुक नै सुनसान बन्द भएपछि छक्क पर्नुभएको छ । मासिक रु १६ हजार तलब खाने खड्का अहिले बेखर्ची भएपछि सडकमै हुनुहुन्छ । घर जान सकिने अवस्था रहेन । सरकारले राहत पनि दिएन । “राहत दिन्छ रे भनेर नागरिकता लिएर गएको दिएन”, खड्काले दुःख पोख्नुभयो, “त्यही सडकमा डुल्ने, खाने, ठेला र प्रतिक्षालयमा सुत्ने अवस्थामा छु, दिन काट्नै प¥यो के गर्नु ?” उहाँलाई शुरुमा कोटेश्वरमा एउटा युवा क्लबले खाना दिन्थ्यो । अहिले सो आश्रमले खाना दिन थालेपछि भने सजिलो भएको सुनाउनुभयो । खाना खुवाउन आइतबार साँझ मध्यपुरथिमि नगपालिकाका उपप्रमुख अञ्जनादेवी मधिकर्मी सरिक हुनुभएको थियो ।
घरमा असहायको संरक्षण गरी सडक मानव र पशुपक्षीको सहयोग गर्दै आएको संस्थाले लकडाउनका बेला आफ्नो नगरपालिकामा आएर भोकाएका मजदूरलाई खाना खुवाएकामा उपप्रमुख मधिकर्मीले आश्रमको प्रशंसा गर्नुभयो । उहाँले पकाउने चुलो नभएकालाई चामल दिँदा बेचेर खाने अवस्था रहेको भन्दै खानादिनु नै उत्तम विकल्प हो भन्नुभयो । चीनको वुहानमा गत डिसेम्बर ३१ मा शुरु भई विश्वव्यापी महामारीको रुप लिँदै गएको कोभिड–१९ को सङ्क्रमण विश्वका २१३ देशमा फैलिइसकेको छ । उक्त रोगबाट आजसम्म १८ लाख ५३ हजार १५५ नागरिक सङ्क्रमणमा परेका छन् । एक लाख १४ हजारले ज्यान गुमाइसकेका छन् ।
नेपालमा १२ जनामा यो सङ्क्रमण देखिए पनि फैलिएको भने छैन । यहाँ रोगको सङ्क्रमण नफैलिए पनि अप्रत्यक्षरुपमा देशभरका मानिस प्रभावित भएका छन् । कैयौँ भोकै बस्नुपर्ने बाध्यता छ । यस्तो अवस्था देखिएकाले सरकारी निर्णयअनुसार स्थानीय तहबाट राहत वितरण जारी छ । पकाएर खाने ठाउँ नहुँदा मजदुरलाई राहत आकाशको फल झैँ हुन्छ । राहत पाउनेमा पनि सम्पन्नको बाहुल्यता देखिने गरेको गुनासो गरिब मजदूरको छ । त्यसैले मजदूरलाई दैनिक खाना खुवाउनु नै प्रभावकारी ठानिएको छ । नेपालमा यसरी भोकै सडकमा पुगेकालाई विभिन्न संस्थाले राहत र खान खुवाउँदै आएको छ । यो क्रम उपत्यकामा पनि जारी छ । वितरण प्रभावकारी नहुँदा अझै कतिपय मजदूर भोकभोकै बस्नु परेको छ भने भोकभोकै पैदलै गाउँ फर्कन पनि कतिपय बाध्य छन् ।
भक्तपुरका विभिन्न ठाउँमा मानवसेवा आश्रम र नेपाल स्वयंसेवक सङ्घका प्रतिनिधि मिलेर अहिले भोकै रहेका मजदूरलाई खोजीखोजी खाना खुवाउन थालिएको हो । सङ्घका अध्यक्ष सन्तोष निरौलाका अनुसार शुरुका दिनमा सडकमा भएका कुकुरलाई खाना खुवाउन थालिएको थियो । सोही क्रममा सडकमा मजदूर भोकै बसेको फेला प¥यो । “दुई÷तीन दिनदेखि खान नपाएको उनीहरुको दुखेसो सुन्यौँ, अब केही त गर्र्नै प¥यो भनेर आश्रममा खबर ग¥यौँ, अनि सबैको सल्लाहमा अभियान थालेका हौँ”, निरौलाले अभियानको बारेमा जानकारी दिनुभयो । स्वयंसेवकले भोकाएका मजदूर कहाँकहाँ छन् भनेर खोजी गर्छन् । त्यसपछि मानवसेवा आश्रमले आवश्यक स्वास्थ्य सुरक्षा अपनाएर स्थानीय तहको समन्वयमा खान पकाएर वितरण गर्दै आएको छ । खानामा भात, दाल, तरकारी, सलाद दिने गरिएको छ । आश्रमले विगत सात वर्षदेखि मुलुकलाई नै असहाय सडक मानवमुक्त बनाउने अठोटका साथ सडकमा मागेरसमेत खान नसक्ने, वेसहारा, मनोरोगीको उद्धार गरी संरक्षणको अभियान चलाउँदै आएको छ । लकडाउनको अहिलेको समयमा आश्रमले दोहोरो अभिभारा ग्रहण गरेको छ । असहायको संरक्षणसँगै भक्तपुरका सडकमा भोको रहेका व्यक्तिलाई खाना खुवाउन थालेको छ । अन्य जिल्लामा आवश्यक सहयोग, समन्वय र सडक मानवको उद्धार गरिरहेको छ । आश्रममै खाना तयार हुन्छ र गाडीमा बोकेर जहाँजहाँ भोका मानिस छन्, त्यहीँ पुगेर खाना खुवाउने गरिएको छ । यतिबेला कोभिड– १९ को डरले गर्दा खाना खुवाउने क्रममा पनि सामाजिक दूरी कायम गरिन्छ । व्यक्तिगत सुरक्षा उपकरण प्रयोग गरेर आश्रमका अभियानकर्मीहरु खाना दिन जान्छन् ।
हिजोआज दैनिक करिब ३०० जनालाई बिहान बेलुकाको खाना खुवाइने गरिएको छ । आश्रमका अध्यक्ष रामजी अधिकारीले चैत २४ गतेदेखि नियमित खाना खुवाउने गरिएको बताउनुभयो । उद्धार गर्ने अभियानसँगै विभिन्न परिस्थितिमा सकडमा रहेका मजदूरको अवस्था कमजोर देखिएकाले आश्रमको इच्छा कटौती गरेर खाना खुवाउन थालिएको अधिकारी बताउनुहुन्छ । सात प्रदेशका १४ जिल्लाका १९ शाखाबाट आश्रमले बेसहारालाई सेवा दिइरहेको छ । यसरी बेसहारा र सडकबाट उद्धार गरिएकामध्ये अहिले एक हजार १०० जना संरक्षणमा छन् भने ६०० बढीलाई परिवारमा मिलन गराइसकिएको जनाइएको छ ।। (रासस, नारायण ढुङ्गानाको आलेखबाट)-NTV