“हाम्रा खानाको प्रचुर सम्भावना छ। देशभित्र र बाहिर धेरैले नेपाली खानाको प्रवर्द्धनको काम गरिरहेका छौ।चुनौती धेरै छ तर पनि हामी सफल भइरहेका छौ, ” बेलायतमा एक बहुराष्ट्रिय कम्पनीमा उपल्लो स्तरमा कार्यरत विनोद बराल भन्नुहुन्छ, “हामी नेपाली खासमा कस्तुरीको सुगन्ध खोज्न भौँतारिएको कस्तुरी मृगजस्ता हौ। स्वाद हाम्रो नेपालीको सादापनमा छ तर हामी विदेशी स्वादको पछाडि दौडन्छौ।”
पोखरामा जन्मिएर धादिङको मलेखु तथा काठमाडौँमा हुर्किनु भएका विनोदको भनाइमा, “हाम्रा छिमेकी भारत र चीन आफैमा अत्यन्त ठुला देश मात्र होइनन् सयौँ पाक परम्परा भएका मुलुक हुन। अनि विश्वमा चिनियाँ र भारतका अनेक प्रकारका खाना संसारमा लोकप्रिय पनि छन्। त्यस्तोमा पनि हामीले नेपाली खानालाई विश्व बजारमा चिनाउन केही हदसम्म सफल भएका छौ। यो ठुलो कुरा हो।”
नेपाल भारतदेखि अरबसम्मका खाना र त्यसका मरमसलामा रहेको ज्ञानका कारण विनोदलाई अन्तर्राष्ट्रिय परिकारको दुनियाँमा “मसला पण्डित” भनेर पनि चिनिन्छ। अनि खानपान बाहेकका क्षेत्रमा गरेका विभिन्न योगदानका कारण सेफभन्दा धेरै माथिको काम गर्ने मानिसका रूपमा पनि विनोदको परिचय बनेको छ।
विनोदका अनुसार नेपाली खानाको सबैभन्दा ठुलो चुनौती भनेको नेपालीपनलाई जोगाउनु नै हो। विनोद उदाहरण दिँदै भन्नुहुन्छ, “भारतका कतिपय स्थानमा हाम्रो ममले पकौडाको रूप लिँदै गएको छ। ममलाई तारेर मेयो वा मायनिज सससँग खाइन्छ। त्यो कतैबाट पनि नेपाली होइन।”
सामाजिक सञ्जालमा “ममका राजा” को उपाधि पाउनु भएका विनोद भन्नुहुन्छ, ” मम भनेको सानो मुखमा अट्ने खालको हुनुपर्छ। बफाएको मम सिङ्गै मुखमा हालेर किचिक्क पार्दा आउने रसको स्वाद पो हो त ममको वास्तविक स्वाद। अहिले बजार प्रतिस्पर्धाका नाममा मुखमा नअट्ने मम बनाइन्छ अनि टुक्राएर खादा त ममको स्टफीङको भन्दा पनि बाहिरको अचारको स्वाद आउँछ। अचारको स्वाद लिएर ठुलो मम खाने हो भने त दापाउ खाए भई हाल्यो नि। किन ममचा खान पर्यो?”
अहिले अस्ट्रियाको इभेन्ट म्यानेजमेन्टसम्बन्धी मल्टिनेशनल कम्पनी गोर्मेट इन्टरटेन्टमेन्ट ग्रुप (डोएण्डको इन्टनेशनल) को रिसर्च एन्ड डेभेलपमेन्ट तथा इनोभेसन किचेन डिपार्टमेन्टको प्रमुखका रूपमा कार्यरत विनोद बराल भन्नुहुन्छ,”कुरा ममको मात्रै होइन सबै नेपाली खानाको हालत त्यस्तै छ। वास्तविक नेपाली स्वाद त हाम्रा हजुरआमाहरूले पकाएको खानाको पो हो। हाम्रो पहिचान पनि त्यही नै हो।”
विनोद खानाको क्षेत्रकै औपचारिक शिक्षा लिएर यो पेसामा लाग्ने र अन्तर्राष्ट्रिय रूपमा नै माथिल्लो तहमा पुग्ने थोरै नेपालीमध्येमा पर्नुहुन्छ। विनोद बराल भन्नुहुन्छ, “हाम्रो कमजोरीचाहिँ अभिलेखीकरण हो। हाम्रा बजूहरूले कसरी खानालाई आवश्यक सामाग्री खोज्नु हुन्छ? कसरी काटकुटलगायतको तयारी गर्नुहुन्छ? कस्तो मसला चाहिन्छ? आगोको राप कति चाहिन्छ? कति बेर पकाउनु पर्छ? कसरी पस्कनु पर्छ? सबैको अभिलेख राख्न पर्यो। तब न कसैले यो तेरो खाना कसरी भयो भन्यो भने यी यी कारणले हो भन्न सक्नु पर्छ।”
विनोदका अनुसार “हाम्रो खाद्य परम्परालाई जोगाउने चुनौती हाम्रो भाषामा आएको सङ्कट हो। सबै जना आआफ्ना भाषा छोडेर अङ्ग्रेजी तिर कुद्न थाले पछि हाम्रा कतिपय खानेकुरा नै लोप हुने डर छ। हाम्रो वनजङ्गल तथा खेतबारीमा पाइने हाम्रा खानाका सबै वनस्पति तथा जीवजन्तुको नाम अङ्ग्रेजीमा हुनै पर्छ भन्ने छैन। अहिले मातृभाषामा थाहा भएको कुरा भाषाको लोपसँगै त्यसको प्रयोग पनि लोप हुँदै जान्छ।”
विनोद भन्नुहुन्छ “अहिले काभ्राको अचार हामीले सुनेका छौ। तर कतिले खाएका छौ? कोक्याउने कर्कलोको बारेमा तपाईँलाई थाहा होला तर दुधे कर्कलो थाहा छ त ? त्यसको अचार कसरी बनाउने थाहा छ त? सिप्लिकानको तरकारी त के शब्द नै सुनेका छैनौ होला। शब्द नै हराएपछि के को सिप्लिकान? के को तरकारी? नेपाली ममको किमामा छ्यापी अनिवार्य थियो। अहिले मम त सबैलाई थाहा छ तर छ्यापी के हो धेरैलाई थाहा छैन।”
विनोदका अनुसार त्यस्तोमा हामीले हाम्रो खाद्य परम्परालाई जोगाउने चुनौती छ।उहाँ यति बेला बेलायतमा सालका पातबाट बनेका दुना र टपरीको प्रवर्द्धनमा लाग्नुभएको छ। “हाम्रा पुर्खाका उपहार कति अमूल्य छन् तर विदेशी नक्कल गर्दै हामीले सबै लत्त्यायौ,” उहाँ भन्नुहुन्छ।
पाककलाको क्षेत्रमा २० वर्षभन्दा बढी काम गर्दा विनोदले नेपाली परिकारलाई विश्व मानचित्रमा स्थापित गर्ने अनेक काम गर्नुभएको छ। त्यसमध्ये एउटा विनोदले लन्डनमा खोलेको रेस्टुरेन्ट मःमः एन्ड रोटी पनि हो। त्यसमार्फत नेपाली खाना भारतीय खानाभन्दा धेरै फरक हो भनेर अभियान चलाउनुभयो विनोदले।
डोएण्डको इन्टनेशनलमा विनोदको काम खानासम्बन्धी अनुसन्धान गर्ने, मेनु तयार गर्ने र विशिष्ट तथा अति विशिष्ट पाहुनाहरूलाई खाना क्याटरिङ गर्ने हो। डोएण्डकोले संसारभरिका ७६ वटा एयरलाइन्स तथा तिनका एक्ज्युकेटिभ लाउन्जमा क्याटरिङको काम गर्दै आएको छ। यसबाहेक गत वर्ष सम्पन्न फुटबलको विश्वकप, फर्मुला वनका कार रेसहरूमा खाना व्यवस्थापनको काम गर्छ विनोद कार्यरत कम्पनीले। ती एयरलाइन्स तथा तिनका एक्ज्युकेटिभ लाउन्ज, मेघा इभेन्टहरूमा अति विशिष्ट पाहुनाहरूको खानाको व्यवस्थापनको मुख्य जिम्मेवारी नै विनोदको हुन्छ।
विनोद भन्नुहुन्छ, “खानाले मानिस संस्कृति र देशहरू जोड्ने काम गर्छ। म नेपाललाई र बेलायत तथा दुनियाँका अन्य देशहरूसँग खाना, संस्कृति तथा परोपकारका कर्महरूका आधारमा जोड्न चाहन्छु।”