काठमाडौँ – पछिल्लो एक दशकदेखि युरोप उडान भर्न नपाएको नेपाली जहाजको युरोप यात्राको भविष्य आउँदो कात्तिकमा टुङ्गो लाग्ने भएको छ । सन् २०१३ देखि युरोपेली सङ्घ ९इयू० को कालो सूचीमा रहेको नेपालबारे स्थलगत अध्ययन तथा अनुगमन गरेर शुक्रबार फर्किएको इयूको प्राविधिक सहयोग टोलीले आगामी कात्तिकमा प्रतिवेदन बुझाउने भएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार गत आइतबार नेपाल आइपुगेको चार सदस्यीय इयूको प्राविधिक टोलीले नागरिक उड्डयन प्राधिकरणसँगै वायुसेवा कम्पनीको अडिटको काम गरेर शुक्रबार फर्किसकेको छ । उनले भने, “नेपालले हवाई सुरक्षामा गरेको प्रगतिबारे पुनः अध्ययन गर्न नेपाल आएको उक्त टोली स्थलगत अध्ययनको काम सकेर फर्केको छ । प्रारम्भिक प्रतिवेदन केही अगाडि आउने विश्वाससहित कात्तिकसम्म पूर्ण प्रतिवेदन प्राप्त हुने छ ।”
प्रारम्भिक प्रतिवेदनमाथि प्राधिकरणले आफ्नो धारणा राखेपछि पूर्ण प्रतिवेदन आउने र उक्त प्रतिवेदन इयूमा पेस गरेपछि मात्रै नेपाल कालो सूचीबाट हट्ने वा नहट्नेबारे निश्चित हुने छ । उनले अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) ले गत वर्ष गरेको मूल्याङ्कन र हवाई सुरक्षा मापदण्ड कार्यान्वयनका विषयमा औसतभन्दा उच्च अवस्था देखिएकाले त्यसपछि पनि नेपाल हवाई सुधारका लागि नीतिगत सुधार गरिसकेको बताए ।
प्राधिकरणका प्रवक्ता निरौलाले नेपालले हवाई दुर्घटना न्यूनीकरणसम्बन्धी नियमावलीको मस्यौदा र हवाई सुरक्षासँग जोडिएका नियमसमेत संशोधन गरिसकेकाले यस पटक इयूले प्रतिबन्धबारेको निर्णय पुनर्विचार गर्ने आशा गरिएको बताए ।
स्थलगत अध्ययनमा आएको टोलीले लेजिस्लेसन, अर्गनाइजेसन, पर्सनल लाइसेन्सिङ, फ्लाइट अपरेसन, एयर वर्थनेसन, एक्सिडेन्ट इन्भेस्टिगेसन, एयर नेभिगेसन सर्भिस, एरोड्रोम एन्ड ग्राउन्ड एड्सलगायत आठ क्षेत्रको अध्ययन गरेर फर्किएको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।