अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ

काठमाडौं, तारकेश्वर नगरपालिका–८ जरङ्खुबाट अवैध लागूऔषध गाँजा ३ सय ग्रामसहित सोही ठाउँ बस्ने ५४ वर्षीया उषा बस्नेत समेत ८ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँ बस्ने नुवाकोट तारकेश्वर गाउँपालिका–५ घर भएकी २४ वर्षीया सुमित्रा ढुङ्गानाको कोठामा लागूऔषध बेचबिखन भइरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
बारा, निजगढ नगरपालिका–९ सिम्रिस्थित जंगलबाट अवैध लागूऔषध गाँजा ५ किलोसहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुर बकैया गाउँपालिका–९ बस्ने २८ वर्षीय सुजन घलान, मकवानपुरगढी गाउँपालिका–१ बस्ने २६ वर्षीय गणेश बहादुर बन्जन, रौतहट चन्द्रपुर नगरपालिका–३ बस्ने ३४ वर्षीय छबीलाल स्याङताङ रहेका छन् । ना.४५ प ३४३ नम्बरको मोटरसाइकलमा सवार सुजन र गणेशले उक्त गाँजा छबीलाललाई बिक्री गर्न लागेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले उक्त गाँजासहित तीनै जनालाई पक्राउ गरेको हो ।
सुर्खेत, बीरेन्द्रनगर नगरपालिका–४ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४० मिलिग्रामसहित सोही ठाउँ बस्ने ३७ वर्षीय कमल मल्ललाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो सुर्खेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
बर्दिया, बढैयाताल गाउँपालिका–२ फुटाहाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय १० मिलिग्रामसहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाँके खजुरा गाउँपालिका–३ धौलागिरी बस्ने  २५ वर्षीय पुष्कर सिरिश र १९ वर्षीय किरण थापा मगर रहेका छन् । प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्