ट्याक्सीमा एकाधिकार कायमै, नयाँ दर्ता खोल्न दिदैँन कोही पनि चासो !

आमसर्वसाधारण बिरामी हुँदा, आपत पर्दा तथा बुढाबूढा, बालबच्चा र सामान साथमा हुँदा ट्याक्सी चढ्न खोज्छन् । हिजो दिउँसो ११ बजे काठमाडौंको नयाँबानेश्वरस्थित थापागाउँबाट दुई जना महिलाले बा १ ज ७१२४ नम्बरको ट्याक्सीलाई रोके । उनीहरुको साथमा एउटा बच्चा समेत थियो ।
उनीहरु ट्याक्सीमा बस्न खोजे । ट्याक्सी चालकले पनि बहाँ जाने भनेर सोधे । अनि उनीहरुले सामाखुशी जाने भनेर जवाफ फर्काए । ती महिलाहरु ट्याक्सीमा बस्नका लागि ढोका खोल्ने प्रयास गरिरहेका थिए । तर, चालकले भने अगाडिको सिसा आधा मात्र खोलेर आफु मिटरमा नजाने भन्दै आठ सय रुपैयाँ मागे ।
उनीहरुले मिटरमा लगिदिनुस्, हामी उठेको रकम तिछौं भनेर पटक पटक आग्रह गरे । तर, चालक मानेन् । त्यसपछि उनीहरुले पाँच सय रुपैयाँ दिने बताए । तापनि चालकले छ सय रुपैयाँ दिएमा मात्र लगिदिने बताए । दश मिनेटजति त्यहाँ चालक र यात्रुको भाडाको विषयमा मोलमलाई भइसकेको थियो ।
सो क्रममा कुनै पनि खाली ट्याक्सी आएन । यसरी अन्त्यमा छ सय रुपैयाँ तिरेर ती महिलाहरु ट्याक्सी चढेर सामाखुशी गए । ट्याक्सीहरुले दिउँसै मिटरमा यात्रु बोक्दैनन् । भाडाको विषयमा कुनै यात्रुसँग त बाटोमै झैझगडा समेत गर्छन् । सरकारले ट्याक्सी भाडा बढाएको बढ्यै छ ।
केही महिनाअघि मात्र सरकारले ट्याक्सी भाडा बढायो । ट्याक्सीमा चढ्नेबित्तिकै ५० रुपैयाँ आउनेमा सरकारले बढाएर ५२ रुपैयाँ पुप्यायो । यता, प्रत्येक किलोमिटर भने ५० रुपैयाँ नै छ । थापागाउँबाट सामाखुशीसम्म बढीमा ६ किलोमिटर हुनुपर्छ । सरकारले निर्धारण गरेको भाडाअनुसार त्यति यात्रा गर्दा यात्रुले ३ सय ६० रुपैयाँ भाडा तिर्नुपर्छ ।
तर, ट्याक्सीले सिध्यै आठ सय रुपैयाँ मागे । अनि अन्तिममा ६ सय रुपैयाँमा लगे । यसरी ट्याक्सीहरुले दिउँसै सर्वसाधारणलाई ठगीरहेको छ । अस्पताल, एयरपोर्ट तथा बसपार्कमा बसेका सबै ट्याक्सीहरुले यात्रु ठग्दै आएका छन् । उनीहरुले मिटरमा जाँदा ३ सय उठ्नेमा सिध्यै हजार रुपैयाँ माग्छन् ।
ट्याक्सीहरुले कहिल्यै मिटरमा यात्रु बोक्दैनन् । न त यात्रुले भनेको ठाउँमा नै जान मान्छन् । अहिले आमनागरिक ट्याक्सी व्यवसायीहरु ठग हुन् भन्छन् । ट्याक्सी सार्वजनिक यातायात हो । यो कालोप्लेटमा दर्ता भएको हुन्छ । यसमा मिटर समेत जोडिएको हुन्छ । सरकारले बनाएको कानूनअनुसार ट्याक्सीले मिटरमा यात्रु बोक्नैपर्छ र यात्रुले भनेको ठाउँमा जानैपर्छ । तर, ट्याक्सीमा एउटै व्यवसायीमो रजगज हुँदा यात्रुले सहज रुपमा सेवा पाइरहेका छन् ।
विगत चार दशकदेखि ट्याक्सीमा एकाधिकार कायम छ । एउटै व्यवसायीको रजगज चलिआएको छ । व्यवसायीहरु मालामाल भइरहँदा सरकार कंगाल भएको छ । अनि जनताले सेवा पाएका छैनन् । जो मान्छे गाउँबाट आएको हुन्छ, उसको साथमा बालबच्चा, सामान र बुढाबूढी छ, उनीहरुलाई ट्याक्सीले ठगी हाल्छ ।
ट्याक्सी व्यवसायीहरुले आमसर्वसाधाणलाई तोकिएकोभन्दा बढी भाडा लिएर ठग्दा समेत त्यस्ता ट्याक्सीलाई न ट्राफिक महाशाखाले कारबाही गर्छ न यातायात व्यवस्था विभागले । अहिले पनि चक्रपथबाट यात्रु बोकेर ट्याक्सी चालकहरु जान मान्दैनन् । यता, काठमाडौं उपत्यकाभित्र मात्र ट्याक्सीको रोडपर्मिेट छ ।
उपत्यकाबाहिर करोड जनताको बसोबास छ । तर, ट्याक्सीको संख्या जम्मा ९ हजार छ । अहिले सात वटै प्रदेशमा नयाँ ट्याक्सीको दर्ता बन्द छ । सञ्चालनमा भएका ट्याक्सी पनि ७ सय ९६ सिसिका मारुती रहेका छन् । जुन हेर्दा सलाईको बट्टाजस्तो देखिन्छ त मोटामोटा तीन जना यात्रु बस्दा ट्याक्सीले यात्रु नतानि यात्रुले ट्याक्सी तान्नुपर्छ ।
सरकार सिण्डिकेट हटाएको दाबी छ । कागजमा सिण्डिकेट हटिसकेको छ । तर, व्यवहारमा लागू भएको छैन । अहिले पनि नयाँ ट्याक्सीको दर्ता खुलेको छैन । न त ढुवानी गाडी र फोस्टक ट्याम्पोको नै दर्ता खुलेको छ । सरकार ट्याक्सी व्यवसायीको अगाडि लाचार बनेको छ । नयाँ ट्याक्सीको दर्ता खोलेर न जनतालाई सेवा दिन सक्छ न राजस्व संकलन गर्न नै ।
ट्याक्सीले राति ९ बजेदेखि बिहान ४ बजेसम्म डेरी हान्छ । तर, ट्याक्सी चालकहरुले राति एक किलोमिटर बाटोमै हजार रुपैयाँ लिन्छन् । सरकारले निर्धारण गरेको ट्याक्सीको भाडाअनुसार सुरुमा ५०–५२ रुपैयाँ तिर्नुपर्छ । तर, पठाओमार्फत ट्याक्सी चढ्दा सुरुमै एक सय ७७ रुपैयाँ तिर्नुपर्छ । न ट्याक्सीको पेट्रोल खर्च हुन्छ न यात्रुले सेवा पाउँछन् ।
दिनमा ६ करोडभन्दा बढी सेवाशुल्क जनताले ट्याक्सी चढेबापत तिर्नुपर्छ । अहिले सुरुमा ५० रुपैयाँ आउनेमा शून्यबाट चलाउँछु र प्रत्येक किलोमिटर २० रुपैयाँमा चलाउँछु भन्दा समेत सरकार नयाँ ट्याक्सीको दर्ता खोल्दैँन । ट्याक्सी व्यवसायीहरु आफु पनि सस्तोमा जनतालाई सेवासुविधा दिदैँनन् अनि नयाँ व्यवसायी पनि आउन दिदैँनन् ।
उनीहरु रोड कब्जा गर्छन् अनि जनता ठगिरहन्छन् । अन्य मुलुकमा लक्जरी ट्याक्सी चलाइएको छ । त्यो पनि कम्पनीमार्फत । मिटरमा उठेभन्दा बढी भाडा यात्रुसँग लिइदैँन । न त यात्रुले भनेको ठाउँमा नजाने नै भनिन्छ । हाम्रो मुलुकमा यस्तो ठिक विपरीत छ ।
यहाँ व्यक्तिमार्फत ट्याक्सी चलाइएको छ । त्यो पनि थोत्र्रा, पुराना । अनि मिटरमा यात्रु बोकिदैँन । न त यात्रुले भनेको ठाउँमा नै गइन्छ । सरकारले पनि व्यक्तिमार्फत ट्याक्सी चलाउन दिँदा एकातिर जनतालले सस्तोमा सेवासुविधा पाएका छैनन्, अर्कातिर राज्य राजस्वविहीन भएको छ ।
व्यक्तिहरुले ट्याक्सी चलाउँदा उनीहरुले सरकारलाई नयाँ ट्याक्सीको दर्ता खोल्न दिएका छैनन् । न त आफैंले जनतालाई तोकिएको मूल्यमा सेवासुविधा दिएका छन् । नेपालमा पहिलोपटक २०३२ सालमा ट्याक्सी दर्ता भएको थियो । २०३२ सालदेखि २०८० सालसम्म एउटै व्यक्तिले व्यवसाय गर्दै आइरहेका छन् ।
फेरि २० वर्ष पुगेका ट्याक्सीको स्क्राइभ गरेको नम्बरमा नयाँ गाडी किनेर दर्ता गरिन्छ । यसरी एउटै व्यक्तिले ६८ वर्षसम्म व्यवसाय गर्छन् । २०६० सालभन्दा अगाडि उपत्यकाभित्र मिटरजडित ट्याक्सी र हुटवाला ट्याम्पो गुड्थ्यो । पैसा हुने मानिस त्यतिबेला ट्र्याक्सी चढ्थे त आर्थिक अवस्था कमजोर भएकाहरु ट्याम्पो चढ्थे ।
२०६० भद्रौ ५ गतेको मन्त्रिपरिषद्को बैठकले ट्याम्पोको सट्टाभर्नामा ट्याक्सी दिने निर्णय गप्यो । क्युवाला ट्याम्पो हटाएर माइक्रो बस दिइयो त तीन पाङ्ग्रे ढुवानी ट्याम्पो हटाएर चार पाङ्ग्रे ढुवानी गाडी दियो । सरकारले अहिले ट्याक्सीको विकल्पमा मिटरजडित फोस्टक ट्याम्पोको दर्ता खुलाएको छैन । यसले गर्दा ट्क्यासीमा एकाधिकार बढिरहेको छ ।
व्यवसायीहरु आफुखुशी यात्रुसँग भाडा असुल्ःछन् त यात्रु तिर्न बाध्य छन् । अहिले आमसर्वसाधारण मिटरजडित फोस्टक ट्याम्पोको नयाँ दर्ता खोलिदिने सरकारसमक्ष माग गर्छन् । सरकारले फोस्टक ट्याम्पोको दर्ता खोलेमा राज्यलाई राजस्व आउँछ, जनताले सस्तोमा सेवा पाउँछन् अनि मुलुकभित्र युवाहरुले केही गरेर खान सक्छन् ।
यता, ट्याक्सी सानो बाटोमा ट्याम्पोले जनतालाई सेवा दिन्छ त ट्याक्सी जान नमान्ने ठाउँमा ट्याम्पो जान्छ । अहिले आमनागरिक सरकारले फोस्टक ट्याम्पोको दर्ता खोलेमा शुन्यबाट सुरु गर्ने तथा प्रत्येक किलोमिटर १० रुपैँयामा चलाउने बताउँछन् । सरकारले मिटरजडित ट्याम्पोको दर्ता नखोलिदिँदा ट्याक्सीको एकाधिकार बढ्दै गएको छ ।
जनताले दुःख पाएका छन् । काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, भक्तपुर नगरपालिकालगातय अन्य स्थानीय तहहरुले ट्याम्पोको नयाँ दर्ता खोलेका छैनन् । न सरकार नयाँ ट्याक्सीको दर्ता खोल्छ न ट्याम्पोको । सरकार ट्याक्सी व्यवसायीको अगाडि लम्पसार पर्दा जनता ठगिरहेका छन् ।
उनीहरुले महंगो पैसा तिरेर पनि गुणस्तरीय सेवा पाएका छैनन् । जनता मर्कामा परिरहेको देखिरहँदा समेत सरकार उनीहरुको पक्षमा निर्णय गर्दैन । आर्थिक लेनदेनमा व्यवसायीहरुको पक्षमा काम गर्छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र श्रम, रोजगार तथा यातायातमन्त्री लक्ष्मण लम्साल नयाँ ट्याक्सी, फोस्टक ट्याम्पो र ढुवानी गाडीको नयाँ दर्ता खोल्न चासो देखाउँदैनन् ।
उनीहरु व्यवसायीहरुसँग पैसा खाएर जुका मोटाएझैं मोटाएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि नयाँ ट्याक्सीको दर्ता खोल्न पहल गर्दैनन् । प्रधानमन्त्री नै असक्षम भएपछि जनताले दुःख पाउने रहेछन् । तोकिएकोभन्दा बढी भाडा तिर्नुपर्ने, राज्य राजस्वविहीन हुनुपर्ने रहेछ ।
रुषा थापा
भक्तपुर

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्