अहिले सरकारले भ्रष्टाचारको फाइल खोलिरहेको छ । वर्तमान सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री नारायणकाजी श्रेष्ठले थालेको कार्य प्रंशसायोग्य छ । सरकारले भ्रष्टाचारीहरु खोजिरहँदा प्रधानमन्त्री प्रचण्डमाथि आफ्ना पार्टीका नेता–कार्यकर्ता बचाएको र अन्य दललाई मात्र कानुनको कठघरामा ल्याएको आरोप लागिरहेको छ । विभिन्न दलका नेताले यही विषयलाई लिएर औंला उठाइरहेका छन् ।
प्रधानमन्त्री प्रचण्डले साँच्नै नै देश बनाउने हो र भ्रष्टाचारीलाई कानुनको दायरामा ल्याउने हो भने अब शुरुवात आफूबाटै गर्नुपर्छ । उनले स्वयं कुनै काण्डमा मुछिएको भेटिए कानुनको दायरामा आउने बताउँदै आएका छन् । त्यस्तै, आफ्ना नेता–कार्यकर्ताले गैरकानुनी काम गरेको प्रमाणित भएमा नछोड्ने दाबी गरेका छन् । तर, अधिकांशले उनको कुरा नपत्याएको अवस्था छ ।
त्यसैले उनले अब आफ्नो व्यक्तिगत सम्पत्ति जनतामाझ सार्वजनिक गर्नुपर्छ । कसरी कति–कति सम्पत्ति कमाए ? यसको जवाफ जनतालाई दिनुपर्छ । त्यस्तै, काण्डमा जोडिएका आफ्ना नेता–कार्यकर्तालाई कानुनको दायरामा ल्याउने जिम्मा पनि उनकै हो । माओवादीका नेता–कार्यकर्ता परिवर्तनका वाहक हुन् । अहिलेको व्यवस्था ल्याउन माओवादीका नेताहरुको अह्म भूमिका छ ।
तर, हिजो जुन उद्देश्यले उनीहरु लागिपरेका थिए त्यो पूरा भएन् । आफ्नो सन्तानका लागि व्यवस्था फेरेको भनि धेरैले प्रश्न उठाइरहेका छन् । अहिलेको अवस्थाले पनि त्यसलाई पुष्टि गर्छ । माओवादीका नेताहरु पटकपटक मन्त्री भए । मुलुकको ठूल्ठूला पदमा पुगे । तर, त्यहाँ पुगेर जनताको हकहितमा सिन्को पनि भाँचेनन् । पदको दुरुपयोग गरेर व्यक्तिगत सम्पत्ति जोड्नतिर उनीहरुको ध्यान केन्द्रीत भयो ।
माओवादीको अर्थ, सिद्धान्त र विचार के हो ? भन्ने कुरा नै उनीहरुले बिर्सिए । सरकार भुटानी शरणार्थी हुँदै ललिता निवास प्रकरणदेखि सुन काण्डसम्म आइपुगेको छ । सुन काण्डमा माओवादीका प्रभावशाली नेताकै नाम जोडिएको छ । माओवादी भ्रष्टाचारबाट चोखो छैन् भन्ने कुरा त देखि नै सकेको छ । अब प्रचण्डले आफ्ना पार्टीका नेता–कार्यकर्ता को सम्पत्ति सार्वजनिक गर्न लगाउनुपर्छ ।
कसको सम्पत्ति कति छ ? र, उसले कसरी कमायो ? यो त स्पष्ट हुनुपर्यो नि । आफ्नै पार्टीकै भएपनि जसले भ्रष्टाचार गर्छ, राज्यलाई हानिनोक्सानी पुर्याउँछ, उसलाई प्रचण्डले नै कानुनको जिम्मा लगाउनुपर्छ । अनि मात्रै उनले चलाएको यो भ्रष्टाचार अभियान चोखो रहेछ भन्ने हुन्छ । अहिले उठिरहेका प्रश्नहरुले ‘मुतोड’ जवाफ पाउँछन् । विगतमा पनि जनताले माओवादीमाथि धेरै विश्वास गरे ।
तर, माओवादीका नेताले देखाइदिए ‘ठेङ्गा’ । जुन विश्वास जनताले गरेका थिए, त्यसमा माओवादीका नेता उत्रिन सकेनन् । यसका थुप्रै उदाहरणहरु छन् । २०६४ चैत २८ गते भएको निर्वाचनमा माओवादीका उम्मेदवार १२१ क्षेत्रमा प्रत्यक्ष निर्वाचित भए । अधिकांश क्षेत्रमा थोरै मतान्तरले पराजित भएका थिए । चुनाव जितेर सरकारमा पुगेपछि माओवादीका नेताहरुको रुप नै फेरियो ।
जनयुद्धमा गरेका बाचा त उनीहरुले पैतालामुनि दबाइदिए । उनीहरुले भ्रष्टाचार गर्दैनौं र भ्रष्टाचारीलाई छोड्दैनौं भनेका थिए । तर, उनीहरु आफैं भ्रष्टाचारमा लुप्त भए । माओवादीले चाहेको भए देश बन्थ्यो । विडम्बना, उनीहरुले ‘मै खाऊँ, मै लाऊँ’ गरे । विलासिताको सोखिन भए उनीहरु । घर चाहियो, मँहगा गाडी चाहियो । देशको अनुहार नफेरिएपनि माओवादीका नेताहरु दिनमा तीन जोर लुगा फेर्न सक्नेचाँहि भए ।
आफ्नो सन्तान मँहगा बोडिङ्गमा पढाए । जनताको छोराछोरी आज पनि शिक्षाबाट वञ्चित छन् । उनीहरु ब्राण्डिङ्ग रक्सी खान सक्ने भए, जनतालाई पेटभरि खान पनि मुश्किल छ ।
जनतामाथि माओवादीका नेताले गरेको विश्वासघातको कुनै हदै छैन् । जसका कारण माओवादीले राम्रो काम गर्न र जनताको विश्वास जित्न खोजेपनि प्रश्न उठि नै हाल्छ । टोपबहादुर रायमाझी, रामबहादुर थापा पहिले माओवादी नै थिए ।
उनीहरु दुधले धोएका त थिएनन् । पद दुरुपयोग गरे, कमाउनु कमाए अनि एमालेतिर लागे । हिजो माओवादीमा लाग्ने नेता कस्ता थिए र आज कस्ता छन् ? यसले नै भ्रष्टाचार भए–नभएको देखाउँछ ।
भ्रष्टाचार गर्ने माओवादीका नेता कुनै एमाले त कुनै कांग्रेसमा गए । कुनै पार्टी अध्यक्ष प्रचण्ड भन्दा पनि शक्तिशाली छन् । प्रचण्डलाई नै दबाएर राखेका छन् । भोलि फेरि प्रधानमन्त्री हुन्छ वा हुँदैन् ? कसलाई के थाहा ?
मौका सँधै आउँछ भन्ने पनि छैन् । त्यसैले मौका पाउनेबित्तिकै काम गरेर देखाइहाल्नुपर्छ । एक मीनेट समयको ख्याल राखेर पनि देश र जनताका लागि काम गर्नुपर्छ । प्रचण्डले अब आफ्नै पार्टीबाट भ्रष्टाचार सरसफाइ अभियान थाल्नुपर्छ । भ्रष्टाचार गर्ने आफ्नै पार्टीका भएपनि छोड्नुहुँदैन् । अनि मात्र जनताले साँच्नै नै सरकारले भ्रष्टाचार अभियान थालेको रहेछ भनेर पत्याउँछन् ।
अन्य पार्टीका नेता–कार्यकर्ताको पनि सम्पत्ति छानबिन गर्यौं । भ्रष्टाचार आफैं बाहिर आइहाल्छ । एमालेका महेश बस्नेत, कांग्रेसको महामन्त्री गगन थापा, राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीको ज्ञानेन्द्र शाही, जनता समाजवादी पार्टीको उपेन्द्र यादवलगायतको सम्पत्ति छानबिन गरौं । एक जनाको सम्पत्ति छानबिन गर्दा अरुको पनि छर्लङ्ग भइहाल्छ ।
किन कि यहाँ एउटाले आफ्नोलाई बचाउने र अर्कोमाथि हिलो छ्याप्ने काम गरिरहेको छ । तर, कुनै पनि पार्टी शुद्ध छैन् । पार्टीको नेतृत्वदेखि लिएर कार्यकर्तासमेत भ्रष्टाचारी छन् । त्यसैगरी, सरकारका बहालबालादेखि भूपूवालासम्मको पनि सम्पत्ति खोजतलास गर्नुपर्छ । जुनसुकै पदको कर्मचारी होस्, भ्रष्टाचार छानबिन गरेर दोषीलाई कानुनको कठघरामा उभाउनुपर्छ ।अनि मात्र सरकारको भ्रष्टाचारविरुद्धको अभियानले सार्थकता पाउलाँ । एकाध फाइल खोलेर केही हुनेवाला छैन् । सरकारबाट हुने हरेक कार्यमा भ्रष्टाचार भएको छ । अहिलेको सरकार कतिञ्जेल कुर्सीमा रहला ? भन्न सकिँदैन् । त्यसैले समयको सदुपयोग गर्नुपर्यो । धमाधम भ्रष्टाचारको फाइल खोल्ने, दोषीलाई कोच्ने गर्नुपर्यो । यस्तो ढिलासुस्ती पाराले काम गर्न थाल्यो भने केही उन्नति प्रगति हुँदैन् ।
भाषण गरेर जनतालाई अल्माउने कि काम गरेर देखाउने ? यो त प्रधानमन्त्री प्रचण्डको कुरा हो । अवसर छ, त्यसको सदुपयोग होस् । भ्रष्टाचारी, दलाली, सिण्डिकेटधारी, बिचौलिया, कालोबजारी गर्नेहरुलाई भटाभटी कारबाही गर्नुपर्यो । अनि मात्रै जनता उनको पक्षमा उभिन्छन् । सरकारी कार्यालयहरुमा ‘कामचोर’ प्रवृत्ति छ । कर्मचारीहरु ‘दिन कटाउने र मानो पचाउने’ काम गरिरहेका छन् ।
जसका कारण जनताले सरकारी कार्यालयबाट सहज र छिटोछरितो सेवा पाउन सकेका छैनन् । राज्यबाट तलबभत्ता, सेवासुविधा लिनु र काम नगर्नु पनि एक किसिमको भ्रष्टाचार नै हो । किन कि उसले बिना कुनै प्रतिफल राज्यबाट सेवासुविधा लिइरहेको छ । राज्यले खर्च गरिरहेको छ तर उन्नति प्रगति केही छैन् । यता, यातायातमा सिण्डिकेटधारीहरुको बिगबिगी छ । ४५ वर्षदेखि ट्याक्सी, ढुवानी गाडीको नयाँ दर्ता बन्द छ ।
फो–स्टक ट्याम्पोको दर्ता पनि खोलिएको छैन् । व्यापारीले दिनदिनै सामानको मूल्य बढाइरहेका छन् । बजारमा कृत्रिम अभाव सिर्जना गरेर मँहगो पैसामा सामान बेच्ने काम व्यापक भइरहेको छ । तर, सरकार हात बाँधेर बसेको छ । एउटा काम गरेर के–के न गरे भनेर नसोच्दा पनि हुन्छ । अझैपनि उद्घाटनमै व्यस्त हुने हो भने प्रधानमन्त्री प्रचण्डलाई त्यसको नतिजा अर्को चुनावमा दिन्छन् ।
त्यसैले पनि बेलैमा सचेत बनौं । अहिले पनि समय छ । समयअनुसार हिँड्न सकेन् भने पछाडि पर्न सकिन्छ भन्ने कुरा उनले बुझेकै छन् । त्यसैले समय खेर फाल्ने होइन्, देश बनाउनतिर लागौं । काम यस्तो होस् की सबैले ‘वाहवाह’ गरुन् ।
अनुसा थापा
भक्तपुर