काठमाडौँ – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र अमेरिकी सिनेटर क्रिस भान होलेनबीच आइतबार भेट भएको छ।
प्रमुख प्रतिपक्षी दलका नेता ओली र अमेरिकी सिनेटर होलेनबीच एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा भेट भएको हो।
भेटमा दुई पक्षीय हित प्रवर्द्धन, कार्यान्वयनमा गएको अमेरिकी सहायता परियोजना एमसिसी, शान्ति प्रक्रियाका बाँकी कामका सन्दर्भमा कुराकानी भएको एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए।
भेटमा अमेरिकी सिनेटर होलेनले एमसिसी पारित गरेर कार्यान्वयनमा लगेकोमा खुसी व्यक्त गरेका थिए। ‘एमसिसी संसद्बाट पारित गरेर कार्यान्वयनमा पनि लैजानुभयो,’ सिनेटर होलेनको भनाइ उद्धृत गर्दै उनले भने, ‘नेपाल-अमेरिकाबीच सम्बन्ध थप प्रगाढ बनाउन सांसद तहका भ्रमणहरू हुन जरूरी छ।’
त्यस्तै होलनेले ‘शान्ति प्रक्रिया अब प्रक्रिया टुंगिन्छ नि?’ भन्दै चासो राखेको उनले बताए। जवाफमा अध्यक्ष ओलीले एमसिसी पारित भएर कार्यान्वयनमा लैजान आफूहरूले भूमिका खेलेको स्मरण गराएको नेम्वाङले बताए। शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन कानुन निर्माणको काम भइरहेको अवगत गराएका थिए। अध्यक्ष ओलीले अन्तर्राष्ट्रिय कानुन, मानवअधिकारको विश्व्यापी मान्यताअनुरूप पीडितमैत्री हुने गरी ऐन तर्जुमा गर्ने र शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउने बताएका थिए।
भेटमा एमालेका तर्फबाट दलका उपनेता नेम्वाङ, उमहासचिव विष्णु रिमाल र अमेरिकी दूतावासका अधिकारीहरू पनि सहभागी थिए।