नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान पवन अग्रवालले भारतसँग खेल्नुअघि राष्ट्रिय टोलीका खेलाडीहरूलाई सुझाव दिँदै भने, “टाउको उठाएर खेल। यो सङ्घर्षले जितेको अधिकार हो।“
एशिया कप क्रिकेटमा सोमवार भारतसँग आमने सामने हुँदा नेपालको उपलब्धि त्यही नै हुनेछ, जुन पाकिस्तानसँग खेल्नु अगाडि थियो।
अर्थात्, भारतसँग ऐतिहासिक पहिलो भेट।
एउटा विषय फरक हुनेछ – दर्शकहरूको उत्साह, रोमाञ्च पाकिस्तानभन्दा भारतसँगको खेलमा बढी हुनेछ।
वर्षौँदेखि छिमेकी भारतको समर्थन गर्दै आइरहेका ठूलो सङ्ख्याका नेपाली समर्थकहरू पहिलो पटक भारत छोडेर नेपालको समर्थन जो गर्दै छन्।
पाठ सिकेको नेपाली टोली
भारतसँग खेल्न लागेको नेपाली टोली पाकिस्तानसँग खेलेको टोलीभन्दा फरक भइसक्यो।
किनकि पाकिस्तानसँग खेलेर नेपाली खेलाडीहरूले त्यस स्तरको खेल कस्तो हुन्छ भन्ने स्वयं बुझ्न सकेका छन्।
भारतसँगको खेलअगाडि उनीहरूले आफ्ना कयौँ थप कमजोरी थाहा पाएका छन्। त्यो त्यसलाई सुधार्ने र आफू अनुकूल रणनीति बदल्ने अवसर समेत हो।
राष्ट्रिय टोलीका पूर्वप्रशिक्षक जगत टमाटाले बीबीसीसँग भने, “सुधार्ने ठाउँहरू छन्। स–साना पार्टनरसिप हुनुप¥यो। आधारभूत क्रिकेट खेलेर ५० ओभरसम्म टिक्न सक्ने भारत विरुद्धको रणनीति हुनुपर्छ।“
पाकिस्तानसँगको २३८ रनको हार नेपालले हालसम्म बेहोरेको सबैभन्दा ठूलो हार हो।
ब्याटिङमा नेपालको प्रस्तुति निकै नै कमजोर देखियो।
तर समग्रतामा नेपालको प्रदर्शन निरीह वा आलोचनायोग्य भने नभएको कतिपय क्रिकेट विश्लेषकहरूले टिप्पणी गरेका छन्।
एक दिवसीय वरीयताको शीर्ष स्थानमा रहेको टोली विरुद्ध ४० ओभरसम्मको बलिङ त निकै प्रभावशाली थियो।
पाकिस्तानका क्रिकेट विश्लेषक सामी चौधरीले बीबीसी उर्दूमा लेखेका छन्, “२० ओभरसम्म नेपालले गरेको बलिङ प्रदर्शनलाई निरन्तरता दिन सकेको भए पाकिस्तानी ब्याटर अप्ठेरोमा पर्थे। ३०० आँकडामा पुग्न सक्दैनथ्यो। त्यसमा नेपालको तारिफ गर्नै पर्छ।“
उक्त खेलमा नेपाली खेलाडीहरू अतालिएका थिएनन्। बरु बढी उत्साहित भएको हुन सक्ने विश्लेषण गरिएको छ।
त्यसले गर्दा रन रोक्ने क्रममा फिल्डरहरू धेरै पटक चुक्न पुगेको देखिएको थियो।
बलिङको तुलनामा ब्याटिङ भने निराशाजनक नै मानियो। बारम्बार देखिँदै आएजस्तै महत्त्वपूर्ण बेलामा ’जिम्मेवारी पारी’ खेल्न नेपाली ब्याटरहरू चुके।
पूर्वक्रिकेटर पवन अग्रवाल भन्छन्, “लाखौँ आँखाहरूले नेपालको खेल नियालीरहेका बेलामा थप सजग हुनुपर्छ। अरू बेलामा भन्दा थप बढी मिहिनत गर्नुपर्छ।“
भारतसँग त्यही हेक्का राखेर खेल्नुपर्ने उनको सुझाव छ।
“विपक्षीको राम्रो बलमा आउट हुनुमा कुनै गुनासो हुन्न। तर आफ्नै गल्तीमा अपरिपक्व खेलेर बाहिरियो भने चाहिँ बेमज्जा हुनेछ।“
तुलना
भारत र पाकिस्तान दुवैले नेपाली टिमलाई प्रतिद्वन्द्वीका रूपमा हेरेका छैनन्।
बरु उनीहरूसँग देखा परेका भावभङ्गी र अभिव्यक्तिले माया र हौसला बाँडिरहेकाजस्ता देखिन्छन्।
उनीहरूले नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय क्रिकेटमा गरेको सङ्घर्षको तारिफ प्रशंसा गरिरहेका छन्।
पाकिस्तानका विश्वकप विजेता खेलाडी वसिम अकरमले मुल्तानमा खेल्नु अगाडि भनेका थिएः “मैले नेपालको खेल नियालिरहेको छु। नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा प्रगति गरेको छ। क्रिकेटको क्रेज राम्रो छ। भोलीको नेपाली क्रिकेट अझ ठुलो हुँदै जाने मलाई विश्वास छ।“
भारत पाकिस्तानसँग नेपाली क्रिकेटको तुलना नहुने सबै क्रिकेट प्रेमीहरूले बुझेकै छन्।
सोमवार भारतसँग खेल्दा समेत त्यो तुलना गरिने छैन।
नेपालका तीव्र गतिका बलरहरूको उच्चतम बलिङको गति १३५ किमी प्रतिघण्टा हो। जबकि त्यो भारतीय खेलाडीहरूको सामान्य गति हो।
उनीहरू औसतमा प्रतिघण्टा १५० किमीको गतिले बलिङ गर्छन्। जहाँबाट नेपालको तीव्र गतिको बलिङ सीमा समाप्त हुन्छ, उनीहरूको सुरु हुन्छ।
अब ब्याटिङको कुरा गरौँ।
भारतीय टोलीमा अन्तर्राष्ट्रिय खेलमा १० हजार रन पूरा गरिसकेका खेलाडीहरू छन्।
नेपालतर्फ १० अन्तर्राष्ट्रिय एकदिवसीय नखेलेका खेलाडीहरू समेत टोलीमा छन्।
५ सय रन नबनाएका खेलाडीहरू कयौँ छन्।
विराट कोहलीले १२,९०० भन्दा धेरै रन बनाइसकेका छन्।
नेपालका कुशल भुर्तेलको हालसम्मको स्कोर ९९४ रन हो।
त्यस्तै भारतीय कप्तान रोहित शर्माले ९ हजार ८४८ रन जोड्न भ्याइसकेका छन्।
नेपाली कप्तान रोहित पौडेलको रन सङ्ख्या १ हजार ४६९ मात्र पुगेको छ।
आखिर २४५ एक दिवसीय खेलिसकेका भारतीय कप्तान रोहित र ५३ एक दिवसीय खेलेका नेपाली रोहितको तुलना हुन सक्दैन।
त्यसैले नेपालका पूर्वकप्तान पारस खड्काले एसिया कपमा नेपाली टोलीबारे भने, “ जुन स्तरमा नेपाली क्रिकेट पुगेको छ, हाललाई त्यसैमा रमाइलो गरौँ। नेपाली क्रिकेटबाट धेरैलाई आशा धेरै छ। यसपालि नेपाल चिनिएको छ। बस इन्जोय गरेर एसिया कपको मज्जा लिऔँ।“
र पनि सोमवारको अपराह्न ३ः१५ बजे नेपाली समयको नेपाली समर्थकहरूलाई व्यग्र प्रतीक्षा छ।
दर्शकहरूको बढ्ता उत्सुकता सायद त्यसैमा हुनेछः विराट कोहलीको विकेट कसले लिन्छ होला?
बीबीसी बाट साभार