नेपालमा पाँच वर्षमुनिका प्रत्येक चार जनामध्ये एक जना बालबालिकामा पुड्कोपना हुने गरेको अध्ययनले देखाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रत्येक एक सय जना बालबालिकामध्ये २५ जनामा पुड्कोपना देखिने गरेको हो । विज्ञहरुका अनुसार बालबालिकाको खानपानमा कमी र उमेर अनुसार पोषणको अभाव भयो भने पुड्कोपना देखिन्छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तर्गत पोषण शाखा प्रमुख लिलाविक्रम थापाले नेपाल स्वास्थ्य जनसांख्यिक सर्भे सन् २०२२ को तथ्याङ्क अनुसार नेपालमा प्रत्येक चार जनामध्ये एक जनामा पुड्कोपना रहेको र पछिल्लो वर्षयता पुड्कोपनामा सुधार भएको बताउनु भयो । नेपाल स्वास्थ्य जनसांख्यिक सर्भे सन् २०१६ अनुसार प्रत्येक एक सय जनामध्ये ३६ जना बालबालिकामा पुड्कोपना रहेको थियो । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा थापाले पुड्कोपनाको प्रमुख कारण पोषणको अभाव रहेको भन्दै घर परिवार सचेत हुँदा पुड्कोपनामा सुधार आउने बताउनु भयो ।
थापाले भन्नुभयो, ‘सन् २०१६ को नेपाल स्वास्थ्य जनसांख्यिक सर्भेको तुलनामा अहिले सन् २०२२ मा पुड्कोपनामा सुधार भएको देखिन्छ । सन् २०१६ मा ३६ प्रतिशत थियो भने अहिले घटेर २५ प्रतिशतमा आएको छ । पाँच वर्षमुनिका प्रत्येक एक सय जना बालबालिका मध्ये अहिले २५ जनामा अर्थात प्रत्येक चार जनामध्ये एक जना बालबालीकामा पुड्कोपना छ । तथ्याङ्कले पुड्कोपनामा सुधार भएको देखाउँछ । पुड्कोपना, ख्याउटेपना, कम तौल भनेर भन्छौं त्यो चाहीँ पोषणमा सुधार भयो । पोषण भन्दा बित्तिकै बहुआयामिक विषय हो । खानपान, सरसफाई, खाद्यान्नको उपलब्धतामा सुधार हुने विषय भित्र पर्छ । घर परीवार सचेत हुँदापनि पोषणमा सुधार आउँछ ।’
उहाँले पुड्कोपना दीर्घकालीन कुपोषणको संकेत रहेको भन्दै यसलाई कम गर्न खानपानमा सुधार ल्याउनुपर्ने बताउनु भयो । थापाले आमाले गर्भमा हुँदा खानपान र सुत्केरी भइसकेपछि बच्चालाई जति सक्दो छिटो स्तनपान, ६ महिनासम्म पूर्ण र दुई वर्षसम्म स्तनपान गराउने कुरामा विशेष जोड दिनुुपर्ने बताउनु भयो ।
पुड्कोपना हुन नदिन ७५३ स्थानीय तहमै सचेतनामुलक कार्यक्रम सञ्चालन गर्दै आएको स्वास्थ्य सेवा विभागले जनाएको । विभागका अनुसार आमा स्वास्थ्य चौकीमा जाँदा बच्चाको तौल, उचाई, आमाको स्वास्थ्य अवस्था, पोषण लगायतबारे जानकारी लिने गरिन्छ । थापाले स्थानीय स्तरमा नै उत्पादन भएका खानेकुराबारे उचित किसिमको परामर्श दिने गरेको बताउनु भयो ।
लामो समयसम्म खानपान नपुग्ने अर्थात् खाद्य असुरक्षापनि पुड्कोपनाको कारण रहेको भन्दै खाद्य असुरक्षाका कारण कर्णालीमा ४४ प्रतिशत बच्चाहरुमा पुड्कोपना रहेको बताउनु भयो । उहाँले सरकारले पुड्कोपना न्युनिकरण गर्न कर्णाली प्रदेशका पाँच वटा जिल्ला (हुम्ला, जुम्ला, डोल्पा, कालीकोट र मुगु) मा ‘फर्टिफाईड फ्लोर’ उपलब्ध गराउँदै आएको र सरकारले ६ देखि २ बर्षमुनीका वच्चा, गर्र्भवति र ४५ दिनसम्मका सुत्केरीलाई फर्टिफाईड फ्लोर’ वितरण गर्दै आएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘बच्चा जन्मिसकेपछि बच्चाको उमेर अनुसारको बच्चालाई खानेकुराको आवश्यकता पर्छ । उमेर अनुसारको खानेकुरा आवश्यकता पर्ने हुँदा त्यो खानेकुराहरु बच्चालाई तीन पटक, चार पटक, चार पटक जति खानुपर्ने हुन्छ । बच्चाले खानुपर्ने समयमा खान पाएन, पाएपनि जति मात्रामा चाहिने हो, त्यो मात्रामा लामो समयसम्म खान पाएन भने वा पर्याप्त मात्रामा खानेकुरा पुगेन भने पुड्कोपनाको विकास हुन्छ । बालबालिकालाई घरमा नै उपलब्ध भएको आहार खुवाउनुपर्छ । बालबालिकाको जन्मेदेखि दुई वर्षसम्म प्रत्येक महिना वृद्धि अनुगमन गर्छौं । प्रत्येक आमाले बच्चालाई स्वास्थ्य सस्ंथामा लिएर आउँदा ग्रोथ मनिटरिङ कार्ड लिएर आउन भन्छौं । ग्रोथ मनिटरिङ कार्ड हरियो, पहेँलो र रातो हुन्छ । बच्चाको वृद्धि र विकास हुने जुन क्रम छ । कति उचार्ई हुनुपर्ने ? कति तौल हुनुपर्ने ? बच्चा बढेको छ की छैन ? प्रष्टसँग हेर्न सकिन्छ । ग्रोथ मनिटरिङ कार्ड एउटा टुल हो । र, यो स्वास्थ्य संस्थामा आएपछि हेरिन्छ । र, त्यसपछि आवश्यकता अनुसार खानपानको बारेमा परामर्श दिने काम भइरहेको छ ।
वृद्धि अनुगमनका लागि आमाले बच्चालाई स्वास्थ्य संस्थामा लिएर महिनामा एक पटकका दरले आउनुपर्छ । एक पटक पुड्को भइसकेपछि फेरि कुनैपनि किसिमको खानेकुरा खुवाएर फेरि अग्लो बनाउन सकिँदैन । अहिलेसम्म विश्वमा कुनैपनि यस्तो प्रविधि छैन की एकपटक पुड्कोपना भइसकेपछि फेरि अग्लो बनाउन सकिँदैंन । ख्याउटेपना,दुब्लोपनालाई सही खानपान गराएर सुधार गर्न सकिन्छ । पुड्कोपना हुन नदिन सरोकारवालाको भुमिका अग्रणी रहन्छ । पोषण बहुआयामिक क्षेत्र भएकाले सबैको भुमिका उत्तिकै महत्वपूर्ण छ । बालबालीका र महिलामा लगानी गर्नु भनेको एक रुपैंया लगानी गरियो भने ३५ रुपैयाँसम्मको प्रतिफल दिन्छ भनेर विभिन्न अध्ययन अनुसन्धानमा देखाएको विषय छ ।’
त्यसैगरी पोषणविद् विनिता पन्तले पुड्कोपना हुन नदिन मातृ पोषण कार्यक्रम आवश्यक रहेको बताउनु भयो । उहाँले गर्भास्थामा आमालाई र बच्चा जन्मिसकेपछि बच्चालाई पोषणको अभाव हुन नदिए पुड्कोपनाको समस्या नआउने बताउनु भयो । उहाँले बच्चालाई पर्याप्त मात्रामा पौष्टिक तत्व पुग्नुपर्ने बताउनु भयो । पन्तले स्थानीयस्तरमा जनप्रतिनिधिले समेत पोषण व्यवस्थापनमा ध्यान दिनुपर्ने आवश्यकता औंल्याउनु भयो । बच्चालार्ई पौष्टिक तत्व पर्याप्त दिनुपर्ने भन्दै घरपरीवारको आमा, बुबामा पुड्कोपना छ भने उहाँबाट जन्मिने बच्चामापनि पुड्कोपनाको समस्या देखिन सक्ने बताउनु भयो ।
पन्तले भन्नुभयो, ‘पुड्कोपनाको समस्या भनेको आमाको समस्याबाट नै जाने गर्छ । आमा, बुबामा पुड्कोपना छ भने उहाँबाट जन्मिने बच्चामापनि पुड्कोपनाको समस्या देखिनसक्छ । त्यसका लागि मातृ पोषण कार्यक्रम आवश्यक हुन्छ । बच्चा आमाको गर्भावस्थामा रहँदा आमाले खानेकुरा कति सुुरक्षित छन् ? कति पौष्टिक तत्व पुगेको छ ? त्यसलार्ई एकदमै ध्यान दिनुपर्ने हुन्छ । बच्चा जन्मिसकेपछि हामीले खुवाउने खानेकुरा कस्तो छ ? आमाले सुत्केरी अवस्थामा कति खानेकुरा पाउनुभएको छ ? त्यो कुरालाई सरकारलेपनि ध्यान दिनुपर्ने हुन्छ । र, घरको परिवार वा जनप्रतिनिधिले पनि कसरी व्यवस्थापन गरिरहेको छ ? त्यसमा पनि भर पर्ने कुरा हो ।’
सरोकारवालाहरुले पोषण बहुआयामिक क्षेत्रसँग जोडिएकाले पोषणमा सुधार ल्याउन सरकारले दीर्घकालीन योजना ल्याउनुपर्ने औंल्याएका छन् ।