काठमाडाैं- अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रको विषयमा नेपाल उद्योग वाणिज्य महासंघको संस्थागत धारणा प्रष्ट पार्न आग्रह गर्नुभएको छ ।
मंगलवार आन्तरिक राजश्व विभागले आयोजना गरेको व्यवस्थापन गोष्ठीमा बोल्दै अर्थमन्त्री महतले वर्तमान अर्थतन्त्रको विषयमा उद्योग वाणिज्य महासंघका अध्यक्ष र उपाध्यक्षको धारणा फरक भएको भन्दै संस्थागत धारणा स्पष्ट पार्न आग्रह गर्नुभएको हो । महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्र सकारात्मक रहेको भन्ने र वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले अर्थतन्त्र खराब हुँदा पनि सरकारले केही काम गर्न नसकेको आरोप लगाउनु राम्रो नभएको बताउनु भयो।
उहाँले महासंघले अर्थतन्त्रका विषयमा नकारात्मक धारणा भन्दा पनि सकारात्मक भएर धारणा राख्न आवश्यक रहेको बताउनु भयो। अर्थमन्त्री महतले उपाध्यक्ष श्रेष्ठलाई आफू व्यापारमात्रै गर्ने उत्पादन बढाउने नीति लिँदा सरकारको आलोचना गर्ने ? भन्दै प्रश्न गर्नुभयो । उहाँले बिस्तारै बैंकको ब्याजदर घट्ने क्रममा रहेको भन्दै अर्थतन्त्र सकारात्मक बाटोमा रहेको बताउनु भयो। उहाँले निजी क्षेत्रलाई दिने अन्य सहुलियतहरु राष्ट्र बैंकबाट आउने विश्वास रहेको बताउनु भयो। उहाँले अर्थतन्त्रका विषयमा निजी क्षेत्रपनि सकारात्मक सोच बनाएर जान आवश्यक रहेको बताउनु भयो ।
उहाँले सकारात्मक रुपमा मनोबल बढाउने कुरा गर्याे भने आर्थिक गतिविधि बढ्दै जाने बताउनु भयो। उहाँका चेम्बर अध्यक्ष र परिंसघका उपाध्यक्षले सकारात्मक कुरा गरे पनि एफएनसीसीआईका वरिष्ठ उपाध्यक्षले नेगेटिभ कुरा मात्रै गरेको उल्लेख गर्नुभयो । उहाँले निजी क्षेत्रको नेतृत्वले मात्रै खराब मात्रै छ भन्ने हो भने अर्थतन्त्र सुधार नहुने बताउनु भयो। उहाँले निजी क्षेत्रले नेगेटिभ कुरा भन्दा पनि पोजेटिभ कुरालाई प्राथमिकता दिन आग्रह गर्नुभयो । उहाँले लगानी गर्नेहरुलाई सरकारले एक तहको सहुलियत दिनेकुरा गरेको उल्लेख गर्दै गरेको कुरा बिर्सने भन्दै प्रश्न गर्नुभयो । उहाँले आधारभुत आवश्यकतामा पनि अर्बौंको आयात गर्ने भनेर पनि निजी क्षेत्रबाट नै आलोचना आउने गरेको बताउनु भयो। उहाँले निजी क्षेत्र आफैँले बिरोधाभास कुरा गरिरहेको भन्दै आपत्ति जनाउनु भयो।
उहाँले भन्नुभयो,‘अस्ति मन्त्रालयमा तपाईंहरुको अध्यक्षले राम्रो कुरा गर्नुभएको थियो । सरकारले अर्थतन्त्र सुधार गर्ने प्रयास गरेको छ भन्नुभएको थियो । आज वरिष्ठ उपाध्यक्षले निकै नगेटिभ कुरा मात्रै गर्नुभयो । पहिला तपाईंहरुको संस्थागत धारणा के हो ? प्रष्ट पार्नुस् । सम्पूर्ण कुरा खराब छ भन्नुभयो त्यो हुँदै होइन । अहिले अर्थतन्त्र सकारात्मक बाटोमा हिँडेको छ । बिस्तारै बैंकको ब्याजदर घट्ने क्रममा छ । अन्य सहुलियतका कुराहरु राष्ट्र बैकबाट आउँला भन्ने विश्वास छ । अब हामी सकारात्मक सोच बनाएर जानुपर्छ । सरकारले निश्चित विषयमा सहुलित दिनुपर्छ भन्दा सार्थकता पाउँछ । तर नेगेटिभ कुरा गरेर मात्रै हुँदैन् । अर्थतन्त्र सुधारका लागि के गर्नुपर्ने हो सकारात्मक कुरा गर्नुपर्याे । अर्थशास्त्रमा एउटा सिद्धान्त छ, सकारात्मक मनोबल बढाउने कुरा गर्याे भने आर्थिक गतिविधि बढ्दै छ । चेम्बर अध्यक्ष र परिंसघका उपाध्यक्षले सकारात्मक कुरा गर्नुभयो । एफएनसीसीआईका वरिष्ठ उपाध्यक्षले नेगेटिभ कुरा मात्रै गर्नुभयो ।
नकारात्मक कुरा मात्रै लोकप्रिय हुन थाले राम्रो काम गरेको विषय छलफलमा आउँदैन । जब हामी सबैले राम्रो हुँदैछ भन्न थाल्छौं बिस्तारै राम्रो हुँदै जान्छ । निजी क्षेत्रको नेतृत्वले मात्रै खराब मात्रै छ भन्ने हो भने अर्थतन्त्र सुधार हुँदैन । जसले नेभेटिभ कुरा गर्याे, त्यो लोकप्रिय हुन्छ । हामीले काम गरिरहेका छौं । तपाईंहरुले नेगेटिभ कुरा भन्दा पनि पोजेटिभ कुरालाई प्राथमिकता दिनुपर्याे । लगानी गर्नेहरुलाई सरकारले एक तहको सहुलियत दिने कुरा गरेका छौं । त्यो गरेको कुरालाई बिर्सने ? व्यापार मात्रै गरिरहने ? हामी आधारभुत आवश्यकतामा पनि अर्बौंको आयात गर्ने भनेर पनि निजी क्षेत्रबाट नै आलोचना आउँछ । सरकारले आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्न खोज्दा बिरोध गर्ने,तर नयाँ नयाँ प्रविधि प्रयोग गरेर कृषि गर्नेहरुले स्वागत गरिरहेका छन् । अब उत्पादन बढ्छ । निजी क्षेत्र आफैँ बिरोधाभास कुरा गरिरहेका छौं । सामान्य आवश्यकतामा पनि आयात गर्ने भन्ने सरकारले उत्पादन गर्नेलाई सहुलियत गर्दा किन गरेको भन्ने गर्नुभएको छ ।’
अर्थमन्त्री महतले सरकारले आन्तरिक राजश्व र भ्याटलाई प्राथमिकता दिन नसकेको बताउनु भयो । उहाँले तथ्याङ्कहरुले पनि धेरै सानो संख्याले ८० प्रतिशत कर तिरिरहेको भन्दै त्यो भन्दा धरै संख्या करको दायरामा आउन सक्ने अवस्था रहेको बताउनु भयो । उहाँले उनीहरुलाई कर लगाउँदा मर्का पर्ने अवस्था नभएको बताउनु भयो । अर्थमन्त्री महतले अब त्यस्ता व्यवसायलाई करको दायरामा ल्याउनुपर्ने बताउनु भयो। अर्थमन्त्री महतले चालु आर्थिक वर्षमा लक्ष्यअनुसार राजश्व संकलन गर्न कर अधिकृतहरुलाई निर्देशन दिनुभयो । उहाँले आन्तरिक राजश्व प्रशासनलाई सुधार गर्नेगरी नीति बनाउन कर अधिकृतहरु निर्देशन दिनुभयो । मन्त्री महतले व्यवसायीहरुले मूल्य अभिवृद्धी कर (भ्याट) लगाउँदा व्यवसायीहरुले बिरोध गर्ने गरेको बताउनु भयो । उहाँले धेरै व्यवसायीहरुले भ्याट लगाउनुभन्दा अन्य अन्तःशुल्क वा अन्य कर लगाउन माग गर्ने गरेको बताउनु भयो। उहाँले व्यवसायीहरुले भ्याट लगाउनु हुन्न बरु कर बढाउनु पर्छ भन्ने माग किन गरेको भन्ने कुराले आफू आश्चर्यमा परेको बताउनु भयो ।
उहाँले मूल्य अभिवृद्धि करको सिद्धान्त विपरित कयौं वस्तुमा भ्याट छुट दिने गरिएकाले सरकारले त्यसलाई सुधार गरिएको बताउनु भयो । मन्त्री महतले भ्याट छुटको सूचि बढ्दा भ्याटको अस्तिपञ्जर मात्रै बाँकी रहेको भन्दै भ्याट छुटको सूचि घटाउँदै केही सुधार गर्न खोजेको बताउनु भयो ।
कार्यक्रममा बोल्दै अर्थसचिव अर्जनुप्रसाद पोखरेलले व्यवसाय बन्द गर्ने गरी करदातालाई अपm्ठ्यारो पार्ने काम नगर्न कर्मचारीहरुलाई निर्देशन दिनुभयो । उहाँले करदातालाई सम्मान गर्न कर अधिकृतहरुलाई निर्देशन दिनुभयो । उहाँले राजश्व कर्मचारीहरुको काम करदातालाई दुःख दिने नभई करदातालाई सहजीकरण गर्नुपर्ने बताउनु भयो। उहाँले गोष्ठीमा प्रणालीगत सुधार कहाँ गर्ने, लक्ष्यअनुसार राजश्व संकलन गर्न कार्ययोजना बनाउने गरी छलफल गर्न आग्रह गर्नुभयो ।
उहाँले महालेखा परीक्षण कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दिएको सुझाव, राजश्व न्यायाधीकरणले गरेका फैसला लगायत हेरेर नीति बनाउने गरी गोष्ठीमा छलफल गर्न आग्रह गर्नुभयो । उहाँले प्रणालीगत सुधार कहाँ गर्ने, लक्ष्य अनुसार राजश्व संकलन गर्न कार्ययोजना बनाउने गरी छलफल गर्नुपर्ने बताउनु भयो ।