सरकारले भ्रष्टाचारका अरु प्रकरणहरुको पनि छानबिन गर्छः मन्त्री मोदी

काठमाडौँ – सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले सरकारले भ्रष्टाचारका अरु प्रकरणहरुमा पनि छानबिन गर्ने बताउनुभएको छ । शुक्रवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै मन्त्री मोदीले सरकारले भ्रष्टाचारका अन्य प्रकरणहरुमा पनि छानबिन गर्ने बताउनुभएको हो । उहाँले देशमा सुशासन कायम गर्न सरकार प्रतिवद्ध रहेको बताउनु भयो । उहाँले नक्कली भूटानी शरणार्थी प्रकरण, ललिता निवास जग्गा प्रकरण र सुन तस्करी प्रकरणको निष्पक्ष तरिकाले छानबिन गरिरहेको बताउनु भयो । उहाँले सरकारले आफ्ना नजिककालाई बचाउने र अर्काका मान्छेलाई कारबाही गर्ने नीति नलिएको स्पष्ट पार्नुभयो । सरकारले निर्दोष नपर्ने र दोषि नउम्किने गरी काम गरिरहेको स्पष्ट पार्नुभयो ।  मन्त्री मोदीले स्थानीय तहहरु निमित्तको भरमा चलाउने कुराको अन्त्य गर्न लागेको बताउनु भयो । उहाँले मधेस प्रदेशमा अब कतैपनि निमित्तको भरमा स्थानीय तह नचलेको बताउनुभयो । हाल देशभरमा करिव ९० स्थानमा निमित्तको भरमा चलिरहेको भन्दै त्यसको पनि क्रमशः अन्त्य गर्दै जाने बताउनु भयो । उहाँले कर्मचारीहरुको सरुवा मेरिटको आधारमा गर्ने पनि बताउनु भयो ।  मन्त्री मोदीले आफू अनुकुलका कर्मचारीहरुलाई सरुवा गर्नका लागि राजनीतिक तहबाट र स्थानीय जनप्रतिनिधिहरुबाट पनि दबाब आउने गरेको भन्दै त्यसो नगर्न आग्रह गर्नुभयो । आफू अनुकुलका कर्मचारीलाई सरुवा गर्दा देशमा सुशासन कायम हुन नसक्ने उहाँको भनाई छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्