मुसा गज्जवले तर्साउने विरालोको विकास पो हुनु पर्छ कि ?

सीता बाँठा मगर

मलाई एक जना काकाले कृषि स्नातक पढ्दा खेरि भन्नु भएको थियो कि, “छोरी हाईब्रिड बिउहरु त एक किलोकै कति महँगोमा बिक्री हुन्छ, यस्तै बिउ उत्पादन गर्ने विषय पढ्नु पर्छ है?” । त्यो कुरा मेरो मनमा गडी रहेको थियो । स्नातकको पढाई सकिए पछि त्यहि विषयमा स्नातोकोत्तरको पढाई गर्नका लागि युरोपको नेदरल्यान्ड भन्ने देशमा गएँ । २ वर्ष अवधिको पढाई थियो । यो अवधिमा धेरै थरिका विषयहरु पढाईए/पढिए तर एउटा कक्षाबाट मेरो रुचि परिवर्तन भयो- प्राध्यापकले भन्नु भयो, “पहिले पहिले धेरै मल-पानी दिँदा धेरै फल्ने जात बनाईन्थ्यो तर अहिले मल-पानी थोरै हुदा पनि राम्रै फल्ने जातहरुको विकास हुन थालेका छन् । अहिलेको बदलिदो समय जसमा खडेरी, अति वृस्टि, अना वृस्टिका घटनाहरु बढी रहेका हुनाले यस्तो परिस्थितीमा पनि सजिलै हुर्कन सक्ने र उत्पादन दिन सक्ने जातको विकास भैरहेको छ ।” उनको यो कुराले मलाई छोयो । यसो विचार गरेँ- हाम्रो देशमा त यस्ता जात विकास गर्नै पर्दैन । हाम्रै रैथाने बाली कोदो, फापर र यिन्का जातहरु सुख्खा होस् कि कान्ला ढिस्कामा होस् कि फलेकै हुन्छन् । बरु बाहिरबाट भित्र्याईएका दुनियाँ भरका बाह्य जातको मात्र प्रचार प्रसार हुँदा र रैथाने बालीको खेति नै हुन छोड्दा यस्ता बाली र जातहरु लोप हुने अवस्थामा पो पुगेका छन् । हामी त हामीसँगै भएका महत्वपुर्ण स्रोत साधनको अवहेलना पो गरिरहेका छौं ।

अनि म हाईब्रिड बिउ प्रजनन् गर्ने तिर भन्दा यस्तै यस्तै पारिस्थितिय प्रणालीमा (ईकोसिस्टम) आधारित खेतिपातीमा बढी चाख दिन थालेँ । विशेष गरी रैथाने बाली, कृषि जैविक विविधता पट्टी अलि बढी चासो दिन थालेँ । मैले भेटेका चिनेका मान्छेसँग यिनको महत्वको बारेमा भन्ने र तिन्को खेति गरिरहनु पर्छ है भन्ने गरेको छु । सामाजिक सन्जाल तिर पनि देखे भेटे सम्म यिन्कै बारेमा सेयर गर्ने गरेको छु । उत्पात फल्ने र फलाउने भन्दा ठिक्क फल्ने तर माटोबाट धेरै तत्व नसोसि ठिक्क फलोस्, रुखो सुखो जस्तोमा पनि फलोस्  आफुले पनि खाने तर प्रकृतिको सन्तुलन नबिगार्ने तिर पो विस्वास लाग्न थाल्यो । ती भनेका त हाम्रै वरिपरी पहिले देखि नै आई-पाई रहेका बोट बिरुवा हुन् । समस्या त हाम्रो बदलिएको मुखको स्वाद पो हो जस्ले गर्दा हाम्रो आफ्नै मौलिक कृषि प्रणालीलाई जानी नजानी बदलिरहेका छौ ।

अझ पारिस्थितिक प्रणालीमा जैविक विविधताको महत्व प्रति विश्वास झन् बढ्दै गयो जब स्नातोकोत्तर पढ्दा हामीलाई फिल्डमा लगेर सानो अध्ययनको काममा लगाईयो । सो काममा विभिन्न थरिका जमिन माथिका बोट बिरुवा, किरा-फट्याँग्रा र जमिन मुनिका किरा, गड्यौलाका विभिन्न जात र सँख्या गणना गरियो र त्यसै क्षेत्रको माटोको परिक्षण पनि गरियो । अनि त्यस अध्ययनले के देखायो भने जुन जमिनमा धेरै थरिका वनस्पति र किट जिवाणु थिए, त्यहाँको माटोमा मलिलोपना र खाद्द तत्वको मात्रा बढी थियो । त्यतिबेला नेदरल्यान्ड सरकारले जुन किसानले खेति गरेको जमिनको कम्तिमा पनि दश प्रतिशत जमिन बाँझो राख्छ उस्लाई अनुदान उपलब्ध गराउने गरेको थियो । जमिन बाँझो राख्दा प्राकृतिक तवरले घाँस-पात उम्रन्छन् किरा-काटी आउँछन्, धेरै खनजोत नहुने हुनाले जमिन मुनिका जैविक वस्तु पनि धेरै थरिका लामो समय सम्म बस्न पाउँछन् र पारिस्थतिक प्रणाली चुस्त दुरुस्त भई कृषि प्रणालीलाई पनि सहयोग पुर्याउँछ – जस्तो कि माटोको प्राकृतिक स्वरुपको स्थिरीकरण हुन्छ, मित्र जीवहरुको पनि बृद्दी भई रोग किरा नियन्त्रण प्राकृतिक रुपमा हुन्छ । नेपालका जमिन बाझै रहे भन्ने चर्चा गरिन्छ र बाँझो जमिन राख्नेलाई कार्वाही गर्ने भनिन्छ तर म वातावरण सन्तुलित र प्रकृति मैत्री कृषिको पक्षधर भएर होला खेतबारी बाँझो रहनु राम्रो कुरा हो जस्तो लाग्छ । माटोलाई पनि आराम त पुग्छ – सधै जोत्या छ, खन्या छ, रोप्या छ, माटो भित्र भएको तत्वको दोहन गर्या छ, विषादी हाल्या छ, किट पतँगलाई मार्या छ ।

हामीले परम्परागत रुपमै गर्ने गरेको कृषि कति वैज्ञानिक र पारिस्थितिक प्रणालीमा आधारित थियो – कुखुरा, बाख्रा, गाई, भैसी, खेति, पाती सँगसँगै हुन्थ्यो । मेरी आमाले कुखुरा पाल्नु हुन्थ्यो । कुखुराले कैले काहीँ घर भित्र आएर आचि गर्दिए पछि बुबा रिसाउदै भन्नु हुन्थ्यो, “कुखुरा नपाल फोहर गर्छ भनेको सुन्ने हैन” भन्दै रिसाउनु हुन्थ्यो । तर आमा भन्नु हुन्थ्यो, “केटाकेटीले फालेका खाना र गाईवस्तुको उब्रेको दाना किन खेर फाल्नु यि कुखुराले खान्छन् भनेर पो पालेको त ।” हुन पनि आमाको गज्जब आइडिया थियो – फोहर कुरा व्यवस्थापन गरेर, फोहरलाई प्रोटिनमा बदल्ने काईदा ठिक त थियो नि । कुखुराले घर भित्र गरेको आचीको फोहरको समस्या भन्दा प्रोटि उत्पादित हुनु नै मनासिव उपाय हैन त ? फेरी कुखुराको आचिले जीवजन्तु या मानिसलाई रोग सरेका कहाँ थिए र ? रोग सर्ने भए त उहिल्यै कुखुरा पाल्नेहरु भटाभट मरि हाल्थे । रोग त अप्राकृति तरिकाले रासायनि पदार्थ प्रयोग गरी, अनेकनका दानापानी खुवाएर पालेर, तिन्का मासु मान्छेलाई खुवादा पो रोग लागेको त । हाम्रा आँखाका दृष्टि र नाकले सुघ्ने तरिका पनि आयातित भए पछि घर आँगनमा कुखुराले गरेको आची र गोठको गोबर गनाउने र फोहर देख्न थाल्छ । गाई गोठको भकारो सोहर्दा खोई मलाई कैले गन्ध आएन न मेरी आमालाई, आँटीको भुईमा कुखुराको आची सोहर्दा पनि कैले घिन लागेन । अझै पनि गोठको नजिक पर्दा हरर गोठको बास्ना आउँछ ।

फेरी घरकै कुरा – कुखुराले चल्ला कोरल्दा र गाई बाख्राले बच्चा व्याउदा घरमा उत्सब हुन्थ्यो । घरका परिवार सबै तिन्कै हेरचाहमा व्वस्थ हुन्थ्यौं । माउले क्वाक क्वाक गर्दै चिप चिप गर्ने साना चल्लाको माया र सुरक्षा गरेको हेरेर अनि सानो पाठो आँगनमा बुर्कुसी मार्नै उफ्रेको हेर्दै दिन विताउँदा कहिल्यै कतै अत्यास लाग्थेन जुन अब १० मिनेट ईन्टरनेट नहुँदा लाग्ने गर्छ । उतिबेलाको मनोरन्जन पनि प्राकृतिक किसिमको हुन्थ्यो । घरमा बिरालो पनि पाल्नु भएको थियो त्यो बिरालो चाहीँ अन्नपातमा लाग्ने मुसा धपाउन र नियन्त्रण गर्न पाल्नु भएको रे । हुन पनि बिरालो भएको दिनमा भकारीमा मुसा कम डौडिन्थे र कम नोक्सानी हुन्थे । कैले काँही घरमा मासु पाकेको दिन विरालोलाई मासु दियो भने अल्छि गरेर मुसा चाहार्न जाँदो रहेनछ । अनि आमाले रिसाएर, “पख् तलाई मासु खान पाएर खुब अल्छि भाछस् ।” भन्दै कराउनु हुन्थ्यो । बरु कुन जातको विरालोले कति बेला कसरी मुसा लखेट्दा मुसालाई व्यवस्थित गर्न सकिन्छ भन्ने अध्ययन अनुसन्धान पो हुनु पर्ने थियो कि जस्तो लाग्छ ? मुसा गज्जवले तर्साउने विरालोको विकास पो हुनु पर्छ कि ? तर विडम्वना पारिस्थितीक प्रणाली जन्य प्रविधीको विकास भन्दा पनि अप्राकृतिक तवरका प्रविधीका विकास धेरै भएका छन् ।

घरघरै आफ्नो खेत बारी जोत्नका लागि गोरु पालिन्थे । गोरु पाल्ने कुरा पनि कम्ता गज्जबको होईन । खेतबारीको अन्नपात मान्छेले खाने । यिनै अन्नपातबाट निस्कने घाँस पराल फेरी गोरुले खाने । गोरुको मल फेरी तिनै खेत बारीमा मलको रुपमा प्रयोग हुने । यो पुरा चक्र पार गर्दा सम्म कहीँ कतै कुनै स्रोत पनि खेर नजाने अनि फोहर व्यवस्थापनको समस्या पनि नहुने । यि सबै गर्न त परिश्रम चाहीँ लाग्छ है तर त्यही पसिना र परिश्रमले शरिर स्वस्थ पनि त हुन्छ । मेरा सासु ससुरा अझै यही प्रणाली अपनाएर गाउँमा बस्नु हुन्छ र त उमेर ८० पुग्दा पनि दिर्घ रोग व्याध केहीले छोएको छैन ।

खासमा मैले स्नातोकोत्तर पास गरे पछि बल्ल यिनै महत्वपुर्ण विषयमा रुचि सिर्जना गर्दै छु तर यिनै काम कुराहरु हाम्रा पुर्खा तथा पुराना पुस्ताले पहिल्यै देखि व्यवहारमै लागु गरेका थिए/छन् । त्यसैले डिग्री पास गरेको भरमा, किताबी ज्ञान लिएको भरमा कृषकका अगाडी मलाई यि र यस्ता विषयमा ‘विज्ञ’ को विल्ला कहिल्यै लगाउने आँट आउदैन, बरु मेरो शिर निहुरिन्छ – उहाँहरु प्रति र उहाँहरुले स्थापना गरेको प्रकृति मैत्री कृषि पद्दति प्रति ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्