काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेस बदल्ने अभियानमा आफू लागि परेको बताएका छन्।
नेपाली कांग्रेस दोलखा–काठमाडौं सम्पर्क समितिले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले कांग्रेस बदल्नका लागि आफू महामन्त्री पद त्याग गर्न पनि तयार रहेको बताए। दाग लागेको कांग्रेसको महामन्त्री बन्नुभन्दा सफा कांग्रेसको कार्यकर्ता भएर बस्न आफूलाई मन भएको उनले बताए। कांग्रेसलाई बदल्ने अभियानमा जुट्न उनले नेता, कार्यकर्तालाई आग्रह गरेका थिए।
‘कांग्रेस बदलियो भने बदलिएको कांग्रेसले देश बदल्छ हेर्नोस्। यो देश बदल्नै पर्छ। बदलिएको कांग्रेसले मात्रै यो काम गर्न सक्छ। तर कांग्रेस बदल्न हामी प्रत्येक बदलिन तयार हुनुपर्छ’, उनले भने, ‘म बदलिन तयार छु। म बदलिन तयार छु भनेको मैले पटकपटक भनेको छु– दाग लागेको कांग्रेसको महामन्त्री हुनुभन्दा सफा कांग्रेसको कार्यकर्ता मात्रै भएर बस्दा बडो मजा आउँछ। त्यो बदलिन म तयार हो। सबै तयार हुनुपर्छ।’
यस्तै पार्टीका शीर्ष नेताहरू पटकपटक प्रधानमन्त्री भइरहेकै कारणले पुराना पार्टी संकटमा परेको उनले बताए। यस्तो अभ्यास कुनै पनि देशमा नभएको पनि उनले बताए।
उनले कोही नेता किन पटकपटक प्रधानमन्त्री बन्ने भनेर छलफल र बहस गर्न आवश्यक भएको पनि बताए। त्यसैगरी कांग्रेस सक्किएको भनेर कसैलाई पनि नआत्तिन आग्रह गरेका छन्।