काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारविरूद्ध अनुसन्धानको कार्यले थप तीव्रता पाउने बताएका छन्। शनिबार दिउँसो पोखराका सञ्चारकर्मीहरूसँग अन्तरक्रिया गर्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन्।
भ्रष्टाचार देशको विकराल समस्या भएको बताउँदै यसका अनुसन्धान थप बढाउने उनले बताए।
‘भ्रष्टाचार देशको विकराल समस्या हो। नक्कली भुटानी शरणार्थी प्रकरण होस् वा ललिता निवास प्रकरण होस्, यसमा सरकार दृढताका साथ अगाडि बढेको छ। थप तीव्रताका साथ अघि बढ्छ,’ उनले भने, ‘प्रहरीले आफ्नो तर्फबाट अनुसन्धान गरिरहेको छ। प्रहरीलाई सरकारले आवश्यक निर्देशित गरिरहेको छ। यो प्रक्रिया अगाडि बढिरहेको छ, निरन्तर अगाडि जान्छ।’
उनले अर्थतन्त्र पनि विस्तारै लयमा फर्किएको बताए।
‘अर्थतन्त्र धरासायी नै हुन्छ कि भन्ने थियो। तर, अर्थतन्त्र विस्तारै लयमा फर्किएको छ। यसपटकको भारत भ्रमण ऐतिहासिक भएको छ,’ उनले भने, ‘राष्ट्रको हितमा भारतसँग धेरै महत्त्वपूर्ण समझदारी भएका छन्। भारतीय प्रधानमन्त्रीले आफै सीमा समस्या हल गरिन्छ भन्ने कुरा ठूलो विषय हो। यसअघि भारतका कार्यकारी प्रमुखले यसबारे बोलेका छैनन्। यस्तै चीन भ्रमणको पनि तयारी भइरहेको उनले बताएका छन्।
आफूले यस पटक भिन्न ढंगबाट काम गरिरहेको पनि उनको दाबी छ। जनताका समस्याहरूलाई सम्बोधन गर्ने गरी काम गरिरहेको बताए।