काठमाडौँ – आइसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोट प्रतियोगिताअघिको वार्म खेलमा नेपालले ओमानलाई २ विकेटले पराजित गरेको छ। यसअघि खेलिएका दुई अभ्यास खेल र एक वार्मअप खेलमा पराजित भएको नेपालले चौथो खेलमा भने जित निकालेको हो।
यसअघि नेपाललाई अभ्यास खेलमा नेदरल्यान्ड्स र स्कटल्यान्ड तथा वार्म अप खेलमा युएईले पराजित गरेका थिए। बिहीबार जिम्बावेको हरारेमा ओमानले दिएको २६८ रनको लक्ष्य नेपालले ४४.५ ओभरमा ८ विकेट गुमाएर पार गर्यो। नेपालको जितमा कुशल भुर्तेलले शतक प्रहार गरे। रिटायर्ड हर्ट हुनुअघि उनले १०१ रन जोडे। यस्तै भीम सार्कीले ५६ रन र रोहित पौडेलले ३१ रन जोडे। बलिङमा ओमानका इल्यासले ४ विकेट लिए।
त्यसअघि पहिले ब्याटिङ गरेको ओमान ४ बल खेल्न बाँकी छदा २६७ रनमा अलआउट भयो। उसका लागि मक्सुदले ३९ रन र एस खानले ३८ रन जोडे। बलिङमा नेपालका सोमपाल कामीले चार ५ विकेट र सन्दीप लामिछानेले ३ विकेट लिए। विश्वकप छनोट प्रतियोगिता असार ३ देखि सुरु हुँदैछ। १० टिमले भाग लिने प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ। समूहमा नेपालसहित, दुई पटकको विश्व विजेता वेस्ट इन्डिज, आयोजक जिम्बावे, नेदरल्यान्ड्स र अमेरिका छन्।
समूह ‘बी’ मा श्रीलंका, आयरल्यान्ड, स्कटल्यान्ड, ओमान र युएई रहेका छन्। नेपालले आफ्नो पहिलो खेल १८ जुनमा (असार ३) आयोजक जिम्बावेसँग खेल्नेछ। यस्तै नेपालले २० जुनमा (असार ५) अमेरिका, २२ जुनमा वेस्ट इन्डिज (असार ७) र २४ जुनमा (असार ९) नेदरल्यान्ड्ससँग खेल्नेछ। पाँच-पाँच टिमको दुई समूहका लिग खेलपछि सुपर सिक्स हुनेछ। सुपर सिक्समा दुवै समूहका शीर्ष तीन-तीन टिम पुग्नेछन्।
सुपर सिक्समा एक समूहका तीन टिमले अर्को समूहका तीन टिमसँग खेल्नेछन्। जहाँ शीर्ष दुईमा पर्न सक्ने टिम आगामी अक्टोबर-नोभेम्बरमा भारतमा हुने आइसिसी विश्वकप क्रिकेटमा छनोट हुनेछन्।