रास्वपाले समर्थन फिर्ता लिए पनि प्रचण्डले विश्वासको मत लिन नपर्ने हो?

FILE PHOTO

काठमाडाैं – राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिए वा नलिए पनि सरकारलाई असर नपर्ने र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिनु नपर्ने कतिपय कानुनका ज्ञाताको भनाइ छ। सरकारमा समेत यसअघि सहभागी भएको रास्वपाले समर्थन फिर्ता लिए प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फेरि विश्वासको मत लिनु पर्ने तर्क कतिपयले गरिरहेका छन्।

तर के यदि प्रतिनिधिसभामा २१ सांसद रहेको रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिए साँच्चै प्रचण्डले विश्वासको मत लिनुपर्छ? यसबारे राजनीतिक दल र संविधानका जानकारहरूको बुझाइमा एकरूपता छैन। रास्वपाले समर्थन फिर्ता लिए पनि प्रचण्ड नेतृत्वको सरकारले बहुमत चाहिँ गुमाउँदैन। गत चैत्र ६ गते पछिल्लो पटक विश्वासको मत लिएका प्रधानमन्त्रीलाई १७२ जना सांसदले समर्थन गरेका थिए।

कुल २७५ सदस्यीय प्रतिनिधिसभाको बहुमतका लागि कम्तीमा १३८ सांसदको समर्थन आवश्यक पर्छ। त्यस कारण २१ सदस्य रहेको रास्वपाले समर्थन फिर्ता लिए पनि सरकारसँग बहुमत कायम रहन्छ।

संविधानमा के छ?
संविधानको धारा १०० ले प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने सर्तहरूमध्ये एकमा सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएको अवस्था पनि उल्लेख गरेको छ। “सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले संसद्मा विश्वासको मत लिनुपर्नेछ,” यो धारामा भनिएको छ। संविधानको यही व्यवस्थाका कारण प्रचण्डले यसअघि सरकारको साझेदार दल नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी बाहिरिएपछि विश्वासको मत लिएका थिए।

पुस ११ गते बनेको प्रचण्ड नेतृत्वको सरकारमा सहभागी भएको राष्ट्रिय स्वतन्त्र पार्टी माघ २२ गते सरकारबाट बाहिरिए पनि “स्थिरताका लागि” भन्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन।

सरकारमा सहभागी नभएको तर समर्थन मात्रै गरेको दलले समर्थन फिर्ता लिएको अवस्थामा भने बहुमतको प्रश्न नउठेसम्म विश्वासको मत लिइराख्नुपर्ने बाध्यता संविधानले नगरेको संविधानका जानकारहरू बताउँछन्।

रास्वपाले फिर्ता लिए के गर्नुपर्छ?

मङ्गलवार रास्वपा सभापति रवि लामिछानेले भने, “सरकारलाई (दिएको समर्थनको) निरन्तरताको औचित्य देखिएको छैन। त्यस कारण (काठमाण्डू) फर्किसकेपछि हामी छलफल गर्छौँ।“ यसअघि प्रचण्ड नेतृत्वको सरकारमा सहभागी भएको दल भएको र प्रचण्डलाई प्रधानमन्त्री बनाउन हस्ताक्षर नै गरेको दल भएका कारण रास्वपा सरकारबाट बाहिरिएको अवस्थामा प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने तर्क कतिपयको छ।

पूर्व कानुन मन्त्री समेत रहेका एमाले नेता अग्नि खरेल पनि प्रधानमन्त्रीले विश्वासको मत लिनु उपयुक्त हुने बताउँछन्। “प्रधानमन्त्रीले प्रश्न उठ्न नदिन खोजेको हो भने विश्वासको मत लिनुपर्छ,” खरेलले भने। “तर प्रधानमन्त्रीले सरकार चलाउन बहुमतको सङ्ख्या आफूसँग छँदैछ भन्ने लाग्छ भने उहाँको विचार हो।” बीबीसी

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्