काठमाडौं – रिंकु सिंहले अन्तिम ५ बलमा लगातार ५ छक्का हानेपछि कोलकता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग आईपीएलमा आइतबार गुजरात टाइटन्सलाई ३ विकेटले हराएको छ ।
साविक विजेता गुजरातका कार्यवाहक कप्तान रासिद खानले १६औं सिजनको पहिलो ह्याट्रिक विकेट लिए पनि रिंकु चम्किएपछि कोलकताले लगातार दोस्रो जित हात पारेको हो । घरेलु मैदान अहमदाबादमा गुजरातलाई जिताउन इम्प्याक्ट प्लेअर वेनकाटेस अयेरले सर्वाधिक ८३ रन बनाउदा रिंकुले २१ बलमा अविजित ४६ रन बनाए ।
पहिलो खेलमा पञ्जाव किंग्ससँग पराजित भएको कोलकताले त्यसपछि रोएल च्यालेन्जर्स बेंगलोरलाई पराजित गरेको थियो । लगातार दुई खेल जित्दै उत्कृष्ट सुरुवात गरेको गुजरातको जारी सिजन यो पहिलो हार हो । अन्तिम ओभरमा रिंकुले लगातार ५ छक्का प्रहार गरेपछि कोलकताले २०५ रनको लक्ष्य अन्तित बलमा ७ विकेट गुमाएर पूरा गर्यो ।
कोलकतालाई अन्तिम चार ओभरमा जितका लागि ५० रन चाहिएको थियो भने हातमा ६ विकेट बाँकी थियो । तर १७औं ओभरमा रासिद खानले आन्द्रे रसेल, सुनिल नारिन र शार्दुल ठाकुरलाई लगातार आउट गर्दै ह्याट्रिक लिएपछि कोलकता संकटमा परेको थियो । उक्त ओभरमा कोलकताले जम्मा दुई रन जोड्यो ।
अन्तिम १८ बलमा कोलकतालाई ४८ रन चाहिएको थियो । कोलकताले १८औं ओभरमा ५ रन मात्र जोडेपछि अन्तिम १२ बलमा ४३ रन चाहियो । १९औं ओभरमा रिंकुले एक छक्का एक चौका प्रहार गरेपछि कोलकताले १४ रन जोड्यो ।
अन्तिम ओभरमा कोलकतालाई जितका लागि २९ रन चाहियो । यस दायलको बलिङमा उमेश यादवले पहिलो बलमा सिंगल लिँदै रिंकलाई स्ट्राइक दिए । त्यसपछि रिंकुले चमत्कार नै गरे । उनले लगातार ५ छक्का हानेर कोलकतालाई जिताए ।
यसअघि २८ रनमा दुई विकेट गुमाएको कोलकताका लागि वेनकाटेसले कप्तान नितिश राणासँग १०० रन साझेदारी गरे । नितिशले २१ बलमा १ चौका र ६ छक्का प्रहार गरी ४८ रन जोडे । ओपनर रहमानुल्लाह गुर्बाजले १५ रन बनाए । गुजरातका रासिद खानले ३ तथा अल्जारी जोसेफले २ विकेट लिए । मोहम्मद शामी र जोस लिटिलले समान १ विकेट लिए ।
त्यसअघि घरेलु मैदान नरेन्द्र मोदी स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको गुजरातले विजय शंकरको आक्रमक अर्धशतकमा निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०४ रन बनाएको थियो । विजय शंकरले २४ बलमा ४ चौका र ५ छक्का प्रहार गर्दै अविजित ६३ रन जोडे ।
यस्तै साई सुदर्शनले ३८ बलमा ३ चौका र २ छक्का मद्तमा ५३ रन बनाए । शुभमन गिलले ३९ रन जोडे । कोलकताका सुनिल नारिनले ३ विकेट लिए । यस्तै सुयास शर्माले १ विकेट लिए । दोस्रो जितपछि कोलकता ४ अंक जोडेर दोस्रो स्थानमा उक्लेको छ । गुजरात ४ अंकसहित चौथो स्थानमा छ ।