कार्तिक मंसिरमा पर्ने भाइटीकामा दिदीबहिनी माइत जाने र चैतमा दाजुभाइले दिदीबहिनीको घर गएर भेट्ने चलन छ । दाजुभाइ नभएका परिवारमा नजिकका आफन्त गएर भेट्ने चलन समेत रहेको छ ।
सुदूरपश्चिममा चैत्र महिनालाई विशेष महिना मान्ने गरिन्छ । बसन्त ऋतुको आगमनसँगै उदासी महिनाको रुपमा चैत महिनालाई लिने गरिन्छ । चैत महिनामा चेलीबेटीलाई दान दिएमा राम्रो फल मिल्ने जनविश्वासका कारण पनि यसको महत्व अझै गाउँघरतिर घटेको छैन । यो महिनाभरि एकरात दिदीबहिनीको घरमा बास बस्ने चलन रहेको छ । यसले दाजुभाइ र दिदीबहिनीको प्रेम सम्बन्धलाई झन नजिक र आत्मीय बनाउने बताइएको छ । यसलाई भिटौलो पर्व पनि भन्ने गरिन्छ । भाइबहिनीको प्रेम पर्वका रुपमा रहेको भिटौला खास गरेर दार्चुला, बैतडी र सीमावर्ती भारतीय गाउँतिर बिहे भइसकेकी चेलीबेटीलाई माइती पक्षकातर्फबाट दाजुभाइले भेट्ने चलनको रुपमा प्रचलित छ । बुढापाखाका भनाइ अनुसार धेरैपहिलेदेखि चलिआएको यो परम्परा खासगरी यो महिनामा भण्डारण गरेर राखेको खाद्यान्नसकिएर जाने हुनाले चेलीबेटीलाई माइतीले खानेकुरा लगेर भेट्ने चलन रहेको र चेलीछोरीलाई दुखमा साथ दिने माइतीपक्ष भएको आभाष हुनेगर्दछ । मलाई साथ दिन माइतीपनि तत्पर रहेका छन भनेर पराइ घर गएकी छोरीको आत्मबल बढाउन पनि यो पर्वले सहयोग गर्ने गर्दछ ।
भौगोलिक विकटता भएको सुदूरपश्चिमा छोरीचेलीसँग समय समयमा भेट हुन गाह्रो हुन्छ । बिहेपछि टाढा रहेका छोरीचेलीलाई माइती पक्षका भाइले वर्ष दिनमा एकपटक भेट्नुपर्ने परम्पराले सुख दुःख आदानप्रदानमा सहज बनाएको छ । भिटौलोमा माइतीले मीठो खानेकुरा र लुगाकपडा छोरीबहिनीको घरमा पुर्याउने चलन रहिआएको छ । भिटौलोमा स्थानीय परम्पराअनुसार घरमै तयार पारिने परिकारहरु सेलरोटी, खीर, हलुवा, गुड, घरमै उत्पादन हुने फलफुल जस्तै केरा, मेवा लगेर भेट्ने गरिन्छ । पछिल्लो समय बजारबाट फलफूल, मिठाई जस्ता बस्तुहरुको फेसन बढेको र अखाद्यबस्तुको उपयोग बढेकोप्रति बुढापाखाहरु चिन्तित छन् । दिदिभाई तथा दाईबहिनीहरुको विशेष पर्वको रुपमा चैत महिनासँगै कार्तिकलाई पनि लिइन्छ । कार्तिक मंसिरमा पर्ने भाइटीकामा दिदीबहिनी माइत जाने र चैतमा दाजुभाइले दिदीबहिनीको घर गएर भेट्ने चलन छ । दाजुभाइ नभएका परिवारमा नजिकका आफन्त गएर भेट्ने चलन समेत रहेको छ । यो महिना दाईभाई नहुनेको लागि उदासको महिना समेत हुने गर्दछ ।
खासगरी यो महिना गहुँ भित्र्याउने महिनासँगै उखु पेल्ने महिना हो । पालुवा पलाएर रंगीचंगी देखिएको बनजंगल अनि त्यसमा विभिन्न सुरिलो स्वरमा कुहूँकुहूँ स्वरमा धुन छोड्ने चराचुरंगीहरुले आफन्तको याद नआउने कमै होला । पुरानो पुस्तादेखि युवापुस्तासम्म यो संस्कृतिको निरन्तरता भइरहेको छ । होली पर्वको महत्वजस्तै सुदूरपश्चिममा यो पर्वको चलन निरन्तरता भइरहेको छ । सुदूरपश्चिममा मनाइने अरु पर्व विस्तारै लोप हुने अवस्थामा पुगेपनि यो भिटौलो पर्वले अझै निरन्तरता पाएको छ । यो पर्वमा भाइबहिनीको भेट नभए खल्लो महसुस गर्ने गर्छन् । माइतीले ल्याएको कोसेलीभन्दै छोरीचेलीहरु छिमेकमा कोसेली बाड्ने चलन समेतरहेको छ । उखुको रस पकाएर खुदो बनाउने चलन छ । अनि मकै, भटमास, गहुँ लगायतका मिश्रित अन्न भुटेर जातो अथवा घट्टमा पिसेर धुलो बनाइन्छ । यसरी उक्त धुलो र उखुको रसबाट बनाइने खुदो मिसाई बाडी बनाएर दिने चलन अझै पनिरहेको छ । माइतको बाडी हो भनी छोरीचेलीहरुले महिनाभरी खाने गर्दछन् । कामको व्यस्त समय भएकाले कामबाट थकित भइ घर फर्किदा घरमा थकान मेट्दै माइतीको बाडी, सातु खाने गरिन्छ ।
कृषि पेशामा आश्रित सुदूरपश्चिम प्रदेशका अधिकांश व्यक्तिहरु आजभोली काममा व्यस्त हुने गर्दछन् । खेतमा गहुँ पाक्ने समय, तोरी संकलन गर्ने, उखु पेल्ने, केराउ संकलन गर्ने तथा खनजोतमा व्यस्त हुनेगर्दछन् । बुढापाखाहरु मात्रै गाउँघरमा हुने र युवाहरु रोजगारी तथा पढाइको सिलसिलामा सहरतिर हुने भएकाले पछिल्लो समय यो लोप हुने अवस्थामा पुगेको र केहिबर्षमा यसको महत्व घट्न सक्ने भन्दै बुढापाखाहरु चिन्तित बनेका छन् । भाइबहिनीको प्रेमको महिना भएकाले यस पर्वलाई जिवन्त राख्न युवापिँढीले पनि ध्यान दिनु जरुरी देखिन्छ । सडक सञ्जाल समेत नजोडिएकोले कम्तीमा एकदिनको पैदल यात्रापछि दाजुबहिनी भेट हुनेगर्दछ । सहरमा खासै महत्व नभएपनि गाउँमा यस पर्वको महत्व राम्रै रहिआएको छ । गाउँमा विकट क्षेत्रमा घर भएका दिदीबहिनीलाई दाजुभाइले भेट्ने नभए दाईभाइको छोराले समेत भेट्ने चलन रहि आएको छ । आमाको हातको मिठो परिकारको स्वादमा आमाको माया सम्झिदा काममा थकित छोरीको मन समेत प्रफुल्ल हुनेगर्दछ । पराइ घरमा छोरी चेलीले दुःख पाएको त छैनकि भन्ने सुक्ष्म अनुसन्धान तथा बुझ्ने समय समेत भएको बुढापाखाहरु बताउछन् । बर्षभरी भेट्न नपाएकी छोरीको हालखबर बुझ्ने पर्वभएपनि पछिल्लो समय सामाजिक सञ्जाल, टेलिफोनले गर्दा यसको महत्व पक्कै घटेको छ । सामाजिक सञ्जालको प्रयोग बढेपनि योे चैत्र महिनामा दिदीबहिनी तथा दाजुभाई भेट्ने कार्यलाई निरन्तरता दिनसके यसको महत्व जिवन्त रहनेछ ।
परम्परागत कथनअनुसार भारतको कुमाउमा एक दाजुले आफ्नी बहिनीलाई चैत महिनामा भेट्ने बताएको र पछि व्यस्तताका कारण भेट्न नपाएको सत्य कथासँग यो भिटौलो अर्थात चेलीबेटीलाई भेट्ने चलनको सुरुवात भएको हो । पहिले पहिले फोन समेत नभएको अनि छोरीचेलीको खबर भेटपछि मात्रै थाहा हुने भएका कारण पनि छोरीचेलीलाई भेट्ने चलनको सुरुवात भएको हो । विशेष चाँडपर्वमा मात्रै माइती आउने भएकाले घरको अवस्था बुझ्न, खबर आदानप्रदान गर्न, सम्झना स्वरुप कोसेली दिन पनि यो महिनालाई लिने गरिन्छ । घास दाउराको लागि जंगल गएकी छोरीचेली चराचुरंगीको धुनमा रुने गर्दछिन् । भाइ नहुने अथवा भाइ गुमाएका व्यक्तिका लागि यो महिना निकै दुखदायी महिना समेत हो । पर्वकै रुपमा मनाइने भएकाले यो महिनामा दिदीबहिनीलाई भाइको महसुश हुने गर्दछ । चैत्र महिनामा भेट्न छुटेकाहरुले बैशाखमा समेत भेट्ने गर्दछन् । अरु प्रदेशको भन्दा फरक पहिचान बोकेको यो पर्व खासगरी सुदूरपश्चिमका पहाडी तथा हिमाली जिल्लामा बढी प्रचलनमा देखिन्छ । खासगरी दार्चुला, बैतडीमा यो भिटौला पर्व निक्कै प्रख्यात छ । मानिसहरुको आवातजावत निक्कैहुने भएकाले पनि यो भिटौँला पर्व दाजुबहिनीको लागि विशेष महिना हो ।