काठमाडौं – मिथिलाञ्चलबासीको महान् पर्व वासन्ती छठ (बोलिचालीमा चैती छठ) पर्वको विधि शनिबारबाट सुरू भएको छ ।
चार दिनसम्म विभिन्न विधिहरु गर्दै मनाइने चैती छठ पर्वअन्तर्गत पहिलो दिन शनिबार बर्तालुले ‘नहाय–खाय’ (पवित्र स्नान गरेर शुद्ध खाने) विधिबाट पर्व सुरू गर्दैछन् । यस पर्वको पहिलो दिन नुहाएर चोखो खाने चलन छ भने दोस्रो दिन अर्थात पञ्चमीका दिन ‘खरना पर्व’ मनाइन्छ । खरनाको अवसरमा ब्रतालुहरु निराहार उपवास बसि साँझपख खष्ठी देवीलाई प्रसाद चढाई खाने खाने चलन छ । प्रसादमा खीर ,केरा, दुध एवम् मिठा राखेर बनाइएका विभिन्न परिकारसहित फलफुल चढाइने गरिन्छ ।
तेस्रो दिन अर्थात् षष्टि तिथिमा निराहार उपवास बसेर साँझ अस्ताउँदा सूर्यलाई पवित्र जलाशयको घाटमा कम्मरसम्म पानीमा चोवलिएर अर्घ दिइन्छ, जसलाई ‘सझुका अरख’ भनिन्छ । अर्घमा मुला, उखु, भण्टा, मिठाको ठकुवा, भुसवा ,केरा, नरिवललागायतका सामग्रीहरु चढाउने परम्परा छ । सन्ध्या अर्घपछि रातभरि ब्रतालुहरु जागरण बसि भोलिपल्ट चैत्र शुक्ल सप्तमी तिथीका दिन उदाउँदो सूर्यलाई अर्घ दिई पर्वको समापन हुन्छ । यो विधिलाई ‘भोरका अरख’ र ‘पारन’ पनि भनिन्छ ।
चैती छठ पर्व गर्नाले चिताएको मनोकामना पुरा हुने, चर्म रोग निको हुने सन्तान हुने, र परिवारमा खुसीयालीसंगै प्रसन्नता प्राप्त हुने विश्वास रहेको छ । शरद र वसन्त ऋतुमा गरी वर्षमा दुई पटक मनाइने छठ सूर्य उपासनाको पर्व हो । शरद ऋतुमा कात्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म र वसन्त ऋतुमा चैत शुक्ल चौथीदेखि सप्तमीसम्म समान विधिले छठ पर्व मनाइने गरिन्छ ।