मानसिँह धामी
दार्चुला जिल्लाकाे मालिकार्जुन गाउँपालिका वडा नम्बर – ६ उकुकाे सिरानमा रहेको पुरातात्त्विक, प्राचीन, ऐतिहासिक महत्व बाेकेकाे उकु महलको भग्नावशेष संरक्षण र पुनःनिमार्णको पर्खाइमा रहेको छ । उकु महलकाे निर्माणकाे समयकाे बारेमा तथ्यपरक खाेज अनुसन्धान गरी पत्ता लगाउनु महत्वपूर्ण हुन्छ । तथापि अहिले सम्म याे महलकाे बारेमा कुनै पनि अनुसन्धानकर्ता, इतिहासविद, संस्कृतिविद, राजनीतिकर्मी तथा राज्य पक्षबाट समेत खाेज अनुसन्धान गरी संरक्षण, जिर्णाेद्वार तथा पुनर्निर्माणकाे लागि कुनै पहल कदमी भएकाे देखिदैन । आफू इतिहासविद, संस्कृतिविद तथा पुरातत्वविद त हाेइन, तर एक नेपाली नागरिककाे हैसियतले उकु महलकाे संरक्षण, पुनर्निर्माण तथा जिर्णाेद्वारकाे लागि सम्वन्धित कुनै पक्षकाे ध्यानाकर्षण हाेला कि भनेर उकु महलकाे बारेमा केहि कुराहरु मैले अवलाेकन गरेकाे, जनश्रुति तथा केही ईतिहास अध्ययन गरेकाे आधारमा संस्कृति सम्बन्धी खाेज अनुसन्धानकाे क्षेत्रमा कलम चलाउने तथा जिज्ञासा राख्ने पाठकहरूकाे समेत ध्यानाकर्षण गराउने ध्येयका साथ याे लेख लेख्ने जमर्काे गरिरहेकाे छु ।
उकु महलकाे बारेमा लेख्दै गर्दा उकु गाउँकाे छाेटाे परिदृश्य पनि चित्रण गर्नु सान्दर्भिक हाेला जस्ताे लागेकाे छ । मालिकार्जुन गाउँपालिकाअन्तर्गत वडा नम्बर -६ महाकाली नदीकाे तटमा अवस्थित सम्म उर्बर मैदानी भाग एकदमै सुन्दर रमणीय स्थल हाे । उकु गाउँमा एक पटक पाइला टेक्ने जाे काेहीलाई पनि याे सुन्दर, शान्त र रमणीय स्थलले मन नलाेभ्याउला भन्न सकिन्न । उकु गाउँमा पाल जाति (थर) काे बाहुल्यता रहेकाे छ । याे गाउँकाे प्रमुख अन्नबाली धान, मकै र गहूँ नै हाे ।
अभयपालले डाेटीतिर राज्य स्थापना गरेकाे समय कुमाऊँ का इतिहास (बद्रीदत्त पाण्डे) नामक किताबमा सन् १२७९ (सम्वत् १३३६) लाई उल्लेख गरेकाे पाइन्छ । अभयपालकाे डाेटी राज्यकाे स्थापना, सुदृढीकरण गर्दै अजयमेरु दरवार निर्माण गरेपछि उकुतिर राज्य बिस्तार गर्दै उकु महल निर्माण, आठ खस राजाहरूलाई हराई सकेपछि मात्र अस्काेटकाे राज्य स्थापना गरेका हुन् । यसरी अस्काेट विजयकाे समय भन्दा अघि उकु महलकाे निर्माण भएकाे ईतिहास छ ।
मध्यकालीन कत्युरी राजाहरूको राज्य अन्तर्गत पर्ने महत्वपूर्ण उक्त महल कुनै कारण भत्किन गई भग्नावशेषमा परिणत भएको किम्बदन्ती छ । सुदूरपश्चिम प्रदेश मध्ये कै एउटा ऐतिहासिक पुरातात्त्विक प्राचीन सम्पदाकाे रुपमा रहेको यो महलको अध्ययन, अन्वेषण, अनुसन्धान र उत्खनन् गर्न सकेमा दार्चुला कै ऐतिहासिक उपलब्धि हुनुका साथै पर्यटकीय गन्तब्य बन्न सक्ने प्रचुर सम्भावना रहेको छ । अझ साँच्चिकै भन्नु पर्दा अध्ययन, अनुसन्धान, अन्वेषण र उत्खननले मात्र पनि ऐतिहासिक, पुरातात्विक सम्पदा भन्न याे महलसंग साक्षात्कार गर्ने जाे काेहिले पनि हिचकिचाउनु पर्ने हुन्छ । याे दर्पणरुपी महलकाे संरक्षण तथा जगेर्ना गर्न सकेमा मात्र दार्चुला जिल्लाकाे ऐतिहासिक पुरातात्विक प्राचीन सम्पदा हाे भन्दा छाती गर्वले फुल्ने छ । उकु क्षेत्रमा ठुलो संख्यामा कलात्मक शिलाहरु छरिएका छन्। देवीदेवताका मूर्तिहरु, आमलक, शिखर गजुरका अर्ध भागहरू, ढुङ्गेधारा, नाग, बसाह, सिंह, चक्रशिलासहित थरिथरिका आकृतिहरू विभिन्न शिलामा कुदिएको स्पष्ट देख्न सकिन्छ।
उकुमा रहेको उकु महलको भग्नावशेष प्रचारप्रसार र अनुसन्धान हुन नसक्दा ओझेलमा परेकाे छ । पुरानो दरबारको भग्नावशेषको रूपमा रहेको ठाउँको अध्ययन अन्वेशण नहुनुले उकु महल संकटमा परेकाे छ र संरक्षणकाे पर्खाईमा रहेकाे छ भनृदा अत्युक्ति नहाेला । मध्यकालीन कत्युरी राजाहरुको राजधानीको रुपमा यसलाई निर्माण सुरु गरेको इतिहास भेटिन्छ । कत्युरी राजबंशको अन्त्यपछि १२ औं शताब्दीमा पाल राजाहरु अस्कोट, अजयमेरुकोट, दिपालयकोट लगायतका क्षेत्रमा बसोबास गर्ने गरेको पाइन्छ ।
उकु महलको भग्नावशेष स्थलमा विभिन्न शिलालेख लेखिएका चट्टानहरु रहेका छन् । मध्यकालीन कत्युरी राजाहरुको राजधानीको रुपमा यसलाई निर्माण सुरु गरेको इतिहास भेटिन्छ । कत्युरी राजबंशको अन्त्यपछि १२ औं शताब्दीमा पाल राजाहरु अस्कोट, अजयमेरुकोट दिपालयकोट लगायतका क्षेत्रमा बसोबास गर्ने गरेको पाइन्छ । सर्वप्रथम रजबार भारती पाल सो क्षेत्रमा दरबार बनाएर बसेको इतिहास रहेको इतिहासका जानकार बताउँछन् । इतिहासबारे जानकारहरुका अनुसार उकु भग्नावशेष नाग पाल राजाले दरवारमा मन्दिर बनाउन उक्त क्षेत्रमा मूर्ति सिलालेखहरु जम्मा गरेका थिए । अहिले सो क्षेत्रमा भेटिने सूर्यनारायणका मूर्ति, सिलालेखहरु हेर्दा दरवार भित्रको मन्दिर बनाउन जम्मा गरिएको हुन सक्ने ठम्याइ छ । यो ऐतिहासिक महत्वको स्थल हो भन्ने कुरा त्यहाँ भेटिने कोटघर, देवस्थल, दरवारको मजवुत किल्लाहरु, ढुगांमा कुदिएका विभिन्न भगवानको मुर्तिहरु, विभिन्न आकृतिका ढुगांहरुले दर्शाइ रहेको कुराबाट प्रष्ट हुन्छ । दार्चुला जिल्ला मध्यकालीन शक्तिशाली कत्युरी राज्य र सभ्यताको हिस्सा थियो भन्ने ऐतिहासिक दस्तावेजहरुले पुष्टि गरेकाे छ । उकुको ऐतिहासिक सम्वन्ध सीमावर्ती भारतको अस्कोटसंग छ । अस्कोटको ईतिहास अनुसार सन् १२७९ मा अभय पाल रणचुलाहाटस्थित कत्युरी राज्यको राजधानीबाट अस्कोट आएका थिए । अभयपालले वरपरका विभिन्न अस्सीवटा कोटहरुको एकिकरण गरेर अस्कोट नामाकरण गरेको इतिहासमा उल्लेख छ ।
निरै पालको ऐतिहासिक अभिलेख डोटी डडेल्धुरा, पिथौरागढको डिडिहाट, र अल्मोडामा पनि भेटिएको छ । नेपालमा भेटिएको अभिलेख अनुसार निरै पालको राज्यकाल सन् १३५२ देखि सन् १३६२ सम्म थियो । अल्मोडाको पहाडमा निरैपाल लेखिएको ढुंगा सन् १३५४ भेटिएको छ भनेर ईतिहासका जानकारहरु बताउँछन् । यी सबै ऐतिहासिक काल क्रमहरु समान देखिएकोले उकु भग्नावशेषमा निरै पालको ऐतिहासिकता र राज्यकालबारे शंका गर्ने ठाउँ नभएको जानकारहरु बताउँछन् । निरै पाललाइ उकु अस्कोटका राजा भनिएको छ । विभिन्न ठाँउहरुमा पाइएको ऐतिहासिक अभिलेखहरुले निरै पाल शक्तिशाली राजा भएका संकेत गर्छ । जसको केन्द्र महाकाली किनारमा अवस्थित उकु भएको कारणले यो स्थलको पुरातात्विक महत्वलाई वेवास्ता गर्न सकिदैन । निरै पाललाई उकुका रजबार भारती पालका पुर्ववर्ति राजवार थिए भन्ने कालक्रमहरुले प्रष्ट्याएको छ ।
उकुको ईतिहास सम्वन्धी एउटा लेख अनुसार उकुकोटको खण्डहरुमा रहेको हरिहर मन्दिर नाग पालका तीनवटा रानीहरुले निर्माण गराएका थिए । नाग मल्ल डोटीका राजा थिए । यसको राजधानी हालको डडेल्धुरा जिल्लाको अजयमेरुकोटमा रहेको थियो । नाग मल्लको राज्यकाल लगभग सन् १३८४ देखि सन् १३९३ सम्म रहेको थियो । यसलाई आधार मान्ने हो भन्ने माथि उल्लेख गरिएको उकुको हरिहर मन्दिर नाग मल्लको राज्यकाल भित्र बनेको अनुमान गरिन्छ । मन्दिर स्थापनाबारेको स्पष्ट तिथि मिति भेटिएकाे भने छैन । तर पाल वंशहरुको भरतीय शोधकर्ताहरुले उकु राज्य अभय पालले स्थापना गरेको नभएर नाग मल्लले गरेका उल्लेख गरेका छन् । यसको प्रमाणको रुपमा सन् १२३८ को उकुको शिलालेख हो भनिएको छ । आचार्य शिव प्रशाद डवरालकाे उत्तराखण्डका ईतिहास भन्ने पुस्तकमा १०८० देखि १०९० ईसा पूर्वमा उकुको दरबार निर्माण भएको कुरा उल्लेख गरिएको छ ।
१६ औं शताब्दीमा पाल राजाले निर्माण गरेको उक्त दरबार क्षेत्रमा अहिले पनि विभिन्न आकृतिमा कुदिएका मूर्तिहरु देखिन्छन् । तर भग्नावशेष महलको उत्खनन र खोजी नीति नहुँदा ओझेलमा परेको छ । यस क्षेत्रमा यस्ता सयाैं प्रकारका मूर्तिहरु र शिलालेखहरु भेटिने गरेका छन् ।
स्राेत :
– पन्त, दयाकृष्ण (२०६७), दार्चुलाकाे ईतिहास, महेन्द्रनगर ।
– जिल्ला प्रशासन कार्यालय दार्चुला वेभ साइट ।
– गुगल र अन्य सामाजिक सञ्जाल ।
– पाण्डेय, बद्रीदत्त (२०२२), कुमाऊँ का ईतिहास, भारत ।
लेखक: मानसिँह धामी, कैलाली बहुमुखी क्याम्पस, धनगढीका उपप्राध्यापक हुनुहुन्छ ।