मान सिंह धामी
दार्चुला जिल्लाको मालिकार्जुन गाउँपालिका वडा नं.–३ मडमा मालिकार्जुन स्वामी बिराजमान हुनु हुन्छ । मालिकार्जुनको बारेमा चित्रण गर्दैगर्दा मालिकार्जुन को हुन र मालिकार्जुन नाम कसरी रहन गयो भन्ने जिज्ञासा पाठकलाई हुनु स्वभाविक नै हो । पाठकको जिज्ञासालाई ध्यानमा राखी मालिकार्जुन नाम कसरी रहन गयो भन्ने कुरा यो लेखमा समेट्नु सान्दर्भिक होला जस्तो लाग्छ ।
स्कन्द पुराणमा अर्जुन पर्वतको बारेमा उल्लेख गरिएको पाइन्छ । हालको महाकाली नगरपालिकाअन्तर्गत दत्तु र धापको टुप्पो, मालिकार्जुन गाउँपालिका अन्तर्गत मडको टुप्पो र शैल्य शिखर नगरपालिका अन्तर्गत ग्वानीको चुचुरो (टुप्पो) शिखर रहेको करिब १२÷१५ कि.मी. को दुरीमा फैलिएको लामो नागबेली आकारका बलशिखर, न्वालपानी, मौतामौती समेतका शिखरहरुको मिश्रित रुप नै पौराणिक अर्जुन पर्वत हो । यस्ता पौराणिक घटना र हालको अवस्थितिले पौराणिककालमा यस क्षेत्रमा मानव बसोबास क्षेत्र रहेको र ऋषिमुनिहरुको तपोभूमि र देवताहरुको निवास स्थलको रुपमा देवभूमि रहेछ भन्ने कुरा स्पष्ट हुन्छ । भगवान शिव मालिकार्जुन अवतारको रुपमा यस क्षेत्रमा बिराजमान रहेको कुरा स्कन्द पुराण मानसखण्डले पनि पुष्टि गरेको छ । यस पर्वतमा शिवरुपी अर्जुनले बास गरेकोले यस पर्वतलाई अर्जुन पर्वत भनियो । यसै पर्वतमा पार्वती रुप मालिकादेवीको समेत बास भएकोले अर्जुन र मालिकाको योगले यस क्षेत्रलाई मालिकार्जुन भनिएको हो ।
मालिकार्जुन मन्दिरको बारेमा वर्णन गर्दैगर्दा पूर्णागिरी माता मन्दिरको झझल्को आइरहेको छ । पूर्णागिरी माताको दर्शन गर्न जाँदा जति उचाइ चढ्नु पर्छ, सायद मडबाट अर्जुन पर्वत (शैल्यशिखर पर्वत धुरा) पुग्न पनि उति नै दुरी र समय लाग्छ होला । मडमा अवस्थित मालिकार्जुन मन्दिरबाट करिब दुई अढाई घण्टाको पैदल यात्राको उचाइ पार गरेपछि शैल्य शिखर धाम शिखर धुरामा पुगिन्छ । तथापि मैले भने शैल्य शिखर धाम शिखर धुराको दर्शन गर्ने अवसर जुराउन सकेको छैन । द्वितीय ज्योतिर्लिङ्ग मालिकार्जुनको मूल स्थापना दक्षिण भारतको आन्ध्र प्रदेश राज्यको श्री शैल भन्ने ठाउँमा भएको शिव पुराणबाट पुष्टि भएको पाइन्छ । त्यहाँबाट सौराष्ट्र प्रदेश हुँदै कत्युर, गढवाल, कुमाऊँ हुँदै दार्चुलातिर आएको मालिकार्जुन भक्ति गाथामा वर्णन गरिएको छ ।
भारतमा भइरहेको धार्मिक हिंसाका वेला भारतका विभिन्न ठाउँबाट धर्म रक्षाका निम्ति त्यँहाका हिन्दुहरू एक ठाउँवाट अर्को ठाउँमा स्थानान्तरण हुँदै गए । स्थानान्तरण हुँदै जाने क्रममा भारतका विभिन्न ठाउँबाट भारतीय हिन्दुहरू आफ्नो इष्टकुलसहित नेपाल प्रवेश गरेको तथ्य मालिकार्जुनको भक्ति गाथाहरुबाट स्पष्ट हुन्छ । धर्म रक्षा र जीवन रक्षाका क्रममा श्री शैल्य मालिकार्जुन शिवलिंग र शालीग्रामका साथ भारतका विभिन्न ठाउँ हुँदै अभयराज पाण्डेय, निमनाथ योगी, भिमराज भट्ट, धाराधिरा पहलवान र सुरदास औजी दार्चुलाको हालको लेकम गाउँपालिकाअन्तर्गत रिठाचौपाता आई रिठा भन्ने ठाउँमा बास बसेको श्रुति छ । त्यही शिवलिंग स्थापित गरी अभयराज पाण्डेयले मालिकार्जुनको पुजन गरेको भन्ने मालिकार्जुनको झोडोमा उल्लेख छ ।
श्री शैल्य मालिकार्जुन हिमालय एवं पर्वतीय रमणीय स्थलहरू खोजी गर्दै हिड्ने क्रममा दुँहुको हुतीमा समेत बास बसेको मालिकार्जुनको भक्ति गाथाहरुमा उल्लेख गरिएको छ । श्री मालिकार्जुन ज्योर्तिलिंगको स्थायी बासस्थान खोज्दै जाने क्रममा मालिकार्जुन श्री शैल्य शिखर पर्वतमा आई बस्नुभएको हो भन्ने कुरा मालिकार्जुनको झोडो स्तुतिगानमा उल्लेख भएको पाइन्छ । मालिकार्जुनको धाम मालिकार्जुन गाउँपालिका र शैल्यसशिखर नगरपालिकाको वडा नम्बर –६ ग्वानीको बिच माथि शिखरधुरामा पर्दछ । आराध्यदेव श्री मालिकार्जुन देवता बासस्थानको खोजीमा रिठाबाट हिडेपछि उता अभयराज पाण्डेय रिठामै बसी मालिकार्जुनको ज्योर्तिलिंग खोज्दै थिए । उनका अन्य साथीहरू प्रभुको ज्योर्तिलिगंको खोजीका क्रममा विभिन्न ठाउँहरूमा घुम्दै गए । तर, कहीं कतै पनि आफ्ना इष्टदेव मालिकार्जुनको ज्योर्तिलिगं नभेट्टाएपछि उनीहरु भक्ति र शोकमा व्याकुल भए । यसरी इष्टदेव मालिकार्जुनको भक्ति भावमा विलीन भएका अभयराज पाण्डेयलाई महाराज मालिकार्जुनले राति सपनामा दर्शन दिई आफू मालिकार्जुनको शैल्य शिखरमा डेरा जमाइ बसेको बताए । भगवानले सपनामा अभयराज पाण्डेयलाई भनेछन्, हे भक्तराज तिमी एक्लै यहाँ पुग्न सक्दैनौ, म तिम्रो घरमा बाघ पठाउने छु र त्यो बाघको दायाँ खुट्टामा निङालाको सुरा हुनेछ, तिमी नडराउनु र त्यो सुरा बाघको खुट्टाबाट निकाल्नु अनि त्यसपछि बाघ आफ्नो बाटो लाग्ने छ र तिमी पनि बाघकै पछि–पछि आउदै गर्नू । बाघले तिमीलाई म कहाँ पु–याउने छ ।’
त्यसपछि अभयराज पाण्डेको निन्द्रा खुल्छ, र ब्युँझी हेर्दा बाहिर उज्यालो भएको देखिन्छ । सपनीमा भने जस्तै वहाँको अगाडि प्रभुले खुट्टामा निङालाको सुरा भएको बाघ पठाइदिन्छन् । बाघलाई देखेपछि अभयराजले बाघको खुट्टाको निङालाको सुरा निकाली दिनुभयो । अनि बाघ सरासर आफ्नो बाटोतर्फ लाग्छ र अभयराज पाण्डेय पनि बाघकै पछि पछि लाग्छन् । बाघले उनलाई शिखर पर्वतको शिलामा पु–याउँछ । त्यहाँ पुग्दा अभयराजले साच्चीकै शिवलिंग भेटाउँछन् । अभयराजले खुसीको आँसु झार्दै महाराजप्रति भक्ति भाव प्रकट गर्छन र त्यतिनै बेला अभयराजले आकाशवाणी सुन्छन् । महाराज मालिकार्जुनले अभयराजलाई भने, “हे भक्त राज मेरो स्थायी वसोवास अबदेखि यहीं नै हुनेछ, अबदेखि तिमी यहीं आएर मेरो पुजन र दर्शन गर्न सक्छौ ।’ अरु भक्तहरूलाई पनि यहीं आउन भनिदिनू“ भन्दै आकाशवाणी बन्द हुन्छ ।
यसरी शिखरबाट घर फर्केका अभयराजले श्री शैल्य मालिकार्जुनको ज्योर्तिलिंग खोज्दै हिडेका अन्य भक्तहरू भिमराज भट्ट, निमनाथयोगी, सुरदास औजी र धिराधारालाई खवर गर्न गाउँ गाउँ मान्छे पठाएछन् र शिवलिंग शिखर पर्वतमा विराजमान भएको र त्यहीं पुजापाठ गर्नुपर्ने सन्देश दिन्छन् । साँच्चिकै शिखर पर्वतमा रहेको शिलाभित्रको अदृश्य गुफामा यस्तो महान एंव अद्वैत शक्ति छ, जसको बयान गर्न प्रयाप्त शब्दहरू नै छैनन् । मसंग भक्तिभाव र सर्मपण छैन, त्याग, तपस्या र साधना पनि छैन् । यसरी मैले आफ्नो त्याग, तपस्या र संकल्प बिना मालिकार्जुन स्वामीको बारेमा प्रशंसा गर्दा मालिकार्जुन स्वामीको अपमान गरेको ठहरिने छ । महाराज मालिकार्जुन विराजमान हुनुभएको शिखर पर्वतमा पौराणिक कालदेखि हरेक वर्ष आषाढ शुक्ल चतुर्दशी र कार्तिक शुक्ल त्रयोदशीका दिन विधि अनुसार पूजा अर्थात पुजन, दर्शन गर्ने गरिन्छ ।
शैल्य शिखर मालिकार्जुन मन्दिर मडमा अषाढ शुक्ल चतुर्दशी र कार्तिक शुक्ल त्रयोदशी बाहेक धार्मिक, सांस्कृतिक रितिरीवाज तथा परम्परा अनुसार प्रत्येक बर्ष गोंरा, खेडी लगायतका चाडपर्वहरू पनि हुने गर्दछन् । गोंरा, खेडी, जातमा विभिन्न ठाउँबाट हजारौंको संख्यामा मानिस (भक्तजन) हरू जम्माभई भव्य मेला लाग्ने गर्दछ । मालिकार्जुन मन्दिरमा रात्रीकालिन जात (मेला) हुने गर्दछ । जातमा मालिकार्जुन गाउँपालिका बाहेकका अन्यत्र ठाउँहरू (महाकाली नगरपालिका, शैल्यशिखर नगरपालिका, अपिहिमाल गाउँपालिका, नौगाड गाउँपालिका, दुहुँ गाउँपालिका, ब्यास गाउँपालिका, लेकम गाउँपालिका, मार्मा तथा भारतको बालुवाकोट, जौलजिबी, डिडीहाट, पिपली, धारचुला लगायतका ठाउँहरूबाट भक्तजनहरू मेला (जात) भर्न आउने गर्दछन् । मैले जात गोंराको बारेमा चित्रण गर्दैगर्दा पाठकहरूलाई मालिकार्जुन मन्दिरको अवस्थितिको बारेमा पनि कौतुहलता पैदा हुन सक्छ । मालिकार्जुन मन्दिर एक सुन्दर रमणीय स्थानमा रहेको छ । शैल्य शिखर पर्वत ( धुरा) को काखमा अवस्थित मन्दिरको बीचमा गजुर प्रायः चारैतिर वनजंगलको हरियालीले शोभा बढाएको छ । मन्दिर परिसरको सिमलगैर सम्म यातायातको पनि राम्रो सुविधा छ । यातायातको सुविधाले गर्दा टाढा टाढाबाट आउने भक्तजनहरूलाई अझै सुनमा सुगन्ध थपिएको छ । मन्दिर परिसरको छेउछाउमा सुविधा सम्पन्न होटल, रेष्ट्रुराहरूले अझ नवआगन्तुक पाहुना भक्तजनहरूलाई थप टेवा पु–याईरहेको कुरालाई पनि नकार्न सकिँदैन ।
जातमा टाढा टाढाबाट दमाहा, झ्याली, वेकुल (विगल), भाकल सहितका केही मूर्तिको साथमा नवतन्नेरी युवाहरू दमाहा, झ्याली, विगुलको संगीतमय धूनमा रमाउँदै नाच्दै, गाउँदै, बजाउँदै जात लगेर मन्दिरमा जाने गर्दछन् ।
दार्चुला जिल्लाको हुनैनाथ, मालिकार्जुन, लटिनाथ, बालिचन, केदार, बैजनाथ, भगवती आदि प्राचीन धार्मिक मन्दिरहरूमा भक्तिभाव पूर्वक चढाइएका सामानहरू मन्दिरका गहना जस्तै हुन । यी सामानहरूमा विभिन्न मुर्तिहरू, दमाहा, झ्याली, भोकर, विगुल, घण्ट, त्रिशूल, मयुर पंखी, चौरीगाईको पूछ, डोली, तापदानी, छात, छडी, नरसिंह बाजा, गडुवा, देव सिंहासन, पानस, पगरी, भाला, शंख, कलस, तामाको गाग्री, कुणेलो, आदि रहेका छन् ।
मालिकार्जुन मन्दिरमा लाग्ने जातको बारेमा जानकारी गराउँदै गर्दा गौरा पर्वको बारेमा पनि थोरै मैले जानेको, सुनेको र पढेको आधारमा केही कुरा पाठक समक्ष पेश गर्ने जमर्काे गरेको छु । दार्चुला जिल्लाको प्रायः सबै मन्दिरहरू (हुनैनाथ, लटिनाथ, गलैनाथ, बालिचन आदि) मा गौरा मनाउने विधि, पुजनमा कुनै भिन्नता छैन ।
सुदूरपश्चिमेली महिलाहरूको महान चाड गौरापर्व :
गौरापर्वका अधिष्ठाता पूजित देवता भनेका शिव र पार्वती हुन् । शिव जी र पार्वतीलाइ मात्रै पुज्ने देवता मानेर गौरा पर्वको उत्पत्ति भएको कुरा स्कन्द पुराणको मानसखण्डमा उल्लेख भए पाइन्छ । जस अनुसार– यो मानसखण्डमा पर्ने मानसरोवर कैलाश पर्वतको एक कन्दरामा हिमालय पर्वतकी चेली गौरीले महादेव शिवलाइ मात्र पति पाऊँ भनी बालुवाको शिवलिङ्ग बनाएर १२ बर्ष सम्म निर्जन हिमालयको कन्दरामा कष्टपूर्ण तपस्या र पूजा गरेर बसेको प्रतिफलमा उनले श्री महादेवलाइ पति पाएको हुनाले हिमालय पुत्री गौरीले त्यही शिव पार्वती सम्वन्धी विवाह विधी र पूजन अर्चन गरेको विषयलाइ आधार बनाएर त्यसै बेलादेखि सुदूर पश्चिमका नारीहरूले हिमालयकी पुत्री गौरी लाइ गोःरा–गौरा–गमराको प्रतिमूर्तिका रुपमा शिवपार्वतीको पुजा आजा र ब्रत उपवास बस्दै आएका छन् ।
गौरा सुदूर पश्चिम क्षेत्रको महत्त्वपूर्ण धार्मिक एवं साँस्कृतिक पर्व हो। गौरा पर्व विशेष गरेर दार्चुला, बैतडी र कुमाउँमा परापूर्व कालदेखि नै मनाउँदै आएको पर्व हो। गौरा पर्व भाद्र कृष्ण पक्षको षष्ठीदेखि अष्टमीसम्म विभिन्न कार्यक्रमहरूको आयोजना गरेर मनाइन्छ। गौरा पर्वको पहिलो दिन महिलाहरूले निराहार उपवास बसी आ–आफ्नो घरमा वा भणारी घरमा तामा वा पित्तलको भाँडोमा बिरुडा अर्थात् पाँचथरीका अन्न गेडागुडी (कलौं, गुराँस,मास, गहुँ, गहत) भिजाउने गर्छन्। गौरापर्वमा व्रतालु तथा तथा श्रद्धालु महिलाहरूद्वारा गौराघर (भणारी घर) मा गई गरिने शिव र गौरीको पूजाअर्चनामा बिरुडालाई अक्षता र प्रसादका रूपमा प्रयोग गर्ने गरिन्छ। बिरुडा भिजाएको केही दिनपछि महिलाहरूले सामूहिकरूपमा धान, साउँ, तिल, अपामार्ग आदि बिरुवाका बोटबाट गौराको प्रतिमा (मूर्ति) बनाई गौराघरमा भित्र्याउँछन् । धेरै जसो ठाउँमा त आजभोली तामा, पित्तल, चाँदीको गौराको प्रतिमा बनाई डालोमा विभिन्न थरिका फलफूल राखेर रातो पहेंलो घुम्टो ओडाएर टाउकोमा राखेर खेल्ने, खेलाउने र नाच्ने गर्दछन् ।
धार्मिक अनुष्ठान एवं पूजाआजाका साथै गौरालाई गौराघरमा भित्र्याइसकेपछि श्रद्धालु महिलाद्वारा शिव र गौरी (गौरा)को पूजाआजा गर्ने गरिन्छ। गौरा भित्र्याइसकेपछि विसर्जन नगरिएसम्म गौराघरमा पुरुष तथा महिलाहरू छुट्टाछुट्टै रूपमा गोलबद्ध भई स्थानीय लोक भाषामा देउडा, ठाडो खेल, डुस्को, दोहोरी, धमारी आदि खेल खेलेर आनन्द लिन्छन्। अनुकूल तिथि हेरी विसर्जन गरिने गौरापर्वले मानिसमा धार्मिक, आस्था, आपसी सद्भाव बढाउन मद्दत पुर्याउने मात्र नभई यस पर्वमा व्रत बसी शिव र गौरीको पूजाआजा गर्नाले सुखशान्ति प्राप्त हुने, ईष्ट र कुलदेवता प्रसन्न हुने जनविश्वास रहिआएको छ। सुदूपश्चिमेलीहरूले धुमधामका साथ मनाइने गौरापर्व भाद्र कृष्ण पञ्चमीदेखि सुरु हुने गर्दछ।
गौरा पर्वमा गहुँ, केराउ, गहत, मास र गुराँस मिसाएर तामाका भाँडामा भिजाइने अन्नको समिश्रणलाई बिरुडा भन्ने गरिन्छ। महिलाहरूले गौरा पर्व सुरु भएको दोस्रो दिन भोलीपल्ट पानीका मुहान र पँधेरामा शुभ मुर्हतमा सामुहिक रूपमा बिरुडा धोएर गौरा देवीको प्रतिस्थापन गर्ने चलन छ। पार्वतीले कठोर तपस्याद्वारा शिवलाई पतिका रूपमा प्राप्त गरेको पौराणिक कथन अनुसार यस पर्वमा विशेषगरी गौरी अथार्त पार्वतीको पूजाअर्चना गरिन्छ । सप्तमीका दिन गौरा देवीलाई नजिकको मठ–मन्दिरमा भित्र्याएर पुजा–अर्चना गरी महिलाहरूले दुबधागो चढाउने गर्छन्। अष्टमीका दिन त्यही दुबधागो अभिषेक गरेर घाँटीमा लगाएर देवीको पुजा गर्ने परम्परा रहेको छ। सुदूरपश्चिममा महिलाले लगाउने दुबधागोको र पुरुषले लगाउने जनैको जस्तै महत्त्व रहेको छ।
महिना दिन अगाडिदेखि नुहाइ धोई चोखो बसी विशिष्ट खालको नीतिनियम र विधि पार गर्दै पुगिने यो श्री शैल्य शिखर पुजन र दर्शन गर्नाले विघ्न वाधा हट्ने, शत्रु नास हुने, मनमा शान्ति मिल्ने, दरिद्रता नास हुने, मान–सम्मानका साथै मुक्ति प्राप्त हुने जनविश्वास रहेको छ । म पनि माथि उल्लिखित कुराहरुमा शतप्रतिशत विश्वस्त छु ।
मालिकार्जुन स्वामीको बारेमा पाठकलाई थप जिज्ञासा भएमा यस पछिको लेखमा उल्लेख गर्ने नै छु ।
जय मालिकार्जुन स्वामी !!!
श्रोत सामाग्री :
काशीदत्त भट्ट (२०४३) मालिकार्जुन भक्तिखण्ड काव्य हरिद्धार : फैन्डस प्रिन्टिङ प्रेस ।
इश्वरदत्त बडु (२०७१) दुहूँ क्षेत्रमा प्रचलित पौराणिक लोकगाथाहरूको अध्ययन स्नातक शोधपत्र ने.स. वि.वि. शारदा विद्यापीठ महेन्द्रनगर कञ्चनपुर ।
दयाकृष्ण पन्त (२०६७) दार्चुलाको इतिहास महेन्द्रनगर ।
धामी, राजेन्द्र, दामोदर (२०७८), आराध्यदेव हुनैनाथको महिमा तथा औल्लेकी धामीहरुको वंशावली । गोकुलेश्वर, दार्चुला ।
लेखक मानसिँह धामी, कैलाली बहुमुखी क्याम्पस, धनगढीका उपप्राध्यापक हुनुहुन्छ ।