यूएईलाई हराउँदै नेपालको शानदार जीत, जोगायो एकदिवसीय मान्यता

काठमाडौं – यूएईमाथि १७७ रनको कीर्तिमानी जितसँगै नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाएको छ । साथै बाँकी २ खेल जितेर सिधै विश्वकप छनोटमा पुग्ने सम्भावना पनि कायम राखेको छ । हारसँगै यूएईको भने ओडीआई स्टाटस संकटमा परेको छ । यसको फाइदा अमेरिकालाई हुनेछ ।

आईसीसी विश्वकप क्रिकेट लिग टूको आइतबारको खेल नेपाल र यूएई दुबैका लागि गर या मरको स्थितिमा थियो ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको घरेलु टोली नेपालको ओपनिङ खराब रह्यो । तर मध्यक्रममा ब्याटरले आफ्नो जिम्मेवारी निभाउँदा नेपालले २४८ रनको सम्मानजनक योगफल खडा गरेको थियो ।

२४९ रनको लक्ष्य पछ्याएको यूएईलाई सुरुदेखि नै दबावमा राख्दै नेपाली स्पिनरहरुले घातक बलिङ गरे । करण केसीलाई बेञ्चमा राखेर टिममा परेका ललित राजवंशीले पहिलो ओभरमै विकेट लिएपछि दबावमा आएको यूएईले ८ रन जोड्दा चार विकेट गुमाइसकेको थियो । उसका भरपर्दा ब्याट्सम्यान रोहन मुस्तफाले आयान खानसँग मिलेर खेल्न खोजेका थिए । तर सन्दीप लामिछानेले मुस्तफालाई एलबीडब्लू धरापमा पार्दै २६ रनको साझेदारी तोडेपछि यूएईको विकेट गुम्ने क्रम रोकिएन र, २२.५ ओभरमा ७१ रनमा अलआउट भयो । यो एकदिवसीय क्रिकेटमा यूएईको सबभन्दा कम स्कोर हो ।

नेपालका लागि भने १७७ रनको जित ओडीआईमा यो अहिलेसम्मकै फराकिलो जित हो । २०२१ सेप्टेम्बरमा नेपालले पीएनजीलाई १५१ रनले पराजित गरेको थियो ।

यूएईका लागि आयान खानले सर्वाधिक २९ रन बनाए भने अश्वन्थ भल्थापाले १४ रन जोडे । बाँकी ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालका लागि ललितले सर्वाधिक ५ विकेट लिए । ७.५ ओभर बलिङ गरेका उनले २ मेडन राख्दै जम्मा २० रन दिएका थिए । सन्दीप लामिछानेले ४ ओभरमा १४ रन खर्चेर २ विकेट लिए । सोमपाल कामीले किफायती बलिङ गर्दै ५ ओभरमा ३ मेडन राख्दै जम्मा ६ रन खर्चेर १ विकेट लिए । यसैगरी दीपेन्द्र सिंह ऐरी र गुल्शन झाले समान १/१ विकेट लिए ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्