पाँचपोखरी टी–२० काठमाडौँको मुलपानीमा सुरु, पाँचपोखरी भोताङ क्रिकेट टीमको विजयी सुरुवात

काठमाडौँ – पाँचपोखरी थाङ्पाल गाउँपालिका खेलकुद विकास समितिको आयोजना तथा पाँचपोखरी क्रिकेट क्लबको ब्यबस्थापनमा शनिबारबाट सुरुभएको पाचौँ संस्करणको पाँचपोखरी टी–२० जिल्लास्तरीय क्रिकेट प्रतियोगितामा पाँचपोखरी भोताङ क्रिकेट टीमले विजयी सुरुवात गरेको छ ।

काठमाडौँको मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा सुरु भएको उद्घाटन खेलमा मेलम्ची नगरपालिकालाई ७२ रनले पराजित गर्दै पाँचपोखरी भोताङ क्रिकेट टीमले विजयी यात्रा सुरुवात गरेको हो । खेलको म्यान अफ दी म्याच भोताङ क्रिकेट टीमका दावा लामा भए ।

फागुन २७ देखि चैत ३ गतेसम्म आयोजना हुने प्रतियोगिताको उद्घाटन गर्दे पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासि लामाले आफ्नो पालिका तथा सिन्धुपाल्चोक जिल्लाबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडीहरुको उत्पादन गर्ने उद्देश्य सहित प्रतियोगिता आयोजना गरिएको बताए । कार्यक्रममा नेपाल क्रिकेट संघ (क्यान) का कार्यबाहक सचिब दुर्गाराज पाठक, गाउँपालिका उपाध्यक्ष सुनिता अधिकारी, बौद्ध प्रहरीबृतका प्रमुख प्रहरी नायव उपरिक्षक हरी बहादुर बस्नेत लगायतको उपस्थिती रहेको थियो । प्रतियोगितामा सिन्धुपाल्चोक जिल्लाका सात वटा टोलीको सहभागिता रहेकोछ ।

प्रतियोगिताको विजेताले रू ८० हजार र उपविजेताले रू ५० हजार प्राप्त गर्नेछ । प्रतियोगिताभरकै सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट ब्याटर, उत्कृष्ट बलर र उत्कृष्ट अलराउण्डरलाई ट्रफी तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । साथै ग्रेट हिमालयन क्रिकेट एकेडेमी (जीएचसीए) ले यस प्रतियोगितामा सफलता हासिल गर्ने सर्वोत्कृष्ट खेलाडीलाई एकवर्ष र उत्कृष्ट बलर एवं उत्कृष्ट ब्याटरलाई ६ महिना निःशुल्क क्रिकेट प्रशिक्षण प्रदान गर्ने जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्