काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को कतार भ्रमण स्थगित भएको छ।
राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनको तयारीलगायत कारणले प्रधानमन्त्री दाहालको कतार भ्रमण स्थगित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री प्रचण्ड शुक्रबार कतार जाने कार्यक्रम तय भएको थियो।
मुलुकमा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको प्रक्रिया सुरु भइरहेको र सो सन्दर्भमा दलहरूबीच विभिन्न छलफल गर्नुपर्नेलगायत व्यस्तताका कारण दोहा भ्रमण स्थगित भएको सचिवालयले जनाएको छ । प्रधानमन्त्री दाहाल नेतृत्वको नेपाली प्रतिनिधिमण्डल सम्मेलनमा सहभागी हुन फागुन १९ गते (मार्च ३ तारिख) त्यसतर्फ प्रस्थान गर्ने र फागुन २२ गते स्वदेश फर्कने कार्यक्रम तय भएको थियो।
प्रधानमन्त्री दाहालको सम्मेलनमा सहभागिता र सो अवसरमा हुने भेटवार्ताका बारेमा आइतबार परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलन गरी जानकारी गराएको थियो ।
प्रधानमन्त्री दाहालले आइतबार नै परराष्ट्रमन्त्री विमला राई पौड्यालको जेनेभा भ्रमणसमेत रोकेका थिए। परराष्ट्रमन्त्री पौड्याल आइतबार मानवअधिकार परिषद्को ५० औं सत्रमा भाग लिन जेनेभा तयारीमा थिइन्।