दक्षिण कोरियाको प्रजनन दर उल्लेखनीयरूपमा घटेको छ । युवापुस्ता विवाह गर्न र बच्चा जन्माउन अनिच्छुक हुँदा प्रजनन दर घटेको कोरियाली तथ्याङ्क कार्यालयले जनाएको छ ।
सन् २०२१ मा कुल प्रजनन दर शून्य दशमलव आठ एक प्रतिशत रहेकामा गएकाे वर्ष कुल प्रजनन दर शून्य दशमलव सात आठ प्रतिशत कायम भएको काेरियाली तथ्याङ्क कार्यालयले बुधवार बताएको हो । यो प्रजनन दर सन् १९७० यताको सबैभन्दा कम हो । सन् २०१८ पछि लगातार देशको प्रजनन दर एक प्रतिशतभन्दा कम रहेको छ ।
बालबच्चाको स्याहारसुसारको लागतमा निरन्तर भइरहेको वृद्धि, बढ्दो बेरोजगारी, विवाहप्रति बदलिएको सामाजिक धारणा, आवासको उच्च मूल्यलगायत कारणले युवा पुस्तामा विवाह र सन्तान उत्पादनमा अरुचि तथा ढिलो विवाह गर्नाले प्रजनन दर घटेको कार्यालयले बताएको छ ।
कोरियाली तथ्याङ्क कार्यालयका अनुसार गएकाे वर्ष दुई लाख ४९ हजार बच्चा जन्मेका थिए भने सन् २०१७ मा चार लाख बच्चाको जन्म भएको थियो । त्यसपछि लगातार तीन वर्ष तीन लाख बालबालिका जन्मेका थिए ।