दार्चुला – दार्चुलामा नेपाल–भारत जोड्ने गरी निर्माण हुने मोटरेबल पुलको सोममबार सिलान्याश गरिदै छ । उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडू र उत्तराखण्डका मुख्यमन्त्री (सीएम) पुष्करसिंह धामीले संयुक्त रुपमा पुलको शिलान्यास गर्ने तयारी गरिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए ।
दार्चुलाको महाकाली नगरपालिका–८ असिगडा र भारततर्फ पिथौरागढ जिल्लाको धार्चुला बलुवाकोट नजिकको छार्चुम जोड्ने गरी महाकाली नदीमाथि पुल बनाउन लागिएको हो ।
भोलि विहान ११ बजे पुलको शिलान्यास गर्ने कार्यक्रम तय भएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।
पुल निर्माण पछि भारत र चीनसंगको व्यापारमा बृद्धि हुने र त्यसका लागि पुलको निर्माण आवश्यक रहेको मन्त्री बडूले बताए । महाकालीमा मोटरपुल निर्माण भएपछि दार्चुलाका साथै बैतडी र बझाङसम्मको व्यापार दार्चुलाको नाकाबाट हुने मन्त्री बडूको विश्वास छ ।
सुदूरपश्चिममा भारतसँग सीमा जोडिएको कञ्चनपुरपछि दार्चुलामा दोस्रो मोटरपुल निर्माण हुन लागेको हो ।