काठमाडौं – सुरुवाती दुई खेलमा शानदार जित निकालेको नेपाल साफ यू–२० च्याम्पियनसिपको तेस्रो खेलमा भारतसँग ८–० को फराकिलो अन्तरले पराजित भएको छ ।
यसअघि गोल नखाई माल्दिभ्स र श्रीलंकालाई पराजित गरेको नेपाल भारत विरुद्ध निरिह बन्दा एक गोल पनि फर्काउन सकेन । पहिलो हाफमा एक गोल गरेको भारतले दोस्रो हाफमा गोलको वर्षा गर्दै ७ गोल थप्यो ।
अघिल्ला दुई खेलमा ७ गोल गरेको नेपालले भारतसँग मात्र ७ गोल खायो । यस हारले फाइनल पुग्ने नेपालको लक्ष्यमा झड्का लागेको छ । तीन खेलबाट नेपालको ६ अंक छ । उति नै खेलबाट ६ अंक जोडेको भारत हेड टु हेड र गोल अन्तर दुवैमा नेपाल भन्दा अघि छ र दोस्रो स्थानमा छ । बंगलादेश सबै तीन खेल जितेर ९ अंकसहित शीर्ष स्थानमा छ ।
अब नेपालले फाइनल पुग्न अन्तिम खेलमा बंगलादेशलाई हराउनै पर्नेछ भने अर्को खेलमा भारत माल्दिभ्ससँग पराजित हुनुपर्नेछ वा बराबरीमा रोकिनुपर्नेछ ।
भुवनेश्वरको कालिंगा स्टेडियममा भएको खेलको ३२औं मिनेटमा टाइसन सिंह लवइटोङबामले गर्दै भारतलाई अग्रता दिलाएका थिए । एकपक्षिय जस्तै बनेको खेलमा नेपालले बराबरी गोल फर्काउने प्रयास गरेपनि सफल हुन सकेन भने भारतले लगातार गोल गरिरह्यो ।
पार्थिव सुन्दर गोगोईले ५०औ र ५२औं मिनेटमा गोल गर्दै भारतको अग्रता ३–० बनाए । पथुम गिमहानाले ६४औं मिनेटमा गोल गर्दै भारतको अग्रता ४–० बनाए । भारत रोकिएन । ७१औं मिनेटमा हिमांशु जाँग्राले पेनाल्टीमा गोल गर्दै भारतको अग्रता ५–० बनाए ।
मोहमेद रिकाज ७८औं मिनेटमा गोल गर्दै भारतलाई ६–० को अग्रता दिलाए । भारतले गोलको वर्षालाई अन्तिमसम्म कायम राख्यो । ९०औं मिनेटमा गुरकिरत सिंहले गोल गर्दै भारतलाई ७–० को अग्रता दिलाए । शुभो पउलले इन्जुरी टाइममा गोल गर्दै भारतलाई ८–० को जित दिलाए ।