गुल्मी – आर्थिक वर्ष २०७८÷०७९ मा गुल्मीमा सवारी दुर्घटनाबाट १७ जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीको तथ्याङ्क अनुसार जिल्लाका विभिन्न क्षेत्रमा भएको दुर्घटनामा परेर १७ जनाले ज्यान गुमाएको जनाएको छ ।
कार्यालयका अनुसार २०७८ साल साउनमा ट्रयाक्टर दुर्घटनामा दुई जना, जीपमा एक र मोटरसाइकलमा एक जना गरी कुल ४ जनाको मृत्यु भयो । जसमा तीन जना पुरुष र एक जना महिला रहेको कार्यालयले जनाएको छ । यस्तै भदौमा जीप दुर्घटनामा एक जना पुरुषको मृत्यु भएको छ । असोजमा सवारी दुर्घटना परी चार जनाको मृत्यु भएको छ । जसमा एक जीप र दुई वटा मोटरसाइकल दुर्घटनामा दुई जना महिला र दुई जना पुरुष गरी चार जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका प्रमुख कृष्ण आचार्यले जानकारी दिए ।
कात्तिकमा एक ट्याक्टर, एक जीप र दुईवटा मोटरसाइकल गरी पाँच वटा सवारी दुर्घटनामा परे जसमा दुई जना महिलाको मृत्यु भयो । पुसमा एक मोटरसाइकल दुर्घटना हुँदा एक जना पुरुषको मृत्यु भएको कार्यालयले जनाएको छ । माघमा चार वटा सवारी दुर्घटना भए जसमा एक जना पुरुषको मृत्यु भएको कार्यालयको तथ्याङ्कमा छ ।
यस्तै चैत महिनामा दुई वटा मोटरसाइकल र दुई ट्याक्टर गरी चार सवारी दुर्घटनामा परि तीन जना पुरुषको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका प्रहरी सहायक निरीक्षक देवीप्रसाद पौडेलले जानकारी दिए । जेठ महिनामा मोटरसाइकल दुर्घटनामा एक जना पुरुषको मृत्यु भएको छ ।
आर्थिक वर्ष २०७७÷०७८ मा कुल ३७ वटा सवारी दुर्घटनामा २२ जनाको मृत्यु भएको थियो । आर्थिक वर्ष २०७६÷०७७ मा २८ वटा सवारी दुर्घटनामा परी १५ जनाको मृत्यु भएको छ ।